नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीहरूको वर्गीकरणमा व्यापक हेरफेर गरेको छ। पुरुषतर्फ यसअघिभन्दा पाँच खेलाडी थप गर्दा क्याटेगोरी ‘ए प्लस’ पनि थप गरिएको छ। यसअघिको समूह डीको सट्टा डेभलपमेन्ट समूह बनाएर इमर्जिङ समूह हटाइएको छ।
गत वर्षको वर्गीकरणमा ३३ खेलाडी समेटिएको थियो। यस वर्ष ३८ पुर्याइएको छ। क्यानको सम्झौताबाट सात खेलाडी बाहिरिँदा १२ खेलाडी पहिलो पटक वर्गीकरणमा परेका छन्।
यसपटकको वर्गीकरणमा पहिलो पटक परेका नन्दन सिधै ‘बी’ मा आए। विनोद भण्डारी, इशान पाण्डे र शेर मल्ल ‘सी’ मा अटाउँदा ‘डी’मा पनि आठ खेलाडीले पहिलो पटक स्थान बनाएका छन्।
थप गरिएको समूह ‘ए प्लस’मा एक दिवसीय कप्तान रोहित पौडेल, टी-२० कप्तान दीपेन्द्रसिंह ऐरी र पूर्व कप्तान समेत रहेका सन्दीप लामिछाने परेका छन्। यसअघिको वर्गीकरणमा उनीहरू तीनै जना ‘ए’ समूहमा थिए।
‘ए प्लस’मा बढुवा भएसँगै उनीहरूको तलब पनि थप हुने भएको छ। ‘ए प्लस’का लागि एक लाख २० हजार हुनेछ। ‘ए’ का लागि साविककै एक लाख कायम गरिएको छ।

समूह ‘ए’ मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी परेका छन्। सोमपाल र आसिफ यसअघि पनि थिए। तर भुर्तेल र केसी भने ‘बी’बाट ‘ए’मा बढुवा भएका हुन्। गत वर्ष उनीहरूलाई ‘ए’ बाट घटुवा गर्दै ‘बी’ मा झारिएको थियो।
समूह ‘बी’ मा पाँच जना खेलाडी छन्। गत वर्ष पनि ‘बी’ मा पाँच जना नै थिए। समूह ‘बी मा आरिफ शेख, भीम सार्की, गुल्शन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्।
यसअघि आरिफ र भीम समूह ‘सी’मा थिए। उनीहरुको एक तह बढुवा भएको हो।
यसअघि यो समूह रहेका करण र भुर्तेल बढुवा भएर ‘ए मा पुग्दा अनिल साह घटुवा भएर ‘सी’मा झरेका छन्। नन्दन पहिलो पटक बर्गिकरणमा पर्दा सिधै ‘बी’ मा पुगेका हुन्।
समूह ‘बी’ का खेलाडीको तलब ५ हजार थप गरिएको छ। यसअघि ७० हजार पाउने गरेकोमा अब ७५ हजार पाउने भएका छन्।
यसपटक समूह ‘सी’मा ११ खेलाडीलाई समेटिएको छ। यसअघिको वर्गीकरणमा समूह ‘सी’ मा चार जना मात्रै थिए। यसअघि समूह ‘सी’मा रहेका कुशल मल्ल र सन्दीप जोरा यही समूहमा कायम छन्।

अरू खेलाडीमा ‘बी’बाट घटुवा भएका अनिल साह, इमर्जिङबाट बढुवा भएका अर्जुन कुमाल, हेमन्त धामी, ‘डी’ बाट बसिर अहमद, लोकेश बम, शहाव आलमसीमा पर्दा यसअघिको वर्गीकरणमा नभएका विनोद भण्डारी, इशान पाण्डे र शेर मल्ल समूह ‘सी’मा छन्। समूह ‘सी’का खेलाडीले मासिक ५५ हजार पाउँछन्।
यसअघिको वर्गीकरणमा सीपछि ‘डी’ र इमर्जिङ समूह थियो। तर यसपटक ‘सी’ पछि डेभलपमेन्ट समूह बनाइएको छ। यो समूहका खेलाडीले मासिक ३५ हजार पाउँछन्।
डेभलपमेन्ट समूहमा १५ खेलाडी छन्। यसअघि ‘डी’ र इमर्जिङ समूहमा रहेकाहरू अधिकांश समेटिँदा केही भने वर्गीकरणमा अटाउन सकेनन्।
यसअघि इमर्जिङ समूहमा रहेका अर्जुन घर्ती र सन्तोष यादव, यसअघि समूह ‘डी’ मा रहेका आकाश चन्द, देव खनाल, रिजन ढकाल, सागर ढकाल र प्रतिस जिसी डेभलपमेन्ट समूहमा समेटिएका छन्।
यसअघि वर्गीकरणमै नपरेका अर्जुन साउद, बिपिन खत्री, दीपक डुम्रे, नारायण जोशी, रसिद खान, पवन सराफ, तृतराज दास र युवराज खत्री पनि डेभलपमेन्ट समूहमा छन्।
तर यसअघि समूह ‘डी’मा रहेका चार जना र इमर्जिङमा रहेका तीन जना भने क्यानको सम्झौताबाट बाहिरिएका छन्। बाहिरिनेमा समूह ‘डी’ का विवेक यादव, सूर्य तामाङ, अभिनास बोहरा र मयन यादव छन्। इमर्जिङमा रहेका दिपेश कँडेल, रुपेश सिंह र सुभ कंसाकार पनि नयाँ वर्गीकरणमा अटाएनन्।
यो पनि
क्रिकेटर वर्गीकरण: मनीषा ‘डी’ बाट सिधै ‘बी’ मा, कविता जोशीको घटुवा
क्यानले गर्यो खेलाडीको वर्गीकरण, रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’मा
Shares

प्रतिक्रिया