सेता लुगा रंगिएका छन्। झुण्डझुण्डमा मानिस भेला भएका छन्। कतै युवा त कतै ज्येष्ठ नागरिक। जो झुमिरहेका छन्- होली गीतको नयाँ भाकामा। होली खेल्नेमाझ यो भाका लोकप्रिय बनेको छ।
त्यो हो- गायक नवराज कलौनीको होली गीत ‘कान्छो देवर’।
कलौनीले देवर-भाउजूको भावनात्मक र रमाइलो सम्बन्ध गीतमा चित्रण गरेका छन्। विदेशमा रहेको देवरले होलीमा घर आउँदा ल्याएकोे कोसेलीको सन्दर्भ यसमा छ।
कसैलाई टिकी, कसैलाई बिन्दी
तोखीलाई लाली ल्याइरैछ, तेरो कान्छो देवर घर आइरैछ
आफ्नै युट्युब च्यानलबाट एक साताअघि सार्वजनिक उक्त गीतको म्युजिक भिडिओ यो सामग्री तयार पार्दासम्म १ लाख ८२ हजारभन्दा बढी पटक हेरिएको छ।
सुदूरपश्चिम भाकामा तयार पारिएको यो गीतका टुक्कामा अहिले टिकटक, रिल्स बनिरहेका छन्।
गीतमा नवराज कलौनीको स्वर छ। यो गीतमा नवीन धामी र कलौनीको शब्द छ। कलौनीमा स्वरमा पुष्पा बोहरा, चन्द्रदेव भट्ट, अनिरुद्र कलौनी र कमला भट्टले पनि साथ दिएका छन्।
कञ्चनपुरको वेदकोट नगरपालिका-८ का कलौनी पढाइको सिलसिलामा अहिले अस्ट्रेलियामा छन्।
विदेशमा हुँदा पनि उनले डोटेली गीत-संगीत र आफ्नो गायन यात्रालाई निरन्तरता दिएका छन्।
‘कान्छो देवर’ गीत पनि उनले अस्ट्रेलियाबाटै रेकर्ड गरेर सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिमको पहाडी समुदायबीच चलनचल्तीमा रहेको भाका टिपेर मौलिक शब्दमा बनेकाले गीत आधुनिक परिवेशमा पनि रुचाइको कलौनी बताउँछन्।
‘हाम्रोतिर देवर विदेशतिर हुने र फर्किने बेला चाहिने सामान माया प्रेम, सद्भावले ल्याउने प्रचलन छ। धेरै हाँसीमजाक पनि भाउजूसँग हुन्छ, त्यही सन्दर्भलाई चलनचल्तीको भाकामा मिसाएर होली गीत ल्याएका हौँ,’ उनले भने।
मौलिक सिर्जना भएकाले दर्शकले अपनत्वका साथ रुचाइरहेको कलौनी बताउँछन्। उनी भन्छन्, ‘मौलिक सिर्जनालाई देखाएको अपनत्व हो, आत्मीयता हो। यो माया मेरा लागि अक्सिजनजस्तै छ।’
सुदूरपश्चिमका मौलिक भाका टिपेर युवा पिँढीले रुचाउने सिर्जना गर्ने सर्जकको छवि कलौनीले बनाएका छन्।
कलौनी सुदूरपश्चिमको भाषा देशभर चिनाउन तल्लीन छन्। ५ वर्षअघि डोटेली भाषामा ‘जौ पात’ र ‘बेहुलो सिपाही’ गीतले उनको चर्चा चुलिएको थियो।
सुदूरपश्चिमको मौलिक भाकाका साथै कलौनीले थुप्रै आधुनिक गीत पनि गाएका छन्। उनको ‘घुम्तीमा रेल’ बोलको गीत दर्शकमाझ प्रख्यात् छ।
गीतको भिडिओ-
Shares

प्रतिक्रिया