आज परेको गुरुपूर्णिमा पर्व खेलाडीहरुले पनि आआफ्ना गुरुलाई सम्झेर मनाएका छन्।
पोहोर–पोहोर भेटेरै गुरुप्रति सम्मान व्यक्त गरेका खेलाडीहरु यसपटक भने फोन र फेसबुकबाटै गुरुलाई सम्झिन बाध्य भए। यसको कारण भने विश्व महामारी कोरोना भाइरस संक्रमण हो।
तीन महिनायता जारी लकडाउनले चाहेर पनि भेट्न सम्भव हुँदैनथ्यो नै! सोही कारण आइतबार राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले आफ्ना गुरुहरुलाई सामाजिक सञ्जाल फेसबुकबाटै सम्झिए।
१२ वर्षयता राष्ट्रिय फुटबल टोलीको गोलपोष्ट सम्हालेका चेम्जोङ आफूलाई फुटबल खेल्न सिकाउने मणि चेम्जोङलाई पहिलो गुरु मान्छन्। उनले भने, ‘उमेरसमूहलाई पनि जोड्ने हो भने फुटबलमा जिम्मेवारी सम्हालेको १५/१६ वर्ष भइसक्यो। आज गुरुपूर्णिमाको दिन सामाजिक सञ्जाल फेसबुकबाट सबै गुरुहरुलाई सम्झिएँ।’

चेम्जोङले १२/१३ वर्षको हुँदादेखि नै गृहजिल्ला धनकुटाको राजारानीमा फुटबल खेल्न सुरु गरेका थिए। त्यो बेलामा मणि चेम्जोङले उनलाई फुटबल खेल्न सिकाएका थिए।
‘उहाँ मेरो खेल जीवनको पहिलो गुरु हो। गुरु मात्र हैन, उहाँले मलाई दाजुले भाइलाइ सिकाएजस्तै गरेर सिकाउनु हुन्थ्यो’, गुरु मणि चेम्जोङलाई सम्झिँदै किरणले भने, ‘त्यो बेलामा उहाँले नै मलाई खेल्न सिकाउनुभएको थियो। उहाँकै सल्लाहमा मैले गोलकिपर खेल्न थालेको हो।’
खेल्न सिकेयता फुटबलमै निरन्तर लागिरहेका चेम्जोङ आफूले खेलजीवनमा पाएको सफलताको श्रेय उनै मणिलाई दिन्छन्। उनले भने, ‘उहाँको कारण नै म यहाँ छु। त्यो बेलामा गाउँमा खेलहरु हुँदा उहाँले नै लिएर जानुहुन्थ्यो। विस्तारै जिल्ला हुँदै राष्ट्रिय टोलीसम्म आइपुगेँ।’
उनी समयक्रमसँगै अरु गुरुहरु पनि थपिँदै गएको बताउँछन्। सोही कारण आज उनले सबै गुरुलाई सम्झिए।
किरणलाई फुटबल सिकाउने मणि चेम्जोङले आफ्नो लगनशीलताले नै किरण यहाँसम्म आइपुगेको बताए। उनले भने, ‘म उसको गुरु नै त हैन तर एउटा खेलाडीको रुपमा मैले जे सिकेँ त्यो नै सिकाएँ। यसको श्रेय पनि म राजुकाजी शाक्य गुरुलाई दिन्छु।’
त्यो बेलामा मणि धनकुटा जिल्ला फुटबल संघको सदस्य थिए। यो आजभन्दा १५/१६ वर्षअगाडिको कुरा थियो। उनी आफैँ पनि खेलाडी थिए र जे जानेका थिए, सोही कुरा किरणलाई सिकाए। त्यो समयमा इँट्टाहरु राखेर खेल्न सिकाएको सम्झना उनमा ताजै छ।
‘सानोमा चञ्चले स्वभावको तर असाध्यै मिहिनेती र लगनशील’, त्यतिबेलाको किरणबारे मणि भन्छन्, ‘उसलाई मैले राष्ट्रिय टोलीको जर्सी लगाएको हेर्न मन छ भनेको थिएँ, त्यसमा ऊ सफल पनि भयो। तर यो सबै मेरो कारणले हैन उसको मिहिनेतकै कारण नै यहाँसम्म आएको छ। त्यो देख्दा एकदम खुसी लाग्छ।’
........
एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पनि आज बिहानै गुरु रघुराज वन्तलाई फोन गरेर सम्मान दर्शाइन्। १३औं दक्षिण एसियाली खेलकुद सागमा एथलेटिक्समा पहिलोपटक स्वर्ण पदक जितेर कीर्तिमान कायम गरेकी धाविका उनी वन्तलाई आफ्नो खेल जीवनको ‘पहिलो औपचारिक गुरु’ मान्छिन्।

