खेल


स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्षस्थानमा

स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्षस्थानमा

नेपालखबर
जेठ ६, २०८३ बुधबार १६:५८, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा अमेरिकासँग पराजित हुँदै स्कटल्यान्डले नेपाल यात्रा सकाएको छ। 

बुधबार भएको खेलमा अमेरिकासँग ६ विकेटले पराजित हुँदै स्कटल्यान्डले लिग–२ को शीर्ष स्थानमा रहने मौका गुमाएको हो। ३२ खेलबाट १६ खेलमा जित र १० खेलमा हार भोगेको स्कटल्यान्ड ३८ अंकमा तालिकाको दोस्रो स्थानमा झरेको छ। 

त्यस्तै, २७ खेलबाट १९ खेलमा जित र आठ खेलमा हार भोग्दै ३८ अंक भएको अमेरिका नेट रन रेटमा अघि रहँदै शीर्ष स्थानमा उक्लिएको छ। 

स्कटल्यान्डले नेपाली भूमिमा लिग–२ मा चार अंक बटुलेको छ। स्कटल्यान्डले सिरिजको पहिलो खेलमा नेपाल र दोस्रो खेलमा अमेरिकालाई डीएल मेथडमा समान दुई रनले हराएको थियो। अर्को खेलमा नेपाल र स्कटल्यान्ड दुवै टोलीसँग समान ६ विकेटको हार बेहोरेको थियो। 

बुधबार स्कटल्यान्डले दिएको १७० रनको सामान्य लक्ष्य अमेरिकाले २७.१ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। अमेरिकाका लागि ओपनर स्मिथ पटेल र सयान जहानगिर दुवैले समान ३७ रन बनाए।

कप्तान साइतेजा मुक्कमल्लाले ३५ रन थपे। मिलिन्द कुमार २४ र शुभम रन्जाने ११ रनमा अविजित रहे। सेहान जयसुर्या १९ रनमा रनआउट भए। 

स्कटल्यान्डका लागि ज्याक जार्भिस, ओलिभर डेविडसन र माइकल लिस्कले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रन बनाउँदा अलआउट भयो।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ८५ बलमा ४ चौका र ३ छक्का सहयोगमा ६६ रन बनाउँदा रुसिल उगाकारको बलमा क्याच आउट हुन पुगे। 

ब्रान्डोन म्याक मुलेनले ३२ रन बनाउँदा शुभम रन्जानेको बलमा एलबीडब्लूको धरापमा परे। ओपनर जर्ज मुन्सेले १९ रन बनाउँदा सौरभ नेत्रवाल्करको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। अन्य सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

स्कटल्यान्डलाई कम स्कोरमा रोक्न रुसिल उगाकारले चार विकेट लिए। सौरभ नेत्रवाल्करले तीन र शुभम रन्जानेले दुई विकेट लिए। हरमित सिंहले एक विकेट लिए। 

सिरिजको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिका प्रतिस्पर्धा गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad