इण्डियन प्रिमियर लिग(आइपीएल) टोली चेन्नाइ सुपर किंग्सका कम्तीमा १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ।
आइपीएलमा सहभागिताका लागि दुबई गएका उनीहरुको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो।
टिम होटलमा बिहीबार खेलाडी, अफिसिएल तथा स्टाफहरुमा गरीएको परीक्षणमा दश जनामा पोजिटिभ देखिएको हो।
आइपीएलको मापदण्डमा दुबई उत्रेपछि टोलीले पहिलो, तेस्रो र पाँचौं दिनमा सबैको परीक्षण गर्नुपर्ने र ६ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख छ।
पाँचौं दिनको तेस्रो परीक्षणका क्रममा ती १० जनामा कोरोना पोजिटिभ देखिएको हो।
चेन्नाईले अब होटेल क्वारेन्टिन अवधि बढाउँदै आफ्नो प्रशिक्षण ढिलो सुरु गर्ने भएको छ।
यसअघि अगष्ट २१ मा दुबई पुगेको टोलीले शुक्रबारबाट प्रशिक्षण गर्ने तालिका बनाएको थियो।
भारतमा कोरोनाभाइरसका संक्रमितहरु बढ्दै गएपछि यसपटकको आइपीएल सेप्टेम्बर १८ देखि यूएईमा हुँदैछ।

प्रतिक्रिया