खेल


सागका लागि पाकिस्तानबाहेक सबै देशको लिखित प्रतिबद्धता(भिडियो)

दक्षिण एसियाली देशहरुको सबैभन्दा ठूलो खेलकुद मेला सागको नेपालले आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म तेस्रो पटक आयोजना गर्दै छ। सन् १९८४ मा नेपालबाट नै सुरु भएको साग १९९९ मा नेपालमा दोस्रो पटक आयोजना भएको थियो।

नेपालले द्रुतगतिमा आयोजनाको कार्यलाई प्राथमिकताका दिँदा भारत र पाकिस्तानको प्रतिबद्धता नआएपछि उनीहरुको सहभागितालाई लिएर संशय पैदा भएको थियो।

तर, साग आयोजनाको मुख्य उद्देश्यसहित एक महिनाअघि राखेपका सदस्यसचिव नियुक्त भएका रमेशकुमार सिलवालले शुक्रबार नेपालखबरसँग कुरा गर्दै पाकिस्तानबाहेक सबै देशको लिखित प्रतिबद्धता आइसकेको बताए।

‘अहिले पाकिस्तानबाहेक सबैदेशले सहभागिता जनाउने लिखित रुपमा पत्र पठाइसकेका छन्,’ उनले भने, ‘भारतले पनि गरिसकेको छ। उनीहरुले प्रतिबद्धतासँगै बन्द प्रशिक्षण पनि राखिसकेको छ। पाकिस्तानले पनि बन्द प्रशिक्षण राखेको छ। तर, अनौपचारिक कुरा भए पनि औपचारिक पत्र भने आएको छैन।’

सदस्यसचिव सिलवालले कुन देश, कुन-कुन खेलमा भाग लिने भन्ने जानकारीका लागि आजै(शुक्रबार) पत्राचार गरिन लागिएको जनाए।

‘हामीले यसलाई सेड्युल बनाएर आजै पठाउँदैछौं। अबको एकमहिनाभित्र उहाँहरुले कुनकुन गेमको, कुनकुन इभेन्टमा भाग लिने भनेर दर्ता गरिसक्नुपर्छ,’ सिलवालले भने, ‘त्यसपछि को-को खेलाडी आउँदैछन् भनेर नामदर्ता गर्ने प्रक्रियाका लागि पत्राचार हुनेछ।’

भारत र पाकिस्तान अघि अन्य राष्ट्रहरु माल्दिभ्स, भुटान, श्रीलंका र बंगलादेशले पनि यसअघि नै सहभागिताको लिखित प्रतिबद्धता जनाइसकेका छन्।

यहीबीच भारतले जम्मु कस्मिरको अधिकार खोस्दै उक्त प्रदेशलाई केन्द्र सरकार मातहत राखेपछि त्यसले साग खेलकुदमा पनि असर पुर्याउने शंका पैदा भएको थियो। सदस्यसचिव सिलवाल भने उक्त घटनाले केही पनि असर नपार्ने बताए।

‘भारत र पाकिस्तान युद्ध गर्न आउने होइन्, खेल खेल्न आउने हो,’ नेपालखबरसँगको कुराकानीमा सदस्यसचिव सिलवालले भने, ‘राम्रो खेल्ने जित्छन्, नराम्रो खेल्ने हार्छन्। त्यसले(कास्मिर विषय)ले खेलमा कुनै असर गर्दैन्। खेलको आफ्नै नियम छ। नियमको सबैले पालना गर्नुपर्छ।’

‘कास्मिर घटनाले उनीहरुलाई मनोवैज्ञानिक रुपमा असर पर्नसक्छ,’ सिलवालले थपे, ‘उनीहरुमा एकअर्कालाई जसरी भएपनि जित्नुपर्छ, जसरी भएपनि हराउँनुपर्छ भन्ने पर्ला। त्यसलाई सकरात्मक रुपमै लिनुपर्छ।’

काठमाडौं र पोखरामा आयोजना हुने १३औं सागका लागि अझैपनि पूर्वाधारहरु निर्माणका क्रममा रहेकाले समयमा सम्पन्न हुने नहुने पनि आशंका छ। तर, सदस्यसचिव सिलवालले भने कार्तिक १५ गतेभित्र सम्पूर्ण पूर्वाधारहरु सम्पन्न हुने दाबी दोहोर्‍याएका छन्।

सदस्यसचिव सिलवालसँगको अन्तर्वार्ता केहीबेरमा नेपालखबरमा प्रकाशित हुनेछ।

भिडियो: प्रविन कोइराला

साउन २४, २०७६ शुक्रबार ७:६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad