खेल


चार वर्षपछि पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता सुरु

चार वर्षपछि पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता सुरु

नेपालखबर
चैत ५, २०८२ बिहिबार १५:१८, काठमाडौँ

पोखरामा चार वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ। 

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा च्याम्पियनसिपको २१औँ संस्करण बिहीबारदेखि पोखरामा सुरु भएको हो। गण्डकी प्रदेशमा २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुदपछि पोखरामा प्याराग्लाइडिङको कुनै पनि प्रतियोगिता भएको थिएन।

त्यतिवेला प्रतियोगितामा क्रसकन्ट्री विधामा खेल चलिरहँदा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो। उनको मृत्युपछि पोखराको आकाशमा प्याराग्लाइडिङका कुनै पनि प्रतियोगिता भएका थिएनन्। 

आज पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले च्याम्पिनसिपको उद्घाटन गरेका छन्। च्याम्पियनसिपको उद्घाटन गर्दै मेयर आचार्यले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि पहल गरिएको बताए। 

अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनःसञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणमा समाधान केन्द्रित छलफलहरू गरिएको आचार्यको भनाइ थियो। उनले पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीलाई आग्रह गरेका छन्।

उनले साहसिक गतिविधिका रुपमा परिचित पोखरालाई प्याराग्लाइडिङको सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्। 

एक्युरेसी विधामा हुने च्याम्पियनसिप शनिबारसम्म चल्नेछ। च्याम्पियनसिपमा ७ देशका १४ महिला सहित ९० जना पाइलटको सहभागिता रहेको छ। च्याम्पियनसिपमा भारत, चीन, साउदी अरब, उज्बेकिस्तान, इटाली र लेबनानका खेलाडी सहभागी छन्। 

एक्युरेसी विधामा मात्र सञ्चालन हुने च्याम्पियनसिप सराङकोटबाट टेकअफ भएका ग्लाइडरहरू फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्यान्डिङ हुनेछन्। 

च्याम्पियनसिपको व्यक्तिगततर्फका उपाधि विजेताले पुरुषतर्फ १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

महिलातर्फका उपाधि विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन्। टिम इभेन्टमा विजेताले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुनले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad