नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बसेको पार्टी बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।
माओवादी सांसद ओम विक्रम भाटका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय भएको हो।
आज (आइतबार) मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको सुदूरपश्चिम माओवादीभित्र विश्वासको मतबारे दुई धार देखिएको थियो। त्यसपछि प्रचण्डले कांग्रेसलाई सहयोग गरेर विश्वासको मत दिन टेलिफोनमार्फत निर्देशन दिएका थिए।
सुदूरपश्चिम प्रदेश सभाको ठूलो दलको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए। २७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए।
शाहले एक महिनाभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका छन्।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन्।
प्रतिक्रिया