बालकदेखि युवासम्म। मलिन अनुहार। कञ्चनपुरस्थित पश्चिमी सीमानाका गड्डाचौकीबाट उनीहरू स्वदेश छिरिरहेका छन्।
अरू बेला भारतबाट यसरी नेपाल फर्किने धेरैजसोले केही न केही सामान बोकेका हुन्थे। तर उनीहरूका हात रित्ता थिए।
अघिल्तिर भारतीय सुरक्षाकर्मी छन्। लामबद्ध नेपालीहरू तिनै भारतीय सुरक्षाकर्मीका पछिपछि लागेर नेपालतर्फ अघि बढिरहेका छन्।
जब गड्डाचौकी नाकाको ७ नम्बर पिल्लर नेपाली भूमिमा पाइला टेक्छन्, उनीहरूको अनुहारको चमक बेग्लै हुन्छ।
उनीहरू थिए- भारत उत्तराखण्डको रुद्रपुर र काशीपुरमा बन्धक बनाइएका नेपालीहरू।

उद्धार गरिएकामध्ये रुद्रपुरबाट २२ र काशीपुरबाट ३५ जना थिए। त्यही हुलमा थिए- कैलालीका १३ वर्षीय मीनबहादुर विक पनि।
उनको घरमा आमाबुवा र दिदी छन्। आमा-बुवा बिरामी छन्, कमाउन सक्ने कोही छैनन्।
घरको त्यही नाजुक अवस्था सुधार्ने सपनाले मीनबहादुर डेढ महिनाअघि मात्र उत्तराखण्ड पुगेका थिए। तर रोजगारी पाउन त कता हो कता, उनलाई त्यहाँ बन्धक पो बनाइयो।
‘सुरुवातमा १८ हजार तलब पाइन्छ भन्यो, त्यसका लागि २३ हजार जम्मा गर्नुपर्ने अनि त्यसपछि काम पाइने भनियो,’ उनी भन्छन्, ‘घर धितो राखेर ऋण काढेको पैसा उनीहरूलाई बुझाएँ। तर तलब पाउनु त परेको कुरा, आफ्नै भएको पनि डुब्यो। बन्धक बन्नपर्यो। अब घर सबै जाने भइहाल्यो।’
कैलालीकै बर्दगोरियाका डबल राना ८ महिनाअघि भारतको उत्तराखण्ड पुगे। गाउँकै मान्छेले उनलाई सजिलो काम, गतिलो आम्दानी हुने आश्वासन दिएर त्यहाँ पठाएका थिए। त्यही लोभमा परेर उनी उत्तराखण्ड गए।
‘महिनाको १८ हजार भारु कमाइ हुन्छ भन्यो। गाउँमा बेरोजगार भएकाले म पनि गइहालेँ,’ उनले भने, ‘काममा नलगाईकनै सुरुमा १८ हजार भारु जम्मा गर्न लगाइयो।’
उनका अनुसार सुरुमा १० दिनको तालिम पनि दिइयो। तालिमपछि काममा लगाउने र मासिक तलब दिने आश्वासन दिइयो। तर ८ महिना बितिसक्दा पनि तलब पाइएन। घर फर्किन खोज्दा पनि दिइएन।
कि तलब दिनुपर्यो कि घर जान पाउनुपर्यो भन्दा कुटाइ खानुपरेको उनले सुनाए।
‘तालिममा लोभ देखाइयो। बिजनेज गर्नुपर्छ, अरू मान्छेलाई पनि बोलाउनुपर्छ। त्यसबाट पनि तिमीहरूलाई पैसा आउँछ भनेर लोभ देखाउँथे,’ डबल भन्छन्, ‘बिहान ४ बजेदेखि नै काममा लगाउँथे। न पैसा दिन्थे न बाहिरतिर जान। एक पैसा पनि आएन। पैसा माग्यो भने पिट्थे।’
इलामका सौगातलाई ०८० फागुनमा रोजगारीका लागि भारत बोलाइयो। कम्प्युटरमा डाटा इन्ट्री र प्याकेजिङको काम भनेर आफ्नै काकाले बोलाएपछि उनी त्यहाँ पुगे।
तर जब उनी उत्तराखण्ड पुगे तब छाँगाबाट खसेजस्तै भए। उनका काकासँग फोन रहेनछ।
‘अर्कैले आईडी खोलेर बोलाएको रहेछ, त्यहाँ गएर थाहा पाएँ। तालिम चल्छ भनेर मलाई काकासँग भेट्न दिइएन। मसँग ५० हजार भारु पनि मागे,’ सौगात भन्छन्, ‘तालिम सकेपछि २/३ सय जना मानिसको लिस्ट बनाउन भनियो। त्यहाँ सबै डिटेल लेख्नुपर्थ्यो।’
उनका अनुसार समयमा खाना नपाउने, पाए पनि फोहोर खाना खानुपर्ने बाध्यता थियो।
पोखराका विशाल बुढाथोकी धरानको चिनजानको मान्छेको सहायताले उत्तराखण्ड पुगे।
‘चिनजानको मान्छेको मोबाइलबाट वीरेन्द्र शाहीले महिना पटकपटक फोन गर्थ्यो। उ त्यहाँको ओनर रहेछ,’ बुढाथोकी भन्छन्, ‘पहिलोपटक २३ हजार भारु तिर्नुपर्छ। पछि महिनाकै राम्रो कमाइ हुन्छ। खाना-मासु सबै दिन्छ भनेर त्यसले दिनरात फोन गर्थ्यो।’
उनका अनुसार भित्रबाट बाहिर निस्किन पाइँदैनथ्यो। फोन गर्नसमेत नपाइएको उनी बताउँछन्। बुढाथोकी २ महिना बन्धक बनेपछि घर फर्कन पाएका हुन्।
ताप्लेजुङका २० वर्षीय एक युवक पनि साथीको सहायताले रुद्रपुर पुगेका थिए। त्यसअघि उनी भारतको उडिसामा काम गर्थे। १५/१६ हजार कमाउँदैनथे।
‘साथीले महिनाको २३/२४ हजार हुन्छ, यता आइजा भन्यो। प्याकेजिङको काम गर्नुपर्ने, सजिलो छ भनेपछि कमाइ पनि धेरै हुने भएपछि उत्तराखण्डको रुद्रपुरमा आएँ,’ उनले भने।
उनका अनुसार चाहेको बेला फोन गर्न पाइँदैनथ्यो। फोन गर्न दिए पनि उनीहरूका मान्छे सँगै हुन्थे।
‘बाहिरतिर कहिलेकाही जाँदा उनीहरूकै मान्छेको निगरानीमा जानुपर्थ्यो। एक्लै जान पाइँदैनथ्यो,’ ती युवक भन्छन्, ‘भाग्ने स्थिति पनि थिएन। न तलब। घर जाने भन्दा पनि पिट्थे।’
उनलाई अब घर फर्किन पाइएलाजस्तो लागेकै थिएन।
‘आफ्नो देश पुगिएलाजस्तो लागेको थिएन। अहिले नेपाली भूमि टेक्न पाउँदा सपनाझैँ लागेको छ,’ उनले भने।
बन्धक बनाइएका उनीहरूको उद्धार नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘केआईएन किन इन्डिया’को संयुक्त प्रयासमा गरिएको हो।
उद्धारपछि बुधबार गड्डाचौकी नाका हुँदै भित्रिएका उनीहरूलाई सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विक र कञ्चनपुरका सीडीओ लक्ष्मण ढकालले स्वागत गरे।
उद्धार गरिएका ५७ जनामा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम र उदयपुरका ४/४, दाङ, स्याङ्जा र बाँकेका ३/३, डोटी, ताप्लेजुङ, र धादिङका २/२, सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका १/१ छन्।
उनीहरू आकर्षक रोजगारीको लोभमा उत्तराखण्ड पुगेर महिनौँदेखि बन्धक बनाइएका र ठगिएका थिए। उनीहरूलाई बिहीबार गाडीमा आआफ्ना घर पुर्याइने सीडीओ ढकालले बताए।
उत्तराखण्ड प्रहरीसँगको समन्वयमा ‘रेस्क्यु अपरेसन’ गर्दा नेपाली युवालाई ससाना कोठामा खाँदेर राखेको पाइएको ‘केआईएन किन इन्डिया’का प्रमुख नवीन जोशीले बताए।
‘त्यहाँ बाउन्सर खटाइएको थियो। गन्धयुक्त कोठामा बस्न र सुत्नका लागि केही व्यवस्था थिएन। साना कोठामा खाँदेर राखिएको थियो,’ उनले भने, ‘सुरुमा उनीहरू बोल्न सक्ने अवस्थामा थिएनन्।’
जोशीका अनुसार उनीहरू वीरेन्द्र शाही नामका व्यक्तिसँग डराइरहेका थिए। शाहीलाई पक्राउ गरिएको भनेपछि मात्रै उनीहरू खुलेर बोल्न थालेका थिए।
शाहीविरुद्ध भारतमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाइएको जानकारी उनले दिए।
Shares

प्रतिक्रिया