तनँहुको ऋषिङ गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक ऋषिङ म्याराथनको आयोजना गरिँदै छ।
आगामी पुस २७ गते गाउँपालिकाभित्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न म्याराथन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।
खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछन्। खुलातर्फ ४२ किलोमिटर दूरीमा धावकहरु दौडनेछन्। सो दौड ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भीरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ।
यो विधामा प्रथम हुनेले ६५, दोस्रो हुनेले ४० र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउँनेछन्। सान्त्वना हुने ३ जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।
स्थानीय दौड ऋषिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिका कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर सम्म १० किलोमिटरको दुरीमा हुनेछ। यसमा प्रथम हुनेले १५, दोस्रोले १० तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
महिला दौड ४ किलोमिटर दुरीमा हुनेछ। गढीडाँडा, रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडनेछन्। यो विधामा प्रथम हुनेले नगद १०, दोस्रोले ८ र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन्।
सांस्कृतिक महत्व बोकेको ऋषिङलाई गीतले चिनायो अब खेलकुदले चिनाउने हो अध्यक्ष श्रेष्ठले भने, प्रचारप्रसार अभावमा यो ठाउँ आझेलमा परेका छन्।
Shares

प्रतिक्रिया