लन्डन क्लब आर्सनलले युरोपा लिगमा शतप्रतिशत नतिजा निकालेको छ।
अघिल्लो चरणमा स्थान बनाइसकेको आर्सनलले गएराति भएको खेलमा रापिड वेनलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो।
कोरोना महामारीपछि करिब २ हजार दर्शकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले सुरुवातबाट नै दबाब बनाएको थियो।
आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे। रापिडका कोया किटागावाले एक गोल फर्काए।
खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा १ गोल थप्यो।
समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक जोडेको छ। समान खेलबाट मोल्देको ९ अंक छ। रापिडको ६ अंक हुँदा डुन्डल्कले खाता नै खोल्न सकेको छैन।
समूह बी कै अर्को खेलमा मोल्देले डुन्डल्कलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएको छ।

प्रतिक्रिया