अनौपचारिक रुपमा त खेल जीवनको उनको पहिलो गुरु आफ्नै दाजु केदार श्रेष्ठ र सिनियर साथी लक्ष्मण मल्ल हुन्। सन्तोषी भन्छिन्, ‘उहाँहरुको सपोर्टकै कारण म यहाँसम्म आएकी छु, अहिलेको समयमा धेरै श्रेय उहाँहरुलाई नै जान्छ। उहाँहरुले धेरै कुरा सिकाउनु भयो।’
आज बिहानै उठेर उनले खेलजीवनका सुरुवाती दिनहरु सम्झिन्। गुरुहरुको सहयोग, मार्गनिर्देशलाइ सम्झिएर मनमनै धन्यवाद भनेर म्यासेज पठाइन्।
उनी भन्छिन्, ‘अहिलेको समय सहज अवस्था नभएकोले भेट हुन पाएन। पहिलाको वर्ष हामी सबै भेटेर मनाएका थियौँ।’
आजको दिनलाई एउटा उत्सवको रुपमा मात्र मनाउनुभन्दा पनि गुरुहरुले सिकाएको कुरालाई अनुशरण गरेर काम गर्दै जानुपर्ने उनको भनाइ छ।
त्यसो त उनका गुरु रघुराज वन्त आफूले सन्तोषीलाई ‘मनले मात्र सम्झे पुग्छ, गुरु नै हो भनेर भन्नुपर्दैन है’ भनेको बताउँछन्।
उनले नेपालखबरसँग भने, ‘एउटा गुरुशिष्यको रुपमा उनलाई के भएको छ, थाहा हुन्छ। एकपटक मैले उनलाई तिमी आराम गर है भनेको थिएँ। पछि उनले गुरु कसरी थाहा पाउनुभयो भनेर सोधिन्। आज बिहानै पनि फोन गरेर आशीर्वाद लिइन्।’
वन्त सन्तोषीलाई एकदम राम्रो चेली भएको बताउँछन्। खासगरी प्रशिक्षणमा पनि सबैलाई सहयोग गर्ने सन्तोषीको बानीमा आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ।
चिनजान भएपछि एकपटक सन्तोषीको घर समेत पुगेको सम्झिँदै वन्त भन्छन्, ‘उनको घरमा पनि गएको छु। उनी मेरो प्रशिक्षार्थी मात्र हैन, नाताले नातिनी पनि पर्दी रहिछन्। त्यो कुरा पछि थाहा भयो। उनले अझै राम्रो गरेको हेर्न मन छ।’
........
वीर बहादुर महरा तेक्वान्दोका खेलाडी हुन्। १३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्णपदक विजेता महराले पनि बिहानै फोन गरेर तेक्वान्दो गुरु दिपेन्द्र सिजापतीलाई सम्झिए।

