वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ।
नर्वेको ट्रम्सोमा आगामी जुन १८–२० मा हुने एम्सको २५औं वर्ल्ड कंग्रेसमा सो अवार्ड प्रदान गरिने छ। छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए।
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्विटजरल्याण्ड) ले यो अवार्ड प्राप्त गरेका थिए। बीचमा विविध कारणले केही बर्ष रोकिएको यो अवार्ड यसबर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताइन्।
उपाध्यक्ष मार्थाले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेकी छिन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं कि नेपालगन्ज म्याराथन यस बर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गरेकी छन्।
नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो। कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो।
एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो।
Shares

प्रतिक्रिया