खेल


राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्ने सावित्री किसानको सपना

राष्ट्रिय टोलीको गोलपोस्ट सम्हाल्ने सावित्री किसानको सपना

लक्ष्मी जि.सी
फागुन ३, २०७७ सोमबार १०:३८,

अधिकांश फुटबल खेलाडीको सपना हुन्छ– राष्ट्रिय टोलीबाट खेल्नु। त्यस्तै सपना देखिकी छिन् राष्ट्रिय महिला लिगमा सहभागी टोली वालिङ नगरपालिकाकी गोलरक्षक सावित्री किसानको।

चार वर्ष भयो उनले खेल्न थालेको। गण्डकी प्रदेशको तनहुँमा भएको कोकाकोला कपको छनोटबाट उनले खेलजीवन सुरु गरेकी हुन्। छोटो समयमै उनी नेपाली यू १४ र यू १५ टोलीमा पर्न सफल भएकी थिइन्।

हुन त हुनलाई डिफेन्स मनपर्ने पोजिसन हो। तर प्रशिक्षकहरुको सल्लाहमा उनले गोलकिपरका रुपमा खेल्न थालेकी थिइन्।

‘त्यति बेला दिदीहरुले हानेको लामो र कडा प्रहार सेभ गरेपछि गुरुहरुले गोलकिपर खेल्न सल्लाह दिनुभयो,’ उनले भनिन्, ‘अनि गोलकिपर खेल्न खेल्न थालेँ। सुरुमा त डर लाग्थ्यो। पछि बिस्तारै बानी पर्न थाल्यो। अहिले त सजिलै लाग्छ।’

फुटबल खेल्न थालेको केही वर्षमै उनले उमेर समूहका ५ वटा अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छिन्। दुई वर्षअघि भुटानमा आयोजकविरुद्ध खेल्दै उनले उमेर समूहमा डेब्यू गरेकी थिइन्।

‘साथीहरुले नेपाली टोलीको जर्सी र टी–सर्ट लगाएको देख्दा मलाई पनि त्यस्तै लगाउन रहर लाग्थ्यो,’ उनले पुराना दिन स्मरण गरिन्, ‘उमेर समूहमा पहिलो पटक नेपालको जर्सी लगाउँदा यति खुसी भएँ कि म त्यो क्षण बयान गर्न सक्दिनँ।’

Sabitri Kisan 1

त्यसयता उनी लगातार पहिलो रोजाइमा खेल्दै आएकी छिन्।

आर्थिक अवस्था कमजोर भइकन खेललाई निरन्तरता दिने मध्येकी एक हुन् सावित्री। ढुक्कसँग खेल जीवन अघि बढाउन उनलाई कठिन छ। तर, परिवार र प्रशिक्षकहरुको साथले आफू फुटबलमा लागि रहन सफल भएको उनको भनाइ छ।

‘म २ कक्षामा हुँदा नै बुबा बिरामी भएर बित्नुभयो। बुबाबिना परिवारको सबै जिम्मेवारी मम्मीको काँधमा आयो। मम्मी नगरपालिकामा सरसफाइको काम गर्नुहुन्छ। त्यतिले दिदी, मलाई र भाइलाई पढाउन, परिवारका आवश्यकता पूरा गर्न मम्मीलाई गाह्रो थियो,’ सावित्री भन्छिन्, ‘त्यसपछि म र दिदी पनि काम गर्न थाल्यौँ। अरुको घरमा काम गर्न जान्थ्यौँ।’

सावित्री सुरुमा दिदी सम्झनासँगै फुटबल खेल्न जान्थिन्। तर, काम गर्नुपर्ने अवस्था आएपछि खेलिरहन मुस्किल भयो। दिदीसँगै उनले पनि खेल्न छाडिन्।

‘तर, गुरु दीलिप थापा घरमै आउनुभयो र खेल्नुपर्छ भन्नुभयो,’ सावित्री भन्छिन्, ‘दिदीले पनि म काम गर्छु, तँ खेल भनेपछि म मैदानमा फर्किएँ।’

दिदी, मम्मी र दीलिप थापाकै सहयोगमा उनी अहिले खेललाई निरन्तरता दिइरहेकी छन्।

‘मम्मी र दिदीले हौसला दिनुहुन्छ। राम्रो सँग खेल, परिवारको नाम राख भन्नुहुन्छ। समाचारमा नाम आउँदा मम्मी एकदम खुसी हुनुहुन्छ,’ उनी भन्छिन्, ‘दीलिप गुरुले पनि ठूलो सहयोग गर्नुभएको छ। जर्सी, बुट किन्ने पैसा नहुँदा उहाँले नै दिनुहुन्छ।’

स्याङ्जा जिल्लाभरकै एक मात्र फुटबल प्रशिक्षक हुन् दिलीप थापा। गोलकिपिङ प्रशिक्षक अलग्गै छैनन्। त्यसैले सावित्रीलाई थापाले नै गोलकिपिङ प्रशिक्षण गर्छन्।

‘गुरु आफू मिडफिल्डको खेलाडी। तैपनि गुरुले नै सिकाउनुभयो,’ उनले भनिन्।

थापाले आफूले सिक्दा गोलकिपिङको पनि प्रशिक्षण लिएका थिए। त्यसैले आफूलाई मद्दत पुगेको उनी बताउँछिन्।

सावित्रीले यू १५ को छनोटमा गएपछि गोलकिपिङकै अलग्गै प्रशिक्षण पाएकी थिइन्।

राष्ट्रिय टोलीमा छनोट हुन्छु भन्ने आत्मविश्वास सावित्रीमा बढ्दै गएको छ।

‘उमेर समूहमा पहिलो रोजाइबाट खेलिसकेको छु। त्यहीअनुसार मेहनत गरेपछि राष्ट्रिय टोलीमा पनि पर्छु भन्ने आशा छ। हाइट अलि कम छ। अरुले पनि त्यही भन्छन्। तर मलाई खेल्न अप्ठेरो लाग्दैन,’ उनले भनिन्, ‘बढ्ने उमेर अझै छ।’

उमेर समूहमा अन्तराष्ट्रिय अनुभव भएपनि सावित्रीलाई विभागीय टोलीविरुद्ध खेल्न केही कठीन लाग्छ। किनभने विभागमा नियमित प्रशिक्षण लिएका खेलाडी हुने गर्छन्।

Sabitri Kisan 2

विभागप्रतिको आकर्षण
राष्ट्रिय फुटबल टोलीमा विभागीय खेलाडीको बाहुल्यता छ। अधिकांश खेलाडी तीन विभाग एपीएफ, आर्मी र पुलिसका छन्। विभागीय टोलीबाट खेल्ने मौका पाएको खण्डमा राष्ट्रिय टालीमा पर्न अझै सहज हुने सावित्रीको ठम्याइ छ।

एपीएफ र आर्मी उनलाई मनपर्ने क्लब हुन्। ती दुईमध्ये जहाँबाट राम्रो प्रस्ताव आउँछ, त्यसमै जाने उनको योजना छ।

राष्ट्रिय र एपीएफकी पहिलो रोजाईकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा उनलाई मन पर्ने गोलकिपर हुन्।

भन्छिन्, ‘एन्जिला दिदीको खेलबाट पनि सिक्ने प्रयास गर्छु। डिफेन्डरहरुको पनि खेल त्यत्तिकै हेर्छु।’

वालिङको प्रदर्शन
काठमाडौमा जारी महिला लिगमा एपीएफले उच्च प्रदर्शन गरिरहेको छ। आर्मीको प्रदर्शन पनि सन्तोषजनक नै छ। विभागीय टोलीमध्ये पुलिसको प्रदर्शन कमजोर रहँदै आएको छ। विभागलाई छाडेर सहभागी अन्य ४ टोलीको प्रदर्शनलाई हेर्ने हो भने वालिङको नाम अगाडि आउँछ।

लिगको पहिलो चरणमा पुलिसलाई रोकेको वालिङले अर्को खेलमा त्यही पुलिसलाई १–० ले हराएको थियो। पुलिससँगको त्यो प्रदर्शन फुटबलमा रुचि राख्ने जो कोहीको ध्यान तानेको छ। सुरुवाती खेलमा केही कमजोर देखिएको वालिङ ४ विदेशी खेलाडी भित्र्याएपछि बलियो देखिएको छ।

अर्को बलियो टोली विराटनगर महानगरपालिकालाई पनि वालिङले १–१ को बराबरीमा रोकेको थियो। ती सबै सफल नतिजामा सावित्रीको भूमिका महत्वपूर्ण रहँदै आएको छ। महिला लिगको छनोट खेलमा रौतहट विजेता बन्दा वालिङ उपविजेताका रुपमा लिगका लागि छनोट भएको थियो।

सावित्री स्तरीय खेलाडी हुन्ः प्रशिक्षक
लिगमा आफ्नो टोलीको प्रदर्शनबाट वालिङका प्रशिक्षक दिलीप थापा सन्तुष्ट छन्।

‘साना नानीहरु छन्। सिनियर खेलाडीसँग राम्रै खेलेका छन्। दुःखी हुनुपर्ने ठाउँ छैन,’ उनी भन्छन्, ‘जिल्लामा म एक्लै कोच हो तर म गोलकिपर प्रशिक्षक होइन। तर पनि सिकाइरहेको छु। जिल्लामा गोल किपिङ प्रशिक्षक आवश्यक छ।’

प्रशिक्षक थापाको नजरमा सावित्री स्तरीय खेलाडी हुन्।

‘जुनियर खेलाडीले सिनियर लिगमा खेल्नु राम्रो हो। प्रशिक्षण पनि राम्रो गरिरहेकी छन्। एडभान्स प्रशिक्षण पाउँदा अझै राम्रो गर्न सक्छिन्,’ उनले भने, ‘हाम्रो टोलीका धेरै खेलाडी कमजोर आर्थिक अवस्थाका छन्। उनीहरुलाई स्थानीय तहकाे क्लब खेल सामग्री दिएर सिकाएका थियौँ।’

सावित्रीले विभागीय टोलीमा मौका पाउन सक्छिन् भनेपछि खेलमा पठाउन परिवार सहमत भएको थापा सम्झन्छन्।

‘हामीले सक्ने सहयोग गरेको मात्र हो बाँकी मेहनत त उनकै हो,’ उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .