संकटा फुटबल क्लबले विदेशी खेलाडीले श्रम स्वीकृतिविना पर्यटक भिसामा खेलिरहेका विषयलाई लिएर राष्ट्रिय लिग तथा महिला फुटबल लिग स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै क्लबले रोकिएका प्रतियोगिता यथासक्य पुनः सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृती तत्काल प्रदान गर्न समेत आग्रह गरेको छ। विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा गरे पनि राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले असयोग गरेको क्लबले आरोप लगाएको छ।
क्लबले महिला र पुरुष लिगका लागि झण्डै डेढ करोड खर्च अनुमान गरेको थियो। त्यसमध्ये ८० लाख रुपैयाँभन्दा बढी खर्च भएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए।
लिग स्थगित हुँदा क्लबलाई आर्थिक क्षति भएको तथा क्लबको आर्थिक लगानी जोखिममा परेको उनको भनाइ छ। फुटबलको वर्तमान अवस्थाले भविष्यमा लगानी गर्न इच्छुक अन्य संघ–संस्थालाई समेत निरुत्साहित पार्ने सम्भावना देखिएको क्लबले जनाएको छ।
क्लबले महिला फुटबलको विकास र प्रवद्र्धन गर्न देशका विभिन्न स्थानका महिला खेलाडीसँग ३ वर्षे सम्झौता गरि मोफसलका प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।
राष्ट्रिय लिगका लागि खेलाडी पारिश्रमिक, आवास, खानपान, बिमा तथा स्वास्थ्य सेवा, खेलाडी खेलाडीको तलब, भिसा र बसोबास, प्रशिक्षक र प्राविधिक टोलीको पारिश्रमिक, खेल सामग्री र यातायात तथा व्यवस्थापनमा अहिलेसम्म ४३ लाख ९० हजार ४९० रुपैयाँ खर्च भएको जनाएको छ।
Shares

प्रतिक्रिया