खेल


पहिलोपटक विश्वकपमा ब्राजिललाई हराउने ‘अफ्रिकी नायक’

पहिलोपटक विश्वकपमा ब्राजिललाई हराउने ‘अफ्रिकी नायक’

नेपालखबर
मंसिर १७, २०७९ शनिबार २३:२८, काठमाडौँ

शुक्रबार समूह जीको खेलमा क्यामरुनले ब्राजिललाई १–० गोलले पराजित गर्‍यो। समूहचरणबाटै बाहिरिए पनि क्यानरुनको लागि यो खेल अविस्मरणीय रह्यो। किनकी क्यामरुन मात्र होइन, कुनै पनि अफ्रिकी मुलुकले ब्राजिललाई विश्वकपमा हराएको यो पहिलोपटक थियो। शुक्रबारको यो खेलका नायक थिए– क्यामरुनका स्ट्राइकर भिन्सेन्ट अबोउबाकर। 

ब्राजिलविरुद्ध गोल गरेपछि उनले आफ्नो जर्सी फुकाल्दै खुसीयाली मनाएका थिए। यसअघि नै एउटा पहेँलो कार्ड पाइसकेका उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे। यद्यपि उनको चर्चा भने अहिले चुलिएको छ। 

‘म धेरै नै खुसी भएकाले भावुक भएको थिएँ किनकी यो मेरो सधैंको सपना थियो’, ३० वर्षीय उनले भने, ‘ब्राजिलविरुद्ध गोल गर्नु निकै ठूलो कुरा हो। यो अविस्मरणीय छ र म यो सधैं सम्झिरहनेछु।’

अबोउबाकरको गोलले क्यामरुन सन् १९९८ पछि ब्राजिललाई समूह चरणमा पराजित गर्ने पहिलो टोलीसमेत बन्यो। सन् १९९८ को समूहचरणमा ब्राजिल नर्वेसँग पराजित भएको थियो। 

अबोउबाकरको गोलले क्यामरुनले समूह चरणमा महत्वपूर्ण तीन अंक पनि हात पार्‍यो। यसअघि सोमबार भएको खेलमा सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले विश्वकपमा लगातार आठ खेलमा हारको श्रृङ्खला पनि तोडेको थियो। क्यामरुनले सन् २००२ को विश्वकपमा साउदी अरेबियालाई हराएयता विश्वकपमा कुनै पनि खेल जित्न सकेको थिएन। 

को हुन् अबोउबाकर?

क्यामरुनको राजधानी सहर याओउन्डेबाट नौ सय किलोमिटर टाढा रहेको गारोउनामा जन्मिएका अबुबाकरले स्थानीय क्लब कोटोन स्पोर्टसबाट आफ्नो व्यावसायिक फुटबल करियर सुरु गरेका थिए। सन् २०१० को विश्वकपमा क्यामरुनको तर्फबाट विश्वकपमा छानिने उनी एकमात्र घरेलु लिग खेल्ने खेलाडी थिए। उनले यो विश्वकपको समूह चरणका कुनै पनि खेलमा मौका नपाए पनि उनको घरेलु लिगको प्रदर्शनबाट प्रभावित भएर फ्रान्सेली क्लब भ्यालेन्सिनेसले उनलाई सोही वर्ष अनुबन्धन गरेको थियो। 

त्यसपछिको तीन सिजनमा खासै प्रभाव जमाउन नसकेका उनले सन् २०१३ मा लोरियन्ट गएका थिए। जहाँ उनले ३७ खेलबाट १७ गोल गरेका थिए। प्रिमियर लिगमा जाने इच्छा भएका उनलाई सन् २०१४ मा पोर्चुगलको टोली पोर्टोले अनुबन्धन गरेको थियो। ६ वर्ष यो क्लबमा रहेका उनले क्लबको लागि ५८ गोल गरेका थिए। यो क्रममा उनले क्लबलाई दुई उपाधि पनि जिताएका थिए। यद्यपि चोटको कारण उनले केही समयमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् तर लोनमा टर्कीको क्लब बेसिक्टासमा गएर उनले पुनः आफूलाई साबित गरेका थिए। 
सन् २०२० मा उनी पोर्टोसँगको सम्झौता रद्द गरी बेसिक्टासमा गएका थिए। उनले टोलीलाई घरेलु लिगको ट्रफी पनि जताएका थिए। सन् २०२१ को जुलाईमा उनी यो टाली छाडेर  साउदी अरेबियाको अल नासरमा आबद्ध भएका थिए। 

अबोउबारकले कतारमा गरेको प्रदर्शनसँगै उनले घरेलु भूमिमा क्यामरुनलाई अफ्रिका कप अफ नेसन्स (अफकोन)को उपाधि जिताउँदै सुरु गरेको गोल गोल गर्ने चक्र पूरा भएको छ। सन् २०१७ को अफकोनको फाइनलमा उनले इजिप्टविरुद्ध दोस्रो गोल गर्दै क्यामरुनलाई २–१ गोलको जित दिलाएका थिए। यो क्यामरुनको लागि पाँचौं महादेशीय उपाधि थियो। 

यस वर्षको अफकोन प्रतियोगितामा उनले ८ गोल गरेका थिए। अफकोनमा कुनै खेलाडीको लागि यो सन् १९९८ यताकै उत्कृष्ट प्रदर्शन थियो। अबोउबाकरलाई सन् १९९० को विश्वकप स्टार रोजर मिल्लाले उत्कृष्ट अफ्रिकी खेलाडीमध्येका एक बनेको उल्लेख गरेका छन्। 
मिल्लाले भनेका छन्, ‘अबोउबाकर महान अफ्रिकी फुटबलरमध्येका एक हुन सक्छन्। क्यामरुनका लागि गोल गर्नु र खेल जिताउनु त्यतिबेला मात्र सम्भव छ जतिबेल स्वस्थ अबोउबाकर खेलिरहेका हुन्छन्।’ 

अबोउबाकर कहिलेकाहीँ आफ्नै वक्तव्यको कारण विवादमा पनि आउने गरेका छन्। उनले यसअघि इजिप्टका मोहम्मद सलाह फ्रान्सका स्ट्राइकर किलियान एमबाप्पेको स्तरको नरहेको टिप्पणी गरेका थिए। सोही  टिप्पणीको कारण आलोचनाको शिकार बनेका उनले कतार विश्वकप सुरु हुनुभन्दा दुई साताअघि मात्र पनि उनले सलाह र आफूमा कुनै भिन्नता नरहेको तर आफूलाई ठूला क्लबले अवसर नदिएकाले उनी राम्रो देखिएको उल्लेख गरेका थिए। अलजाजिराबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .