खेल


‘म लड्दालड्दै हारेर हिँडेको हुँ’

‘म लड्दालड्दै हारेर हिँडेको हुँ’

यज्ञराज जोशी
असोज २८, २०७६ मंगलबार ५:१९,

एक वर्ष अघिसम्म पनि सुशील कँडेल नेपाली यू–१९ टोलीका स्टार खेलाडी थिए। नेपाली क्रिकेट पछ्याउने जो कोहीले सुशील कँडेललाई राम्रैसँग चिन्छन्। सन्दीप लामिछानेका सहयात्री उनले यू–१९ विश्वकप लगायत उमेर समूहका अधिकांश प्रतियोगितामा नेपालको जर्सी लगाए।

घरेलु क्रिकेटका हरेक प्रतियोगितामा उनी सदावहार उच्च लयमा हुन्थे। नेपालमै पहिलो पटक खेलाडीमाथि बोली(अक्सन) लगाउँदै आयोजना भएको धनगढी प्रिमियर लिगको पहिलो संस्करणका उनी सर्वोत्कृष्ट खेलाडी पनि बने। लगत्तै भएको एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करणमा पनि उनले सबैभन्दा बढी विकेट लिँदै आफ्नो टोली पञ्चकन्या तेजलाई च्याम्पियन बनाएका थिए।

लगत्तै उनले सन् २०१७ को अक्टोम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि सिनियर राष्ट्रिय टोलीमा समेत स्थान बनाए। तर, उनले 'डेब्यु' भने गर्न पाएनन्।

sushil kandel1सुशील कँडेल धनगढी प्रिमियर लिगका सर्वोत्कृष्ट खेलाडी हुन्

एक समय नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएका यी स्पिनर एक्कासि अघिल्लो वर्ष जापान पलायन हुँदा धेरै आश्चर्यमा परेका थिए। आखिर किन उनले करिअरको उचाइमा रहेका बेला क्रिकेट त्याग्दै विदेशिने निर्णय लिए त?

नेपालखबरसँग जापानबाट कुरा गर्दै सुशीलले भने, ‘जीवनमा कुनै पनि बेला विदेश जान्न। देशकै लागि केही गर्छु भन्ने सोचेको थिए। क्रिकेट खेलेरै देशको नाम अगाडि लैजाने सोचेको थिए। तर, खराब दिमाग भएका मान्छेहरुसँग लड्दालड्दै हारेर हिँडेको हुँ। क्रिकेटमा त राणा शासन छ। कसैको नाम लिनु राम्रो हैन। सबैलाई थाहा छ तर बोल्न कोही सक्दैनन्।’

क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट टोलीको छनोट निष्पक्ष रुपमा नहुने भएकाले त्यसको मार धेरै खेलाडीमा परेको उनी बताउँछन्।

नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)बाट निलम्बन भएपछि प्रशिक्षक, कप्तान र एक जना आइसीसीका प्रतिनिधिले टोली छनोट गर्ने गर्छन्। त्यसमा पनि कप्तान र प्रशिक्षकको भूमिका बढी हुन्छ। उनीहरुले आफू निकटका बारेमा मात्रै सोच्दा नयाँ खेलाडीहरु दुरुत्साहित हुने गरेको उनको अनुभव छ।

‘खेलाडी छनोटमा निष्पक्ष नहुने सत्य हो। पावर सबै आफ्नो हातमा लिने अनि आफू हुने समयसम्म आफ्नो तरिकाले गर्छु भन्ने वातावरण छ,’ उनले भने, ‘आफ्ना नसोची सबैका लागि खेल्ने वातावरण बनाउनुपर्छ। तर, खराब कुराका बारेमा जसले बोल्यो, त्यो टिममा नपर्ने पक्का हो। त्यसैले तैँ चुप मै चुपको अवस्था छ।’
‘मेरो मात्र हैन। धेरै खेलाडीहरु कडा मिहिनेत गर्दागर्दै पनि विभेदमा परेर विदेशिएका छन्’, उनले थपे, ‘जबसम्म आफूले कडा मिहिनेत गरेर नभई अरुको खुट्टा तानेर अघि बढ्नुपर्छ भन्ने सोच रहन्छ, तबसम्म क्रिकेटमात्रै नेपालको विकास हुन सक्दैन।’

नेपालमा खेलाडीहरु विदेशिनुको अर्को कारण खेलमा भविष्य नदेख्नु पनि हो। उनी नेपाली क्रिकेट छोडी जापान जाँदा विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी समेत थिए। विभागले उनलाई खेलेबापत पैसा पनि दिन्थ्यो। तर, विभागले उपलब्ध गराउने १५–१७ हजारले राम्रो ब्याट किन्न पनि नपुग्ने उनी बताउँछन्।

‘त्यो पैसाले कहिलेसम्म खेल्न पुग्छ। प्रायोजक नभएको खेलाडीलाई एउटा ब्याट नि किन्न नि पुग्दैन’, उनले भने, ‘खेलाडीहरुलाई पलायन हुन नदिन नेपालमा सबैले आफूले पाएको काम इमानदार भएर गरिदिए पुग्छ। कप्तान होस् या कोही मिडियामा मिठो मिठो कुरो हैन कि खेलाडीको समस्या बुझोस्।’

राम्रा खेलाडीहरु पलायन हुने सुशीलले बताएका दुई कारणहरु प्रतिनिधि उदाहरणमात्रै हुन्। जसका कारण थुप्रै खेलाडीलाई खेलबाट टाढिएका छन्। नेपाली यू–१९ टोलीमा पनि थुप्रै क्षमतावान् स्टार खेलाडीहरु जन्मिए। जसले एक समय भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र जिम्बाबे जस्ता टेस्ट टोलीहरु पराजित गर्दै सनसनी मच्चाए। तर, प्रतिभावान् स्टार खेलाडीहरु कहाँ छन्? के गरिरहेका छन्? उनीहरुको अवस्था के छ? क्रिकेट खेलिरहेका छन् कि छैनन्? कसैलाई वास्ता छैन।

sushil kandel3प्रतिभावान क्रिकेटर सुशीलले अब क्रिकेटमा नफर्किने निर्णय लिएका छन्

गत वर्ष अक्टोवरमा जापान पुगेका सुशीलले अब क्रिकेटमा नफर्किने निर्णय लिइसकेका छन्। उनी आफू क्रिकेटभित्रको राजनीतिको शिकार भएको बताउँछन्। ‘विदेशिने रहरभन्दा पनि बाध्यता हो। म क्रिकेटभित्रको राजनीति सहन नसकेर विदेशिएको हुँ’, आइटी पढ्न जापान गएका उनले भने, ‘मलाई नेपाली टिम देशको भन्दा पनि कसैको व्यक्तिगत टिम लाग्यो। म व्यक्तिको भन्दा पनि देशका लागि खेल्न चाहन्थेँ। त्यही भएर क्रिकेट नै छाड्ने निर्णयमा पुगेको हुँ।’

साढे तीन वर्ष निलम्बनमा परेपछि गत असोज ११ गते भएको क्यानको चुनावपछि नयाँ नेतृत्व आएको छ। नयाँ नेतृत्वमा चतुरबहादुर चन्द नियुक्त भएसँगै क्यानको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ। अध्यक्ष चन्दले पनि क्यान निलम्बनमा परेका बेला मनोमानी ढंगले खेलाडी छनोट गरिएको भन्दै अब मापदण्ड बनाएर अघि बढ्ने बताए।

उनले भने, ‘हामी क्रिकेटको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढ्नेछौं। विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानी ढंगले खेलाडी छनोट गरिएको छ। अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौ।’

पेस बलर हुँदै स्पिनर
सन् २०१० मा मध्यम–तीव्र गतिका बलर बन्ने उद्देश्यले सुशील चितवन क्रिकेट एकेडेमीमा भर्ना भएका थिए। तर नेपाली क्रिकेटमा भने उनले बायाँ हाते स्पिनरको भूमिका सनसनी मच्चाए।

एकेडेमीमा प्रवेश गरेको दुई वर्षसम्म पनि उनी ‘डिफेन्सिभ’ ब्याट्सम्यान र मध्यम–तीव्र गतिका बलरको रुपमा अभ्यास गर्थे। सन् २०१२ मा पहिलोपटक क्षेत्र नम्बर ८ पोखराबाट यु–१६ राष्ट्रिय प्रतियोगिता खेल्दा समेत उनी तीव्र गतिकै बलरका रुपमा काठमाडौं आएका थिए। तर त्यस भूमिमा उनको प्रदर्शन सम्झिनलायक भएन।

सोही वर्ष यु–१९ राष्ट्रिय प्रतियोगिता हुने भयो। सुशील पुनः उही भूमिकामा क्षेत्रीय टोलीमा अटाए। पहिलो खेलमा तीव्र गतिको बल फाले पनि। तर दोस्रो खेलमा पोखरालाई स्पिनरको खाँचो भयो। प्रशिक्षकले सुशीललाई पेस छाडेर स्पिन फाल्न लगाए।

त्यसअघि सुशीलले न कहिल्यै स्पिनको अभ्यास गरेका थिए, न त कुनै प्रतियोगितामा स्पिन नै फालेका थिए। ‘स्पिन फाल्नुपर्ला भन्ने मेरो दिमागमै थिएन’, उनले भने, ‘तर टिमले जिम्मेवारी दिएपछि त्यसको पालना गर्नु मेरो कर्तव्य थियो।’

sushil kadel2

पोखराको दोस्रो खेल वीरगञ्जसँग थियो। वीरगञ्जविरुद्ध स्पिनरका रुपमा उनी पहिलोपटक मैदानमा उत्रिँदै थिए। जसमा उनले एकपछि अर्को गर्दै पाँच विकेट लिए। त्यस प्रदर्शनले उनलाई यू–१९ राष्ट्रिय टोलीको क्याम्पसम्म पुर्यायो। त्यसबेला निश्चल पाण्डे, भुवन कार्की, विनोद लामाजस्ता स्पिनरहरु बन्द प्रशिक्षणमा भएका बाबजुद पनि उनले टोलीमा स्पिनरकै रुपमा स्थान बनाएका थिए।

एकेडेमीका तीव्र गतिका बलरले राष्ट्रिय प्रतियोगितामा राम्रो स्पिन फाल्नु आश्चर्यजनक थियो। प्रशिक्षक राजु खड्काले पनि आश्चर्य मान्दै उनको स्पिन हेर्न चाहे। पहिलोचोटि एकेडेमीमा स्पिन फालेका सुशीलको बलिङ हेर्दै प्रशिक्षक खड्काले ‘शक्ति गौचनको जस्तै बलिङ छ’ भनेको उनी अझै सम्झिन्छन्। त्यसपश्चात् खड्काले नियमित स्पिन फाल्न सुझाएसँगै सुशीलको ट्रयाक तीव्र गतिबाट स्पिनमा परिवर्तन भयो। 

१३ किलोमिटर यात्रा
सानो छँदा सुशील गाउँमा स्थानीय दाइहरुसँग क्रिकेट खेल्थे। त्यसबेला टेनिसको बलले रमाइलोका लागि क्रिकेट खेलिन्थ्यो। टेलिभिजनमा भारत र पाकिस्तानलगायतको म्याच हेर्न थालेपछि उनको क्रिकेटप्रतिको लगाव बढ्दै गयो।

नेपालले डिभिजन पाँच जित्दा उनी छ–सात कक्षामा पढ्दै थिए। टेलिभिजनमा विदेशी खेल हेर्दै हुर्किएका सुशीललाई त्यस बेला बल्ल नेपालले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दो रहेछ भन्ने थाहा भयो। त्यसैबेलादेखि उनले नेपाली क्रिकेट पछ्याउन थालेका हुन्।

दाइ सुजन कँडेल पनि राम्रो क्रिकेट खेल्थे। कक्षा दशमा पढ्दा दाइसँग उनी चितवन क्रिकेट एकेडेमी भर्ना हुन गएका गए। ‘एकेडेमीमा आएपछि मैले पहिलोचोटि ड्युज बलले खेल्न थालेको हुँ,’ उनले भने, ‘त्यहाँबाट मेरो क्रिकेट यात्राको थालनी भयो।'

सुशीलको घरबाट क्रिकेट एकेडेमी १३ किलोमिटरको दूरीमा थियो। सन् २०१० देखि २०१६ सम्म सुशीलले क्रिकेट अभ्यासकै लागि १३ किलोमिटर आवत र त्यति नै जावत गरी दैनिक २६ किलोमिटर लोकल बसको यात्रा गर्नुपर्थ्याे। एकेडेमीबाट फर्किंदा कहिलेकाहीँ समयमै बस पाइँदैनथ्याे। राति १० बजेसम्म पनि बस कुर्नुपरेको अनुभव उनीसँग छ।

एकेडेमी सुरु गर्दा उनी दश कक्षामा पढ्थे। एसएलसी नजिकिँदो थियो। एकातिर पढाइको तनाव थियो, अर्कातिर ४ बजे स्कुल सकेर एकेडेमी जाँदा समय अभाव हुनाले उनले अन्तिम कक्षा कहिल्यै पढ्न पाएनन्। अन्तिम कक्षाको ४५ मिनेट जोगाएर कुद्दै उनी घर पुग्थे र हतारहतार खाजा खाएर एकेडेमी हानिन्थे।

‘एसएलसीका बेला समय मिलाउन निकै गाह्रो भयो’, संघर्षका दिन सम्झिँदै सुशील भन्छन्, ‘प्लस टु मा बिहान कलेज लाग्ने भएपछि केही सहज हुन थाल्यो। हतारो अलि कम भयो।’ 

घाँटीमा चकलेट अड्किँदा पहिलो अन्तर्राष्ट्रिय खेल गुम्यो
२०१२ मा पहिलोचोटि क्याम्पमा परे पनि राष्ट्रिय टोलीमा अटाउन असफल सुशीलले चितवन फर्की दुई वर्ष कडा मिहिनेत गरे। फलस्वरुप सन् २०१४ मा भएको यु–१९ एसियाकप खेल्ने राष्ट्रिय टोलीमा उनले स्थान बनाए।

पहिलोचोटि राष्ट्रिय टोलीमा पर्दा खुसी लाग्नु स्वाभाविक नै हो। खुसीमै एक चकलेट पनि खाए। दुर्भाग्यवश त्यो चकलेट घाँटीमा अड्कियो। घाँटीमा अड्किँदा श्वास नै फेर्न गाह्रो भएपछि हातले घाँटीमा हान्दै चकलेट त निकालियो तर त्यसक्रममा उनको घाँटीमा चोट लाग्यो।

चिकित्सकको सल्लाहअनुसार उनले दुई महिना आराम गर्नुपर्ने भयो। अर्थात् पहिलोचोटि स्थान बनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता उनले गुमाउने भए। ‘पहिलो अन्तर्राष्ट्रिय खेल गुमाउँदा दुःख त लाग्यो तर जे हुन्छ राम्रैको लागि हुन्छ भनेर चित्त बुझाएँ’, उनले भने।

२०१४ को अन्त्यमा कुवेतमा हुने यु–१९ एसिसी एलिट कपका लागि उनी पुनः राष्ट्रिय टोलीमा परे। अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्दै उनले प्रतियोगितामा खेलेका पाँच खेलमा आठ विकेट लिए। अफगानिस्तान विजेता बनेको त्यस प्रतियोगितामा नेपालले उपविजेतामा चित्त बुझाउनुपर्यो। त्यसपश्चात् उनले २०१५ को एसीसी प्रिमियर पनि खेले।

खेल जीवनमा सुशीलको स्मरणीय क्षण भनेको २०१५ मा यु–१९ विश्वकपमा छनोट हुदाँको हो। ‘विश्वकपमा छनोट हुदाँ छुट्टै आनन्द आउँदो रहेछ,’ उनी भन्छन्, ‘ती खेलहरु अझै पनि मस्तिष्कमा घुमिरहन्छन्। त्यसपश्चात् हामीले २०१६ को यु–१९ विश्वकप खेलेका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad