खेल


के होला ३ फ्रेन्चाइज क्रिकेट लिगको भविष्य?

के होला ३  फ्रेन्चाइज क्रिकेट लिगको भविष्य?

यज्ञराज जोशी
चैत ७, २०७७ शनिबार ८:३,

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा हुँदा नेपालमा तीनवटा फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हुन्थे।

काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) ले क्यान निलम्बनमा पर्दा पनि नेपाली क्रिकेट चलायमान राखेका थिए।

झण्डै ४ वर्ष क्रिकेटको आधिकारिक निकाय क्यान कोमामा रहँदा यिनै फ्रेन्चाइज लिगले नेपाली घरेलु क्रिकेट जोगाइराखेका थिए। खेलाडीलाई मोटो पारिश्रमिक बुझ्ने बनायो। विदेशी खेलाडी ल्याई नेपाली दर्शकलाई मनोरञ्जन दिलायो। यिनै प्रतियोगिताबाट नयाँ खेलाडी उदाए। जो राष्ट्रिय टोलीसम्म पुगे। क्यान नहुँदा राष्ट्रिय टोलीमा खेलाडी छनोटको आधार यिनै प्रतियोगिता पनि थिए।

यिनै फ्रेन्चाइज प्रतियोगिताले कर्पाेरेट क्षेत्रलाई नेपाली क्रिकेटसँग पनि जोडेको थियो। डीपीएल, पीपीएल मोफसलमा हुने भएकाले पनि क्रिकेटलाई विकेन्द्रीकृत गर्न यिनले सघाएका थिए। 

अघि नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा भएर चतुरबहादुर चन्दको प्यानलैसहित विजयी भएको डेढ वर्ष नाघिसकेको छ। निर्वाच लगत्तै क्यानकाे प्रतिबन्ध पनि फुकुवा भएको थियो। तर क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेट धानेका यी फ्रेन्चाइज लिगको भविष्य के हुने भन्ने प्रश्न बारम्बार उठिरहेको छ। क्यानले स्पष्ट नीति नलिँदा आयोजक अलमलमा देखिन्छन्।

ईपीएलले आफ्नो तेस्रो संस्करणको अन्तिम तयारी कोरोना महामारी सुरु हुनुअघि नै गरेको थियो। विश्व क्रिकेटमा युनिभर्सल बोस भनेर चिनिने वेस्ट इन्डिजका क्रिस गेलसमेत आएर खेल्ने निश्चित भएको थियो। ईपीएललाई आईसीसीले समेत मान्यता दिइसकेको अवस्थामा कोरोना महामारीका कारण अचानक प्रतियोगिता रोक्नुपर्‍याे।

आईसीसीबाट स्वीकृति लिइसकेकाले क्यानले पनि केही दिनअघि मात्रै ईपीएललाई स्वीकृति दिइसकेको छ। रोकिएको ईपीएलको संस्करण आगामी सेप्टेम्बरमा हुने घोषणा भइसकेको छ। यो संस्करणपछि ईपीएलसँगै अन्य २ फ्रेन्चाइज लिगको भविष्य अनिश्चत छ।

अर्कातिर क्यानले आफैँ आयोजना गर्ने घोषणा गरेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई पनि कसरी लैजाने भन्नेबारे क्यानले निर्णय लिएको छैन।

कोरोनाका कारण अघिल्लो वर्ष तीनवटै फ्रेन्चाइज लिग हुन सकेका थिएनन्। तीन संस्करण आयोजना गरिसकेका डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही क्यानको स्पष्ट निर्णयको पर्खाइमा रहेको बताउँछन्।

‘डीपीएललाई अझै अर्को तहमा लैजाने योजनाका साथ हामी अघि बढेको तर त्यसअघि क्यानले फ्रेन्चाइज लिगबारे स्पष्ट धारणा दिनुपर्ने हुन्छ,’ शाही भन्छन्, ‘तीनवटा प्रतियोगिताको व्यवस्थापन र आयोजनाको खाकाले दिएमा हामीलाई अघि बढ्न सहज हुन्छ।’

डीपीएल अहिले पनि देशकै सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता हो। प्रतियोगिताका ६ टोलीले खेलाडीलाई अक्सनबाट बोली लगाउँदै आफ्नो टोलीमा भित्र्याउने गरेका छन्। नेपाली क्रिकेटमा सबैभन्दा पहिले अक्सन भित्र्याउँदै व्यावसायिकताको सूत्रपात डीपीएलले नै गरेको हो।

अरु देशमा आधिकारिक निकायले एउटा मात्रै फ्रेन्चाइजी लिग आयोजना  गर्ने गरेका छन्। नेपालमा भने नेपाल प्रिमियर लिगसँगै चारवटा लिग हुने भएका छन्। यसो गर्दा मार्केटले नधान्ने भएकाले समायोजनमा जानुपर्ने आवाज पनि उठेका छन्।

शाही त्यसमा पनि खुला छन्। सबैले क्रिकेटको विकास खोजेकाले समायोजन वा अरु कुनै फर्म्याटमा जान सकिने र त्यसमा क्यानले लिने निर्णयमा आफ्नो साथ हुने उनले बताए।

क्विन्स इभेन्टले पोखरामा दुई संस्करणको पीपीएल आयोजना गरिसकेको छ। मौसम खुल्दा पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानबाट देखिने माछापुच्छ्रे हिमालसँगै हुने पीपीएलले धेरै आकर्षण थपेको छ।

पीपीएल आयोजनामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का प्रत्यक्ष संग्लन छन्। आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा, क्यानले क्यानले निश्चित मापदण्ड बनाएर विगतमा झैँ सबै फ्रेन्चाइजी प्रतियोगिता आयोजना गर्न दिनुपर्ने बताउँछन्।

‘क्यान नभएका बेला यी लिगले नेपाली क्रिकेटको आयाम नै परिवर्तन गरिदिएको थिए। लिग गर्न नदिने भन्ने हुँदैन। लिग गर्नुपर्छ, गराउँनुपर्छ,’ उनले भने, ‘क्यानले सबैका लागि समान मापदण्ड बनाएर लिगलाई आफू मातहात ल्याएर सुचारु गर्ने बाटो खोल्नुपर्छ।’

लामाले विगतमा पनि सबै लिगले आआफ्ना तरिकाबारे आयोजना गरिरहेकाले मार्केटले नधान्ने कुरै नआउने बताए।

‘नेपाली बजार सानो भनेर गर्नै नदिने हुँदैन। देशको अधिकांश सहरमा फुटबलका गोल्डकप हुन्छन्। क्रिकेटका तीनवटा लिग मात्रै हुन्,’ लामाले भने, ‘सबैको आआफ्ना मार्केट छन्। सबैलाई सुचारु गर्नेबारे क्यानले सकारात्मक ढंगले सोच्नुपर्छ।’

उनले क्यानले लिगसम्बन्धी एउटा समिति बनाउँदै आवश्यक निर्णय गरेर स्पष्ट पार्नुपर्ने बताए।

तर निर्वाचित नभएको डेढ वर्ष सम्म पनि फ्रेन्चाइज लिगबारे क्यानले कुनै निर्णय गर्ने जाँगर देखाएको छैन। क्यानका सचिव अशोकनाथ प्याकुरेल एनपीएलको कुराकानी हुँदा अन्य फ्रेन्चाइजी लिगको पनि कुरो हुने बताउँछन्।

‘हामीले एनपीएलबारे टुंग्याउँदा अन्य फ्रेन्चाइज लिगको पनि कुरो होला। गर्न हुन्न भन्नेमा छैनौं। कसरी गर्न भन्नेमा कुरा गर्नुपर्नेछ,’ उनले भने, ‘आयोजकले आग्रह गरेपछि क्यानको क्यालेन्डरसँग मिति जुध्यो भने त्यो समयमा दिन सक्दैनौं। समय जुधेन भने त्यसलाई कसरी गर्ने भन्नेमा क्यानले एउटा नीति लिइहाल्छ।’

यद्यपि क्यानले न हालसम्म एनपीएल आफैँ गर्ने कि ठेक्का दिने विषयमा टुंग्गो लगाएको छ भने न अरु फ्रेन्चाइज लिगबारे कुनै नीति लिएको छ। क्यानको स्पष्ट नीति नभएकै कारण आयोजक पनि लिग कसरी गर्ने अलमलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .