२०७४ कात्तिकमा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा स्मरणीय छ।
यही प्रतियोगितामा पहिलोपल्ट नेपालले विश्व क्रिकेटको पावरहाउस भारतमाथि १९ रनको जित हात पारेको थियो। अहिलेसम्म भारतका कुनैपनि टोलीमाथि नेपालले जित हात पारेको यही एक खेल हो।
भारतीय टोलीको प्रशिक्षक थिए– चर्चित खेलाडी राहुल द्रविड। द्रविडको टोलीविरुद्ध विनोद दासबाट प्रशिक्षित नेपाली खेलाडीहरुले गरेको बहादुरीपूर्ण प्रदर्शनलाई अझैपनि थुप्रै क्रिकेटप्रेमीले भुल्न सकेका छैनन्।
भारतमाथिको त्यही ऐतिहासिक जितका दर्ज गर्ने क्रममा नेपाली टोलीको ओपनिङ ब्याटिङ सम्हालेका थिए, जितेन्द्रसिंह ठकुरीले। उनले भारतीय अनुभवी बलरअघि लामो समय क्रिजमा रहँदै ९५ बल खेलेर ३६ रन जोडेका थिए। जसले नेपाली टोलीको आत्मविश्वास बढाएको थियो।
त्यस टोलीका अधिकांश युवा खेलाडीहरुले राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरी अहिले राष्ट्रिय टोलीका उपकप्तान छन्। यस्तै अनिल साह, रोहित पौडेल, भीम सार्की, पवन सर्राफ, कमल ऐरीले पनि राष्ट्रिय टोलीबाट खेलिसके।
तर, भारतीय बलरहरुका अघि खम्बा बनेर खडा भएका जितेन्द्रले भने फरक बाटो रोजेका छन्। चैत दोस्रो साता प्रकाशित नतिजाअनुसार जितेन्द्र नेपाली सेनाको सहायक सेनानी पदमा छनोट भएका छन्। यससँगै क्रिकेटको जर्सीमा देखिँदै आएका जितेन्द्रले सेनाको बर्दी लगाउने भएका छन्।
‘अब मेरो करिअर आर्मी नै हुनेछ। भोलिको दिनमा संगठनले खेल्न अनुमति दियो र अवसर दियो भने म निकै खुसी हुनेछु,’ जितेन्द्र भन्छन्।
मिस हुनेछ क्रिकेट
जितेन्द्रका मामाहरु पनि सेनामा छन्। सानोमा मामाहरुले नै सेनामा लाग्न प्रेरित गरेको र बुझ्ने भएपछि आफूलाई पनि इच्छा जागेको उनी बताउँछन्।
‘आर्मीसँग मेरो पारिवारिक अट्याचमेन्ट पनि थियो। बुझ्ने भएपछि आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा जाने सपना पनि देखेको थिए,’ उनी भन्छन्, ‘मामाहरुले आर्मीमा जानुपर्छ भनेर पहिलेदेखि नै प्रोत्साहन गर्नुहुन्थ्यो। तर क्रिकेटका कारणले अलिकति ढिला भएको हो।’
सेनाको आफ्नै क्रिकेट टोली छ। तर, जितेन्द्रले खेल्ने पाउने नपाउने निश्चित छैन। खुला छनोटबाट सेनाको यो पदमा नाम निकाल्ने उनी पहिलो क्रिकेटर पनि हुन्।
‘गत वर्षदेखि नै सेकेन्ड लेफ्टिनेन्टको तयारी गर्दै थिए। त्यसबेला पनि ब्याट छेउमा राखेर तयारी गर्थेँ,’ उनी भन्छन्, ‘अब त ट्रेनिङ फेजमा झनै कम हुने भयो। आर्मीमा रहँदा क्रिकेट धेरै मिस गर्नेछु। आफ्नो किट ब्याग धेरै मिस हुनेछ।’
तर, सेनामा क्रिकेटमा जत्तिकै रमाइलो हुनेमा उनी विश्वस्त छन्।
‘आर्मी भनेको सम्मानित संस्था हो। मेरो ट्रेनिङ अझै बाँकी छ। आर्मी भएपछि थुप्रै जिम्मेवारी आउनेछन्। म ती जिम्मेवारी वहन गर्न उत्सुक छु,’ उनले भने।
डेब्युमै उपाधि
सन् २०१४ मा मलेसियामा भएको एसीसी यू–१६ प्रिमियर लिग प्रतियोगिताबाट जितेन्द्रले उमेर समूहको राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्। सो प्रतियोगिता नेपालले जितेको थियो। फर्किंदा त्रिभुवन विमानस्थलमा किशोर टोलीको भव्य स्वागत भएको थियो।
त्यसका दुई कारण थिए। एक, त्यसअघि नेपाल दुई पटक उपाधिनजिक पुगेर पनि फाइनलमा हारेको थियो। दोस्रो, यो प्रतियोगिता जित्दै नेपालले एसीसीले आयोजना गर्ने उमेर समूहका सबै प्रतियोगिता जित्ने इतिहास रचेको थियो।
जितेन्द्र त्यसबेला जम्मा १५ वर्षका थिए। आफ्नो डेब्यु प्रतियोगितामै उपाधि उचाल्दाको सम्झना उनीसँग अझै ताजा छ।
‘खेलाडीका लागि अन्तर्राष्ट्रिय डेब्यु स्मरणीय हुन्छन्। म पहिलोपल्ट नेपालको जर्सी लगाएर खेल्दै थिएँ। नेपालका लागि केही गर्नुपर्छ भन्ने जोस थियो। हामीले त्यो प्रतियोगिता जितेर देशलाई उपाधि समेत दिन सफल भयौँ,’ उनी सम्झन्छन्।
सुर्खेत हुँदै काठमाडौँ
वीरेन्द्रनगर सुर्खेतमा जन्मिएका जितेन्द्रको मन गाउँमा साथीहरुले ब्याट किनेर ल्याएको देखेर लोभिन्थ्यो। उनी पनि साथीसँग खेल्दाखेल्दै क्रिकेटका अम्मली भइसकेका थिए।
बुबाआमाले पनि उनको क्रिकेट मोह बुझे र उनलाई क्रिकेट सिक्न मिल्ने वीरेन्द्रनगरको स्कुलमा भर्ना गरिदिए। स्कुल तहमा खेल्दै उनी उनी २०६८ सालमा राष्ट्रिय यू–१६ प्रतियोगिताका लागि छनोट भएका थिए।
क्रिकेटप्रति जितेन्द्रको लगाव देखेरै अर्को वर्षदेखि उनलाई परिवारले नै काठमाडौँमा पढ्न र क्रिकेट सिक्न पठायो।
त्यसबेला नेपाल क्रिकेट संघले कीर्तिपुरमा नेसनल क्रिकेट एकेडेमी (एनसीए) खोलेको थियो। एनसीएका प्रशिक्षक थिए विनोद दास। जो नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा यू–१९ टोलीका प्रशिक्षक पनि हुन्।
एनसीएको पहिलो ब्याचको खेलाडीका रुपमा जितेन्द्र भर्ना भएका थिए। दासको सानिध्यमा जितेन्द्रले एकवर्ष प्रशिक्षण पनि लिए। तर क्यानले व्यवस्थापन गर्न नसक्दा अर्को वर्ष एनसीए नै बन्द भयो।
सुर्खेतबाट आएर ९ कक्षादेखि उनी कीर्तिपुरको ल्याबरोटरी स्कुलमा भर्ना भएका थिए। यो स्कुल क्रिकेटका लागि प्रििद्ध छ। यसको आफ्नै क्रिकेट क्लब पनि छ। प्रशिक्षणका लागि नेट पनि छ। एनसीए बन्द भएपछि स्कुल नै उनको प्रशिक्षणको थलो बन्यो। जहाँ उनलाई प्रशिक्षक रिकेश लामाले तिखारेका थिए।
त्यहीबेला एसीसी यू–१६ प्रिमियर लिगका लागि क्यानले देशभरबाट खेलाडी छनोट गर्दै थियो। स्कुलले पनि आफ्नो क्लबबाट काठमाडौँ जिल्ला छनोटमा भाग लियो। जितेन्द्र क्लबका कप्तान थिए। टोलीले राम्रो प्रदर्शन गरेपछि जितेन्द्र काठमाडौको टोलीमा मात्र परेनन्, कप्तान नै चुनिए।
तर क्यानले पुनः राष्ट्रिय प्रतियोगिता नगरी २७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय ग¥यो। जिल्ला स्तरीय प्रतियोगितामा राम्रो छाप छाडिसकेका जितेन्द्रलाई पनि बन्द प्रशिक्षणा बोलाइयो। उनको ‘बोन टेस्ट’ गरियो। त्यसमा पनि उनी सफल भएपछि २७ खेलाडीभित्र परे।
बन्द प्रशिक्षणमा पनि अलराउन्डर प्रदर्शन गरेपछि उनी पहिलो पटक उमेर समूहको यू–१९ टोलीमा परे। उनी सहभागी टोलीले एसीसी यू–१६ प्रिमियर लिगको उपाधि नै जितेर एसीसीले आयोजना गर्ने सम्पूर्ण उमेर समूहको प्रतियोगिता जित्दै नेपालले इतिहास रच्यो।
त्यसपछि जितेन्द्रले मलेसियामा भएको एसीसी यू–१९ एसियाकप खेल्दै भारतविरुद्धको ऐतिहासिक खेल जित्न समेत महत्वपूर्ण योगदान दिएका थिए।
घरेलु क्रिकेट
जितेन्द्रले घरेलु क्रिकेटमा नियमित प्रदर्शन गर्दै आएका थिए। दुई वर्षअघि धनगढीमा भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको उपाधि उनले जितेका थिए।
त्यसअघि दुई सिजन उनले काठमाडौँ गोल्डेन्सबाट डीपीएल खेलेका थिए। जितेन्द्रले पहिलो संस्करणको पोखरा प्रिमियर लिग विराटनगर टाइटन्सबाट खेलेका थिए। दोस्रो संस्करणको प्रधानमन्त्री कप २०१८ मा उनले बागमती प्रदेशको कप्तानी समेत गरेका थिए।
तर गत वर्ष चैतदेखि भने उनी सकेन्ड लेफ्टिनेन्टको तयारीमा जुटेका थिए। त्यसपछि भने उनी मैदानमा कमै देखिए।
प्रतिक्रिया