ad ad

सुदूरपश्चिम


ऋण तिर्न अर्को ऋण काढेर रुसी सेनामा पुगेका नागाल जब नफर्किने खबर आयो

सशस्त्रको जागिर छाडेर दुबई गए, थप कमाइको लोभमा रुसी सेनामा
ऋण तिर्न अर्को ऋण काढेर रुसी सेनामा पुगेका नागाल जब नफर्किने खबर आयो

रुसी सेनाको पोसाकमा कुन्दनसिंह नागाल


गोकुल जोशी
पुस ७, २०८० शनिबार १२:१३, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका-२, महुलियामा तीनकोठे पक्की घर निर्माणाधीन अवस्थामा छ। छत र बाहिर-भित्र प्लास्टर पूरा भइसकेको छ। भदौतिर जग हालिएको घर लगभग तयार भइसकेको छ।

त्यो घर दार्चुलाको महाकाली नगरपालिका–२, पन्डोराका ३२ वर्षीय कुन्दनसिंह नागालको हो। महुलियामा जेनतेन जोडेको थोरै जमिनमा बनेको घरमा अब नागाल भने कहिल्यै फर्किने छैनन्। 

किनकि, रुसी सेनामा कार्यरत उनी हालै युक्रेनसँगको भिडन्तमा मारिए। 

नेपालमा सशस्त्र प्रहरीकाे सहायक हवल्दार पदमा कार्यरत नागालले करिब ५ वर्षअघि मात्र जागिर छाडेका थिए। १२ वर्षसम्म सशस्त्रमा रहेका उनी घरपरिवारको खर्च चलाउनै गाह्रो पर्न थालेको भन्दै विदेश जाने निधोमा पुगे। र, छोराछोरीको उज्ज्वल भविष्यको पनि सपना बोकेर उनी संयुक्त अरब इमिरेट्सको दुबई लागे। 

त्यहाँ उनले सेनामा जागिर पाए। मासिक ८० देखि ८५ हजार रुपैयाँसम्म तलब पाउँथे। करिब अढाई वर्षपछि उनी घर फर्किए। त्यसपछि कुन्दन दार्चुलाबाट परिवार लिएर तराई झरे। 

कञ्चनपुरको महेन्द्रनगरमा कोठा भाडामा लिएर बस्न थाले। कुनै रोजगारी नभएपछि उनलाई फेरि परिवारको खर्च जुटाउनै गाह्रो हुन थाल्यो।त्यसपछि उनले रुस जाने योजना बनाए। 

‘स्वदेशमा केही सीप नचलेपछि विदेश जान बाध्य हुनुभयो। महिनाको ४/५ लाख आउँछ, घरपरिवारको अवस्था उकासिन्छ, ऋण पनि तिरिन्छ भन्ने ठूलो सपना बोकेर जानुभएको थियो’,  कुन्दनका भाइ दीपकसिंह भन्छन्, ‘ऋण तिर्न अर्को ऋण काढेर गएका दाइ एक्कासि परदेशमै मारिएको दुःखद खबर सुनियो।’

कुन्दन कात्तिक पहिलो साता दसैँको मुखमै रुस प्रस्थान गरेका थिए। सुरुवाती दिनमा घरपरिवारसँग उनको कुराकानी भइरहन्थ्यो। तर गएको तिहारको दीपावलीपछि भने उनी एकाएक सम्पर्कविहीन भए। 

‘रेडजोनमा जाँदै छु। त्यहाँ मोबाइल प्रयोग गर्न दिँदैन। सायद सम्पर्क हुँदैन। घरतिर बालबच्चाको राम्रोसँग हेरविचार गर्नू’, कुन्दनले श्रीमती पशुपतिलाई भनेका थिए। यही सन्देश अन्तिम बनेको भाइ दीपक बताउँछन्। उनी भन्छन्, ‘त्यसपछि सम्पर्क नै भएन।’

कुन्दनसँग सम्पर्क टुटेपछि परिवार चिन्तित भयो। उनको फोनको पर्खाइमा बेचैन बन्यो। बेलाबेला सुनिने रुसमा नेपाली मारिएका समाचारले नागाल परिवारको मन पोल्न थाल्यो। 

सम्पर्क टुटेको करिब एक महिनापछि गत मंसिर ४ मा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नागाल पनि मारिएको जानकारी गरायो। राहदानी नम्बर ०९४७३६३२ ले मृतक कुन्दनसिंह नागाल दार्चुलाकै भएको पुष्टि भयो। 

दुःखद् सन्देश बोकेको परराष्ट्रको त्यो विज्ञप्तिपछि दार्चुलाको नागाल परिवारमा ठूलो बज्रपात पर्‍यो। ठूलो सपना बोकेर परदेशिएको सन्तान गुमाएपछि परिवारमा सन्नाटा छाएको छ। 

कुन्दनको घरमा वृद्ध आमा-बुवा छन्। रोजगारीकै लागि केही महिनाअघि मात्र भारत पुगेका दाइ ललित भाइ मारिएको खबरपछि घर फर्किंदैछन्। 

कुन्दनका १४ वर्ष र ८ वर्षका दुई छोरा छन्। दाइ ललितका ९ वर्षीय छोरालाई पनि कुन्दनले नै पढाइरहेका थिए। कुन्दनका श्रीमती पशुपति र ३ छोरा महेन्द्रनगरको भाँसीमा भाडाको कोठामा बस्छन्। 

विदेशी भूमिमा कुन्दन अस्ताएपछि ससाना छोरा टुहुरा बनेका छन्। जेठा छोरा जनज्योति बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्छन् भने अर्का कक्षा २ मा। 

परिवारको आशाको त्यान्द्रो चुँडिएपछि नागाल परिवारको बिचल्ली भएको छ।

‘७ वर्षअघि जेठो दाइको भाउजू बित्नुभयो। त्यसपछि भतिजलाई पनि कुन्दन दाइले नै पढाइरहनुभएको थियो’, दीपक सुनाउँछन्, ‘उहाँ (कुन्दन) परिवारको खम्बा हुनुहुन्थ्यो। उहाँमाथि नै यस्तो घटना भयो।’

वृद्ध आमा-बुवा र श्रीमती सम्हालिन सकेका छैनन्। शव आउने/नआउने टुंगो नलागेपछि शुक्रबार परिवारले कुन्दनको तस्बिर राखेर दार्चुलाको महाकाली नदीमा अन्तिम संस्कार गरेको छ।

‘पहाडमा थोरै जमिन छ। दुई/तीन महिना मात्रै खान पुग्ने अन्न उब्जिन्छ। बाँकी महिना किनेर खानुपर्छ’, उनले भने, ‘विदेश जाँदा र घर बनाउने बेलाको ऋण छ। छोराहरुको बिचल्ली छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .