नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड-२०८२’ अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ।
बिहीबार पत्रकार सम्मेलन गरी हिमश्री फुड्स प्रालिका प्रवन्ध निर्देशक प्रकाश केसीले १०औँ रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२’अन्तर्गतका विभिन्न विधाको मनोनयन सार्वजनिक गरेका हुन्। अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह परेका छन्।
वर्ष उत्कृष्ट महिला खेलाडी विधामा आर्चरीकी मोनिका राना मगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङबीच प्रतिस्पर्धा हुने मञ्चका महासचिव परशुराम शर्माले बताए।
उदीयमान खेलाडीतर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा परेका छन् भने वर्ष उत्कृष्ट प्रशिक्षकको सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी छन्।
मञ्चले वर्ष उत्कृष्ट खेल संघका रूपमा कास्की जिल्ला क्रिकेट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारका रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ। यस वर्ष नौ वटा विधामा अवार्ड प्रदान गरिनेछ, जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत रहेका छन्।
पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपीन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाँथाई/आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा मनोनयनमा परेको अध्यक्ष एमबी आस्था मगरले जानकारी दिए।
यस वर्षको अवार्डलाई हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ। आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १०औँ संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया