कला


सिनेमाले काठमाडौँलाई भेनिस वा बुसानजस्तै संसारभरका मान्छे ओइरिने गन्तव्य बनाउन सक्छ: रम्यता लिम्बू

सिनेमाले काठमाडौँलाई भेनिस वा बुसानजस्तै संसारभरका मान्छे ओइरिने गन्तव्य बनाउन सक्छ: रम्यता लिम्बू

लक्ष्मी बलायर
जेठ १२, २०८३ मंगलबार १०:४९, काठमाडौँ

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण यही जेठ १३ गते सुरु हुँदैछ।

महोत्सवको ओपनिङ फिल्मको रुपमा ‘सेप अफ मोमो’ देखाइनेछ। जुन नेपाली मूलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित फिल्म हो।

त्यस्तै किम्फको प्रि-ओपनिङ पनि महिलाहरूकै प्यानल छलफलबाट सुरु भयो।

किम्फले सधैँ नै फिल्म कार्यक्रम गर्दा लैंगिक दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको बताउँछिन् निर्देशक रम्यता लिम्बू।

निर्देशक रम्यता लिम्बू

‘हामीले जहिले पनि जेन्डर लेन्स लगाउँछौँ। महिला निर्देशकहरू हुनुपर्‍यो। महिलाको कथाहरू आउनुपर्‍यो। त्यो प्रोत्साहन सधैँ नै गरिरहेकै हुन्छौँ,’ उनले भनिन्, ‘अहिले मलाई रोचक लागेको चाहिँ पछिल्लो महिनामै हेर्नुस् न, नेपालमा कतिवटा फिल्म रिलिज भएको छ, जसमा महिलाहरूलाई नै सेन्टरमा राखिएको छ। मेरो विचारमा यो बहसलाई ठ्याक्कै ल्याउनु अवसर पनि हो।’

विगत दुई दशकभन्दा बढी समयदेखि चलचित्र संस्कृति र बहसलाई अगाडि बढाउँदै आएको किम्फले यस पटक फिल्ममेकरहरूलाई निखार्न विशेष ल्याब र समसामयिक विषयमा प्यानल छलफललाई प्राथमिकतामा राखेको छ।

निर्देशक लिम्बूका अनुसार यसपटक महोत्सवमा ५० भन्दा बढी स्वदेशी तथा विदेशी फिल्महरू देखाइनेछन्। जसमा नेपाली पानोरमातर्फबाट नेपाली फिल्ममेकरहरूले बनाएका १४ वटा फिल्म समेटिएका छन्। तीमध्ये अधिकांश फिल्मको नेपाल प्रिमियर वा वर्ल्ड प्रिमियर हुँदैछन्। यसपटक नेपाली पानोरमामा झन्डै ८० देखि ९० वटा फिल्महरूको आवेदन परेको थियो।

यसबाहेक नेपाली मौलिक कथाहरूलाई कसरी विश्व बजारमा पुर्‍याउने र अन्तर्राष्ट्रिय सहकार्य कसरी गर्ने भन्नेबारे पनि विशेष छलफल हुनेछ। जसमा अविनाशविक्रम शाह, मीन भाम र रामकृष्ण पोखरेल जस्ता अन्तर्राष्ट्रिय को-प्रोडक्सनको अनुभव भएका फिल्ममेकरहरूले आफ्ना अनुभव सेयर गर्नेछन्।

त्यस्तै, नयाँ र स्वतन्त्र फिल्ममेकरलाई प्रोत्साहन गर्न किम्फले विभिन्न अवसरहरू प्रदान गर्ने निर्देशक लिम्बूले सुनाइन्। नेपाली सर्ट फिल्मको लागि छुट्टै चलचित्र ल्याबको व्यवस्था गरिएको छ। प्रतिस्पर्धाबाट छानिएका ६ वटा नेपाली प्रोजेक्टका स्क्रिप्टहरूलाई मेन्टरसिपमार्फत फाइन ट्युन गर्ने काम यस ल्याबमा भइरहेको उनको भनाइ छ।

यी दुवै ल्याबका प्रोजेक्टहरूको किम्फकै दौरान ‘पिच कम्पिटिसन’ हुनेछ, जहाँ उत्कृष्ट हुनेले आर्थिक अनुदान वा ‘इन-काइन्ड’ सहयोग पाउनेछन्।

उनी भन्छिन्, ‘हाम्रा कथाकार र फिल्ममेकरहरूलाई आफ्नो प्रोजेक्ट वा प्रपोजल सुनाउने र त्यसलाई निखार्ने मेन्टोरिङ ठाउँहरू धेरै छैनन्। त्यसैले हामीले सानोतिनो हिसाबले यो प्रयास गरेका हौँ। पिचका बेला हामी नेपालकै जल्दोबल्दो प्रोड्युसरहरू वा फिल्ममा लगानी गर्न सक्ने मान्छेहरूलाई बोलाएर फिल्ममेकरहरूसँग लिंक गराइदिन्छौँ। आर्थिक ग्रान्ट ठुलो नभए पनि भर्खर आउने फिल्ममेकरका लागि यो एउटा ठुलो प्रोत्साहन हो।’

त्यस्तै, ‘ह्वाट्स इन अ स्टोरी: सिनेमा एन्ड सेन्सरसिप’ शीर्षकमा प्यानल छलफल पनि आयोजना हुनेछ।

‘हाम्रो सिनेमा र सेन्सरसिप भन्ने प्यानल छ, जुन अहिले यहाँ एकदमै जल्दोबल्दो विषय बनिरहेको छ। सेन्सरसिप के हो, कस्तो फिल्म देखाउने वा नदेखाउने र फेस्टिबलहरूलाई पनि सेन्सर गर्ने कि नगर्ने भन्ने बहस चलिरहेकाले यो अलिकति बढी सान्दर्भिक हुने देखेर हामीले यो प्यानल राखेका हौँ,’ उनले भनिन्। 

यस वर्ष किम्फले फिल्ममेकरहरूको सीप र स्क्रिप्टलाई बलियो बनाउन विशेष ल्याबहरूको आयोजना गरेको छ। वृत्तचित्रका लागि काठमाडौँ डक ल्याब सञ्चालन भइरहेको छ, जसमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका दक्षिण एसियाली वृत्तचित्र निर्माताहरू आ-आफ्ना प्रोजेक्टसहित सहभागी छन्।

फिल्म छनोटको मापदण्डबारे स्पष्ट पार्दै उनी भन्छिन्, ‘कथा त फिल्म आफैँले बोल्नुपर्छ। हामी मौलिकता, विविध किसिमका कथाहरू, भ्वाइसेज र प्रोटागोनिस्टहरू हेर्छौँ। सँगै प्रोडक्सन क्वालिटी पनि पुग्नुपर्छ। हाम्रो मुख्य चाहना भनेको कथाहरू लोकल हुन्, हाम्रै वस्तुस्थिति र इस्युहरूमा आधारित हुन् तर तिनीहरू ग्लोबल्ली रेजोनेट होस् र क्वालिटी राम्रो होस् भन्ने हो।’

नेपालमा अन्तर्राष्ट्रिय स्तरको फेस्टिबल आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण हुन्छ। यसका लागि ठुलो आर्थिक स्रोत, विदेशी पाहुना व्यवस्थापन र फिल्महरूको स्क्रिनिङ फीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। लिम्बू यसमा सरकार, चलचित्र विकास बोर्डको थप सक्रियता आवश्यक ठान्छिन्।

काठमाडौँ महानगरपालिका युनेस्कोको फिल्म सिटी बनेकाले महानगरले पनि केही तरखर गरिरहेको सुनाउँछिन् उनी। सिनेमा क्षेत्र मनोरञ्जनको साधन मात्र नभई यो एक अमूर्त सम्पदा हो भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ छ।

‘हामीलाई फिल्म क्षेत्र अनुकूल नीति आवश्यक छ। कोरिया वा इरान जस्ता देशहरूमा सरकारी तवरबाटै धेरै काम भएकाले उनीहरूको फिल्म उद्योग छोटो समयमै निकै माथि पुगिसक्यो,’ लिम्बूले भनिन्, ‘नयाँ सरकारले पनि यस क्षेत्रका मान्छेहरूसँग सल्लाह गरेर प्रभावकारी नीति ल्याउनुपर्छ। फिल्मले रोजगारी सिर्जना गर्छ, क्वालिटी बढाउँछ र कान्स, भेनिस वा बुसान जस्तै काठमाडौँलाई पनि संसारभरका मान्छे ओइरिने एउटा पर्यटकीय डेस्टिनेसन बनाउन सक्छ।’

कोरोना महामारीपछि नेटफ्लिक्स जस्ता अनलाइन स्ट्रिमिङ र डिजिटल प्लाटफर्म बढेकाले दर्शकलाई भौतिक रूपमा हलसम्म तान्न संसारभरकै फेस्टिबलहरूका लागि चुनौती बढिरहेको छ। यसका लागि किम्फले ठुलो मार्केटिङ गर्नुको सट्टा निश्चित दर्शक समूहलाई लक्षित गर्ने रणनीति अपनाएको छ।

तर, दीर्घकालीन रूपमा दर्शक तयार पार्न विद्यालय स्तरदेखि नै काम गर्नुपर्ने लिम्बूको तर्क छ।

‘स्कुल लेभलदेखि नै सिनेमा शिक्षा दिने, फिल्म क्लबहरू बनाउने र युवा केटाकेटीमा फिल्मप्रतिको चासो र यसको महत्त्व बुझाउनु जरुरी छ। यो एउटा फेस्टिबलले मात्र गरेर साध्य हुँदैन। सरकार, निजी क्षेत्र र शिक्षा क्षेत्र सबै मिलेर एउटा इकोसिस्टम बनाउनुपर्छ र बिस्तारै दर्शक कल्टिभेसन गर्नुपर्छ।’

यसै सन्दर्भमा किम्फले ट्राभलिङ किम्फ (घुम्ती किम्फ) मार्फत मोफसलमा पनि फिल्म लैजाने गरेको छ। अघिल्लो वर्षहरूमा पूर्व र सुदूरपश्चिम (कैलाली, कञ्चनपुर, डडेलधुरा) मा पुगेर स्थानीय सरकारहरूसँग मिलेर युवा पुस्तामा स्टोरी टेलिङ र फिल्मप्रति जागृत गर्ने प्रयास गरिएको उनले सुनाइन्।

रम्यताका अनुसार विगत २६ वर्षको अवधिमा किम्फको दर्शक प्रोफाइलमा ठुलो परिवर्तन आएको छ। सुरुवाती दिनहरूमा विदेशी र नेपालमा बस्ने विदेशीहरू बढी देखिने किम्फमा अचेल २० देखि ३५ वर्ष उमेर समूहका नेपाली युवाहरूको बाहुल्य रहेको सुनाउँछिन् उनी।

‘अहिले धेरै नेपाली युवाहरूको उपस्थिति देखिन्छ। युवाहरू फिल्म हेर्न मात्र होइन, प्रश्नोत्तर सेसनमा भाग लिन र अन्तर्क्रिया गर्न उत्तिकै उत्सुक देखिन्छन्। अहिले सामाजिक सञ्जालमा पनि विभिन्न सिने क्लब र सिनेफाइल ग्रुपहरू सक्रिय हुनुले सिनेमाप्रतिको चासो बढेको देखाउँछ। त्यो हेर्दा बिस्तारै चेन्ज भइरहेको देखिन्छ,’ उनले भनिन्, ‘फेस्टिबल भनेकै एउटा यस्तो प्लाटफर्म हो, जहाँ ज्ञानको आदानप्रदान हुन्छ, नेटवर्किङ हुन्छ र विचार आदानप्रदान हुन्छ। हामीले सानोतिनो हिसाबले यही कोसिस गरिरहेका छौँ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad