खेल


भलिबलमा बढ्दैछ विदेशी खेलाडीको प्रभाव

भलिबलमा बढ्दैछ विदेशी खेलाडीको प्रभाव

लक्ष्मी जि.सी
चैत २९, २०७७ आइतबार ११:१५,

घरेलु फुटबलमा लामो समयदेखि र क्रिकेटमा केही वर्षयता विदेशी खेलाडीको उपस्थिति अनिवार्यजस्तै बन्दै गएको छ।

विदेशी खेलाडी भित्र्याउन ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ। तर, विदेशी खेलाडीको सहभागिताले खेलको स्तरमा भने सुधार ल्याएको छ।

नेपाल सुपर लिग (एनएसएल) अर्को महिनाबाट सुरु हुँदैछ। त्यसका लागि खेलाडीको अक्सन पनि भइसकेको छ। अब सबैको ध्यान विदेशी खेलाडीमा छ। एनएसएलमा सहभागी टोलीको ध्यान स्तरीय विदेशी खेलाडी ल्याउनमा छ। फुटबल प्रशिक्षक राजुकाजी शाक्य जुन टोलीले राम्रो विदेशी खेलाडी ल्याउन सक्छ, त्यही टोलीले उपाधि जित्ने बताउँछन्।

ए डिभिजन लिगमा विदेशी खेलाडीको उपस्थिति र प्रभावलाई हेर्ने हो भने शाक्यको भनाइमा सहमत हुन सकिन्छ। फुटबलमा मात्र होइन फ्रेन्चाइज क्रिकेट ईपीएल, डीपीएल र पीपीएलमा पनि विदेशी खेलाडीको प्रभाव राम्रो देखिन्छ। जुन टोलीमा स्तरीय विदेशी खेलाडी हुन्छन्, त्यसैले राम्रो प्रदर्शन गर्छ।

VolleyBall IndianPlayers 2

फुटबल, क्रिकेटसँगै भलिबलमा पनि विस्तारै विदेशी खेलाडीको प्रभाव देखिन थालेको छ। गत साता सम्पन्न आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपमा पुरुषतर्फ टिपपट हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेको थियो। त्यसको जितको मुख्य आधार नै विदेशी खेलाडी रहे।

तीन भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालको स्तर बाँकी ६ क्लबको भन्दा निकै माथि देखियो। त्यसो त बुलबुले रारा क्लबले पनि ३ पाकिस्तानी खेलाडीलाई टोलीमा समावेश गरेको थियो। जसका कारण टोलीलाई अर्को दाबेदारका रुपमा हेरिएको थियो। यद्यपि एपीएफसँग पराजित भएका कारण टोली फाइनल पुग्न सकेन।

घरेलु पुरुष भलिबलमा पनि विदेशी खेलाडी निर्णायक बन्ने अवस्था बन्दै गएको छ। हेल्प नेपालले लगातार पाँचौँ पटक नै लिगमा भाग लिएको छ। दुई सिजन विदेशी खेलाडीबिना उत्रेको हेल्प नेपालले त्यतिबेला सन्तोषजनक नतिजा निकाल्न सकेन। विदेशी खेलाडी समावेश गरेयता टोली तीनै पटक च्याम्पियन बनिसकेको छ।

हेल्प नेपाल विदेशी खेलाडीकै कारण च्याम्पियन बन्न सफल भएको क्लबका कप्तान अमृत केसी बताउँछन्।

‘विदेशी खेलाडीलाई देखेर नै हामीले पनि राम्रो खेल्न कोसिस गर्छौँ,’ भारतीय सेनामा आबद्ध अमृत भन्छन्, ‘उनीहरु खेल्दा हामीलाई साथ देऊ बाँकी हामी गर्छौँ भन्छन्। खेल्छन् पनि त्यसरी नै।’

VolleyBall IndianPlayers 4

अमृत आफैँ राम्रो खेलाडी मानिन्छन्।

‘तर, भारतीय खेलाडीजस्ता नेपाली खेलाडी नै छैनन्,’ उनी भन्छन्।

यसपटक फाइनलमा स्थान सुरक्षित गरिसकेको अवस्थामा एपीएफविरुद्ध खेल्दा हेल्प नेपालले ती विदेशी खेलाडीलाई आराम दियो। जुन खेलमा एपीएफले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हरायो। त्यही जितका आधारमा एपीएफ फाइनल पुग्यो। फाइनलमा भने विदेशी खेलाडीका साथमा हेल्प नेपालले एपीएफलाई ३–० ले नै हरायो र च्याम्पियन बन्यो। यसबाट पनि विदेशी खेलाडीको प्रभाव प्रष्ट हुन्छ।

यद्यपि हेल्प नेपालले फाइनलमा सहज प्रतिद्वन्द्वी पुगोस् भनेर एपीएफसँग कमजोर प्रदर्शन गरेको आरोप पनि लागेको छ। त्यो खेलमा हेल्प नेपालले मिलेर खेलेको भन्दै दर्शकले हुटिङ समेत गरेका थिए।

VolleyBall IndianPlayers 3

विनित लिगका सर्वोत्कृष्ट
हेल्प नेपालले यसपटक दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई स्वर्ण पदक जिताइसकेका खेलाडी उतारेको थियो। भारतीय टोलीका कप्तान विनित कुमारसहित रोहित कुमार र विकास कुमारलाई टोलीमा अनुबन्ध गरेको थियो। रोहित र विकास रेल्वे टिमबाट खेल्छन्। विकास पूर्व राष्ट्रिय खेलाडी हुन्।

सन् २०१६ देखि लगातार भारतीय राष्ट्रिय टोलीमा रहेका विनितले गत वर्ष भएको ओलम्पिक छनोटबाट टोलीको कप्तानी सम्हालिरहेका छन्। उनी यसपटकको लिगमा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए। विकास उत्कृष्ट सेटर बन्दा बुलबुले रारा भलिबल क्लबका पाकिस्तानी खेलाडी मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिए।

हेल्प नेपालले उपाधि उचालेपछि ३० वर्षीय विनितले लक्ष्य अनुसारकै सफलता प्राप्त गरेको बताए। उनले २०१७ मा पनि नेपालको क्लब लिगको अनुभव लिइसकेका छन्।

VolleyBall IndianPlayers 5

विनितले नेपालमा विभागीय टोली र अन्य क्लबसँग खेल्दा फरक पर्ने अनुभव सुनाए। नियमित प्रशिक्षणमा रहने विभागीय टोलीका खेलाडी भन्दा अन्य क्लबका खेलाडीहरु कमजोर देखिएको विनित बनाउँछन्।

नेपाली र भारतीय खेलाडीमा तुलना गर्दै उनले थपे, ‘त्यहाँ र यहाँको खेलाडीमा धेरै अन्तर छ। भारतमा म्याच एक्पोजर बढी छ। नेपालका क्लब र राष्ट्रिय टोलीले धेरै खेल खेल्ने हो भने अहिलेको भन्दो राम्रो गर्न सक्छन्। भारतीय क्लबका खेलाडीहरु स्तर नेपालको भन्दा धेरै माथि रहेको पाउँछु।’

१३ औँ सागमा विनित सम्मिलित टोलीले नेपाली राष्ट्रिय टोलीसँग खेलेको थियो। नेपाली टोली भारतमा प्रशिक्षणमा जाँदा पनि विनितले खेलेका थिए।

सन् २००८ बाट कलेज लेभलबाट विनितले आफ्नो खेल जीवन सुरु गरेका हुन्। उत्तर प्रदेशबाट खेलिरहेका विनितले २०१० मा पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने मौका पाए। विनितले नेपालमा भलिबल समर्थक धेरै रहेको महसुस गरेका छन्।

हरियाणाका २४ वर्षे रोहितले पनि नेपालमा आएर खेल्दा निकै राम्रो लाग्ने बताए। रोहितलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्न निकै मज्जा लागेको सुनाउँछन्।

‘बुलबुले क्लबपनि राम्रो थियो तर त्यो टोलीमा ३ जना पाकिस्तानी र ३ जना नेपाली खेलाडी हुँदा तालमेल त्यति धेरै मिलेको थिएन। नियमित प्रशिक्षणले होला आर्मीको टोली निकै सन्तुलित लाग्यो,’ उनी भन्छन्।

कोर्टमा निकै आक्रामक देखिने विकास भने लगातार ४ वर्षदेखि हेल्प नेपालबाट खेल्दै आएका छन्। विकासलाई नेपालको यहाँको माहोल र अनुशासन निकै राम्रो लाग्छ।

‘यहाँका मानिसहरुको व्यवहार निकै राम्रो छ। हामीलाई बोलाउने क्लब (हेल्प नेपाल) ले निकै राम्रो सुविधा पनि दिइरहेको छ। त्यसैले नेपालमा आएर खेलिरहन मन पर्छ,’ उनले भने।

विकासले राष्ट्रिय टोलीबाट एक वर्षमात्र खेले।

हेल्प नेपालले ३ जना विदेशी खेलाडी ल्याउन ठूलो लगानी गरेको छ। विदेशी उत्कृष्ट खेलाडी ल्याउँदा त्यसले स्वदेशी खेलाडीलाई पनि फाइदा पुग्ने बताउँछन् हेल्प नेपालका अध्यक्ष बासुदेव श्रेष्ठ।

‘दुई सिजन हामीले नेपाली खेलाडी मात्रै राखेर खेलेका थियौँ। तर विभागीय टोलीसँग राम्रो नतिजा ल्याउन नसकेपछि विदेशी खेलाडी ल्याएका हौँ,’ श्रेष्ठले भने, ‘मुख्य प्रायोजक टिपटप हामीसँग जोडिएकोले नै हामीले विनित र रोहितजस्ता खेलाडी ल्याउन सफल भएका छौँ। यसले लिगको स्तर बढ्नुका साथै नेपाली खेलाडीलाई पनि फाइदा पुग्छ भन्ने विश्वास छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .