किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहारलाई बढावा दिन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले एउटा पहल सुरु गर्ने भएको छ। बढ्दो असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन र यौन रोगको प्रकोपलाई सम्बोधन गर्न मन्त्रालयले नमूनाका रूपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने योजना अघि सारेको हो।
यो कार्यक्रम स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयन हुनेछ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आइतबार सञ्चारकर्मीलाई जानकारी दिँदै किशोर किशोरीको प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यका साथ यो पार्क सञ्चालन गर्न लागिएको बताए। असुरक्षित यौन व्यवहारबाट उत्पन्न चुनौतीहरूलाई मध्यनजर गर्दै सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको टड्कारो आवश्यकता भएको महसुस गरी डिजिटल पार्कको अवधारणा ल्याइएको उनले बताए।
मन्त्री थापाले यस पार्कमा किशोर किशोरीको शारीरिक विकास, यौनिकतामा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाहका दुष्परिणाम, जबरजस्ती करणी, सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू र यौन दुर्व्यवहार जस्ता महत्त्वपूर्ण विषयहरूमा विशेष सामग्री उपलब्ध हुने बताए।
डिजिटल पार्कमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पडकास्टहरू निर्माण गरिनेछ। ती सामाग्री किशोर किशोरी जम्मा हुने पार्कहरूमा डिजिटल बोर्डमार्फत् प्रसारण गरिनेछ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो कार्यक्रम किशोर किशोरीको शारीरिक र मानसिक विकासलाई टेवा दिने र उनीहरूलाई उचित परामर्श तथा सन्देश प्रवाह गर्ने गरी देशभरमै पहिलो पटक मन्त्रालयले ल्याएको जानकारी दिइन्।
कसरी सञ्चालन हुन्छ पार्क?
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको मातहतमा सञ्चालन हुने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरेको छ। निर्देशनालयका निर्देशक डा.नरेन्द्र झाका अनुसार कार्यक्रम स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयन हुनेछ।
कार्यक्रम लागू हुने पार्कहरूमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीमा सहज पहुँच हुने 'एडल्सेन्ट हेल्थ रूम', डिजिटल डिस्प्ले, पोस्टर डिस्प्ले वाल, र अन्य आवश्यक संरचनाहरू निर्माण गरिनेछ। यसका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स, सन्देशमूलक वृत्तचित्रहरू र छोटा भिडियोहरू विकास गरी प्रसारण गरिनेछन्।
प्रविधिको अधिकतम प्रयोगका लागि स्मार्ट टिभी, स्क्रिन, इन्टरनेट सेवा, र प्रतिक्रियाका लागि क्यूआर कोड सिस्टमको व्यवस्था गरिनेछ। निर्देशक झाले किशोर किशोरीको अत्यधिक जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता स्थानहरूलाई प्राथमिकतामा राखिने र कार्यक्रम हेटौंडा वा काठमाडौँको कुनै एक पालिकामा सञ्चालन गर्ने गरी छनोट भइरहेको जानकारी दिए।
Shares

प्रतिक्रिया