बिहीबार राति बाराको एक बैंकमा लुट्न गएका लुटेरालाई पक्राउ गर्ने बैंक सुरक्षा गार्डलाई प्रहरीले सम्मान गरेको छ। रातको १२ बजे कलैया उपमहानगर ४ मा रहेको एनसीसी बैंक शाखा कार्यालयमा लुट्न गएका एक युवालाई बैंकका सुरक्षा गार्ड वतथा पूर्व प्रहरी हवल्दार साहेव प्रसाद यादवले पक्राउ गर्न सफल भएका थिए।
लुट्न जाने व्यक्ति १७ वर्षका युवा भएको बताइएको छ। प्रहरीले नाम भने खुलाएको छैन। उनले बैंकको छटबाट कम्पाउन्डमा छिरी मूलढोकाको ताल्चा काटी भित्र प्रवेश गरेर सीसीटीभी तथा बिजुली लाइन काटेर चोरीको तयारी गरेका थिए। तर सुरक्षागार्ड यादवले तत्कालै पक्राउ गर्न सफल भएका थिए।
यादवको कार्यको प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले नगद ५ हजारसहित पुरस्कृत गरेका हुन्। अभियुक्तलाई चोरी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया