अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला तथा पुरुष टोलीका ३५/३५ जना खेलाडीलाई जनही १५ हजारका दरले खुराक खर्च प्रदान गर्ने भएको छ।
एन्फाको सोमबार बसेको कार्यसमितीको बैठकले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समस्यामा परेका क्लव, जिल्ला संघ र रेफ्रीहरुलाई राहत वितरण गर्ने भएको छ। संघका कार्यसमिति सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा बनेको ३ सदस्यीय कार्यसमितीले पेश गरेको प्रतिवेदनका आधारमा फिफासँग करिव १ लाख अमेरिकी डलर बराबरको रहत माग गरि वितरण गर्ने निर्णय भएको एन्फाले जारी गरेको विज्ञप्तिमा जनाईएको छ।
४८ जिल्ला संघ, ४ सदस्य समितीहरु, ए डिभिजनका १४ क्लव, बी डिभिजनका १२, सी डिभिजनका १४ क्लव, एन्फाबाट स्वीकृत मोफसलमा सञ्चालन गर्ने प्रतियोगिताका आयोजक, एन्फामा आवद्ध सबै तहका प्रशिक्षक र कर्मचारीहरु तथा ए डिभिजन लिग सञ्चालन गर्ने रेफ्री र रेफ्री एसेशरहरु ३० जनालाई राहत वितरण गर्ने निर्णय गरेको गरेको छ।
यस्तै, एन्फाको बैठकले आगामी आर्थिक वर्षको लागि बजेट पनि पारित गरेको छ। कोषाध्यक्ष रविन्द्र जोशीले आर्थिक वर्ष २०७७/७८ का लागि ७० करोड ४१ लाख १९ हजार ६ सय ८५ रुपैयाँ विनियोजन गरेको बजेट पारित गरि अनुमोदनका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय पनि गरिएको एन्फा प्रवक्ता किरण राईले जनाएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण स्थगित संघको १९ औं साधारण सभा आगामी भदौ १५ गते गर्ने निर्णय पनि गरेको छ। सो समयसम्म पनि कोरोना भाइरसको संक्रमणको अवस्था यस्तै, रहिरहे अनलाइन भर्चुअल माध्यमबाट साधारण सभा गर्ने एन्फाले जनाएको छ।
बैठकले ललितपुर जिल्ला संघका अध्यक्ष पुरुषोत्तम थापालाई गरेको कारबाहीलाई अनुमोदन गरेको छ। उनको कारबाहीलाई अनुमोदन गर्दै आवश्यक थप कार्यको लागि अनुशासन समितीमा पेश गर्ने निर्णय गरेको छ।
गत वैसाख २४ गते सोधेको स्पष्टिकरणमा विषयमा प्रवेश नै नगरी उल्टै विधानको धारा १४ को उपधारा १ (क) समेतको विपरित हुने गरि प्राप्त जवाफ चित्त बुझ्दो नभएको भन्दै थापालाई आगामी साधारण सभा सम्मको लागि कारबाही गरेको जनाएको छ। यता अध्यक्ष थापाले भने आफूलाई विधान विपरित कार्य गरेको भन्दै निर्णय फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् राखेप र एन्फाकै अनुशासन समितीमा अपिल गरिसकेका छन्।

प्रतिक्रिया