नेपाल राष्ट्र बैंकदेखि बैंक तथा डिजिटल भुक्तानी संस्थाहरुले क्युआर (क्विक रेस्पोन्स) कोड प्रयोगलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गरेसँगै क्युआरमा आधारित भुक्तानी तीव्र रुपमा बढेको छ।
राष्ट्र बैंकले तरकारी पसलदेखि चिया पसलसम्म क्युआर कोड प्रयोग गर्न भन्दै गभर्नर महाप्रसाद अधिकारी पुसमा चाबहिल तरकारी पसल र चिया पसलमा सुरु गरेसँगै यसको भुक्तानीमा वृद्धि भएको हो।
पछिल्लो समयमा पसल–पसलमा क्युआर कोड धेरै देखिनथालेका छन् भने उपभोक्ताले पनि त्यसको प्रयोग गर्नथालेका छन्।
चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा यसको प्रयोग अझ बढी भएको राष्ट्र बैंकको विवरणले देखाएको छ। चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा क्युआरमा आधारित भुक्तानी झण्डै २ सय प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार माघ महिनामा मात्रै १ अर्ब ७१ करोड २० लाख रुपैयाँ भुक्तानी क्युआरबाट भएको छ।
चालू आर्थिक वर्षको पहिलो महिनामा यस्तो भुक्तानी ५८ करोड ९० लाख रुपैयाँ थियो। सात महिनको अवधिमा यस्तो कारोबार १९० प्रतिशतले वृद्धि हुँदै माघ महिनामा झण्डै पौने २ अर्बमा पुगेको छ।
पछिल्लो एक महिनामा क्युआर कोड प्रयोग गरेको भएको भुक्तानी ३७.५१ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा १ अर्ब २४ करोड ५० लाख रुपैयाको क्युआर भुक्तानी भएको थियो।
चालू आर्थिक वर्षको पहिलो महिनामा १० प्रतिशतले वृद्धि हुँदै भदौमा ६४ करोड ८० लाखको भुक्तानी भएकोमा असोज महिनामा भने झण्डै ५० प्रतिशतले वृद्धि भएको छ।
असोज महिनामा ९६ करोड ९० लाख रुपैयाँको क्युआरमा आधारित भुक्तानी भएको थियो। कात्तिक महिनामा भने यस्तो भुक्तानी ३ प्रतिशतले घटेकोमा मंसिरमा ३३.७५ प्रतिशतले वृद्धि भएको थियो।
क्युआरमा आधारित भुक्तानीको रकममा वृद्धिसँगै यसको ट्रान्जेक्सन संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। सात महिनाको अवधिमा क्युआर कोड ट्रान्ज्याक्सन (कारोबार) १ सय ७५ प्रतिशतले वृद्धि भएको छ।
साउन महिनामा १ लाख ९५ हजार ट्रान्ज्याक्सन भएकोमा माघ महिनामा आइपुग्दा ५ लाख ३५ हजार ७ सय ९० पुगेको छ। पछिल्लो समय प्रत्येक बैंकहरुले आफ्नो क्वीआरमा आधारित भुक्तानी सेवा दिइरहेका छन्।
त्यस्तैगरी, मोबाइल वालेटजस्ता भुक्तानी सेवा प्रदायकहरुले पनि क्युआर कोड प्रयोगलाई प्रवद्र्धन गर्न विभिन्न स्किमसहित सेवा दिइरहेका छन्।

प्रतिक्रिया