त्यसो त आजको दिनमा आफ्नो जीवनका सबै गुरुलाई सम्झेको बताउने महराले नेपालखबरसँग भने, ‘तर मलाई तेक्वान्दोमा सिजापति गुरुले नै ल्याउनुभएको हो। मैले गाउँमा नै आधा सिकेको थिएँ, त्यो बेलामा उहाँले गाउँमा नै डोजाङ खोलेर औपचारिक रुपमा सिकाउन थाल्नुभयो।’
पहिला खेल भनेको उनलाई केही थाहा थिएन। सिजापती र लोक बहादुर महराले डोजाङ खोलेपछि आफूले सिक्न पाएको उनी बताउँरुछन्। भन्छन्, ‘त्यो बेला म १०/११ वर्षको थिएँ, उहाँहरु हाम्रो गाउँमा नआउनुभएको भए म आज यहाँ पनि हुँदैनथेँ होला!’
गाउँमा हुँदा गुरुपूर्णिमा भनेर त्यस्तो वास्ता नहुने गरेको उनी बताउँछन्। ‘तर काठमाडौंमा आएर खेल्न थालेपछि बल्ल गुरुको महत्व बुझ्दै गएँ’, उनले भने, ‘त्यसपछि मैले धेरै गुरुहरु पाएँ तर विशेष उहाँ नभएको भए मैले केही पनि जान्दिनथेँ होला।’
सिजापतीले महरालाई २०६३ सालबाट राजगढमा डोजाङ खोलेर प्रशिक्षण दिनथालेका हुन्। त्यो बेला उनका २०/२५ जना विद्यार्थीहरु थिए। तीमध्ये वीर एकदम राम्रो भएर निस्किएको उनको भनाइ छ।
‘मैले उनलाई २०७१ सम्म प्रशिक्षण दिएँ’, सिजापतीले भने, ‘अहिलेको सागमा पनि उनले स्वर्णपदक जितेका छन्, मेरो लागि गर्वको कुरा हो।’
उनले पदक जित्दा आफैँले जितेजस्तो भएको सिजापती बताउँछन्।
......
त्यस्तै चर्चित महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले पनि बिहानै आफ्ना गुरुलाई फोन गरिन्। उनका गुरु हुन् शुक्र लामा।
स्ट्राइकर भूमिकामा रहने साम्बा राष्ट्रिय फुटबल टोलीकी भरपर्दी खेलाडी हुन्। साम्बा आफ्नो खेल जीवनकै श्रेय रेफ्री शुक्र लामालाई दिन्छिन्।

लामाकै कारण आफू यहाँसम्म आउन सफल भएको उनको भनाइ छ। उनले भनिन्, ‘त्यो समयमा गाउँमा खेल्दा उहाँले मलाई यहाँसम्म नबोलाएको भए म मोजाको बलमा मात्र सीमित हुने थिएँ कि!’
बिहानै उनले आजसम्म जति कोचहरुसँग खेल सिकिन्, उनीहरु सबैलाइ सम्झिन्। ‘अरु गुरुहरुलाई पनि म्यासेज पठाएको छु। मैले गुरुहरुको लागि केही गर्न नसके पनि सावित्रालाई साम्बा बनाउने सबै गुरुहरुलाई नमन गर्न चाहन्छु’, उनले भनिन्।
उनी आफ्ना गुरुलाई भेट्न नपाए पनि सधैँ सम्झिरहने बताउँछिन्।
लामाले त्यो बेलामा लमजुङमा सावित्राको खेल देखेपछि काठमाडौं बोलाएका थिए। तर सुरुमा उनी आउन नमानेको लामा बताउँछन्।
‘२ वर्षपछि मात्र उनी काठमाडौं आउन तयार भइन्’, उनले भने, ‘अहिले सावित्रालाई धेरैले रोल मोडलको रुपमा लिने गरेका छन् जुन आफैँले देख्दा एकदम खुसी लाग्छ।’
लामाको दृष्टिमा सावित्रा मैदानमा निकै मिहिनेती खेलाडी हुन्।
लामालाई खेलाडीको रुपमा सावित्राले अझै राम्रो गरेको हेर्न मन छ। उनी भन्छन्, ‘एउटा गाउँबाट आएर अहिले अन्तर्राष्ट्रिय रंगशालामा पनि आफूलाई अब्बल साबित गरेकी छिन्।’

प्रतिक्रिया