प्रदेश


२१ तस्बिरमा इलामको श्रीअन्तु मुस्कुराहट

२१ तस्बिरमा इलामको श्रीअन्तु मुस्कुराहट

सुमन सुस्केरा
भदौ ११, २०८२ बुधबार १०:४९, विराटनगर

भदौरे झरीको चिस्यान हावामा घुलिरहेको थियो। इलामका चियाबारीमा फुसफुसे झरी बिहानी शीतझैँ खसिरहेको देखिन्थ्यो। साँझ ढल्दै जाँदा श्रीअन्तुमा भने अर्कै संसार देखियो। बस्तीमाथि तैरिएको हल्का हुस्सु, टाढैबाट देखिन्थ्यो। पानी परेर चर्किएको झिँगुरको आवाज र घाम हराइसके पनि अजम्बरी उज्यालो फ्याँकिरहेका बिजुली बत्ती।

भारतका बङ्गाल, कोलकाता, बिहारतिरबाट आएका पर्यटक बिस्तारै होमस्टे तथा होटलका आँगनमा भेला हुँदै थिए। कसैले चिया टिपाइको, कसैले अन्तुका अन्तरकथा  सुनाइरहेका थिए। कसैले यहाँबाट देखिने टाढाको हिमालको कथा खोजिरहेका थिए। स्थानीय धनकुमार आले यहाँको स्याल वाइनबारे भन्दै थिए, ‘यो हाम्रो पहाडको स्वाद हो, ओरिजिनल छ।’

श्रीअन्तुमा एक किसिमको आनन्द छ। पानी परेको बेलामा पनि यसलाई यहाँको सुन्दरतासँग लिइन्छ। रात पर्नासाथ मुस्लो बनेर झरिरहेको कुहिरो र अन्तु डाँडाबाट बतासिँदै आएको हावाले जोकोहीलाई भित्रभित्रै शीतलता प्रदान गर्छ।

यसको साँचो रूप त अझ बिहान खुल्छ। अघिल्लो रात बिरामीझैँ अल्छी परेको आकाश बिहान सबेरै सुनौलो भएर सजिन्छ। समुद्र सतहबाट २ हजार ३२८ मिटर उचाइमा रहेको अन्तुडाँडामा उभिँदा, मौसम खुलेको बेलामा टाढाबाटै मकालु, कञ्चनजङ्घाजस्ता हिमशृङ्खलाले सूर्यको पहिलो किरणमा सुनौला मुकुट भिरेका देखिन्छन्।

सूर्यको पहिलो किरणले हिमालको चुलीलाई छोएर सुनौलो बनाउँछ अनि तलका चियाबारीमा चम्किन्छ। मानौँ, बिहानले यहाँ सबैलाई नयाँ आशा बाँडिरहेको छ। त्यस क्षणमा मानिसहरू फोटो खिच्छन्, तर दृश्यले फोटोभन्दा बढी सम्झना खिच्छ।

श्रीअन्तु हिउँदमा हिमाल हेर्नेहरूका लागि, वर्षामा कुहिरो र हरियाली खोज्नेहरूका लागि, वसन्तमा फूल र गर्मीमा चियाबारीको चहलपहल चाहनेहरूका लागि खुला आँगन हो। जसरी बिहानको घामले हिमाललाई सुनौलो बनाउँछ, त्यसरी नै श्रीअन्तु जोकोहीलाई उज्यालो सम्झनाले भरिदिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad