कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आइतबार भएको खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएपछि जर्मनीको माथिल्लो चरणमा पुग्ने सम्भावना अझै पनि कायम छ। तर, उसलाई माथिल्लो चरणको यात्रा त्यति सजिलो भने छैन। जर्मनीले अहिलेसम्म दुई खेलबाट १ अंक मात्र हात पारेको छ।
यस्तोमा उसले अन्तिम खेलमा कोस्टारिकालाई हराएर मात्र पुग्ने छैन। माथिल्लो चरणमा प्रवेशका लागि उसले जापान र स्पेनबीचको खेलको नतिजालाई पनि कुर्नुपर्ने हुन्छ।
जापान र स्पेनबीचको खेलमा जापानले जित हात पारे जर्मनीको लागि निकै ठूलो अन्तरले कोस्टारिकामाथि जित हात पार्नुपर्ने हुन्छ।
यी दुई टोलीको खेल बराबरीमा सकिएको अवस्थामा जर्मनीलाई कम्तीमा २ गोल अन्तरको जित आवश्यक हुन्छ। जापानको हारमा भने जर्मनीलाई आफ्नो जित मात्र पनि माथिल्लो चरणमा प्रवेशको लागि पर्याप्त हुनेछ।
समूह ईका चारवटै टोलीको माथिल्लो चरणमा पुग्ने सम्भावना कायम छ।
समूहको अन्तिम खेलमा स्पेनले जापानलाई हराएको र कोस्टारिकाले जर्मनीलाई कम्तीमा बराबरीमा रोक्न सकेको खण्डमा कोस्टारिका माथिल्लो चरणमा जान सक्छ।
प्रतिक्रिया