अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यू–१६ तर्फको उपाधि जितेका छन्।
मण्डीखाटारस्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको फाइनल स्पर्धामा अकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन्। पहिलो सेट ६–१ ले आफ्नो पक्षमा पारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएका थिए। अन्तिम तथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेका हुन्। अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए।
यस्तै गर्ल्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन्। सर्भानीले दुवै सेट ७–५ ले पक्षमा पार्दै उपाधि उचालेकी हुन्। सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो।
दुवै च्याम्पियनले जनही २० हजार रुपैयाँ हात पारे। विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आईएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, आईएमई ग्रुपका प्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घले लगायतले पुरस्कार वितरण गरे। सोही अवसरमा विभिन्न उमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आईएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गरे। फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमा पनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भाग लिने खेलाडीहरु सवै च्याम्पियन हुने बताए। पूर्वएआईजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे।
आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए। गर्ल्सतर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो।
आईएमई फाउन्डेसन आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो। फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
प्रतिक्रिया