सुदूरपश्चिम


काठको बाकसमा घर फर्किए विपिन, थामिएन मन (तस्बिरहरू)

काठको बाकसमा घर फर्किए विपिन, थामिएन मन (तस्बिरहरू)

गोकुल जोशी
कात्तिक ३, २०८२ सोमबार २१:९, कञ्चनपुर

इजरायलमा मारिएका विपिन जोशीको शव घर ल्याइएको छ। 

सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव ल्याउँदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीयले मन थाम्न सकेनन्।

धनगढी उपमहानगरपालिकाले निशुल्क सञ्चालन गरेको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकस आँगनमा झरेसँगै धेरैजनाको आँखा रसायो।  

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए। 

हमासले फालेको ग्रिनेड समातेर हमासतिरै फालेका उनलाई सो समूहले बन्धक बनाएर लगेको थियो। 

घटनास्थलमै १० जना नेपाली विद्यार्थीको ज्यान जाँदा केही विद्यार्थी घाइते भएका थिए। हमासको नियन्त्रणमा रहेका विपिन भने केही दिन अघिसम्म फर्कने आशा गरिएको थियो। 

विपिनको सकुशल रिहाईका लागि आमासँगै इजरायल र अमेरिका पुगेर अन्तर्राष्ट्रिय समुदायलाई झक्झकाएकी विपिनकी बहिनी भाइटीकाको दुई दिन अघिमात्रै दाइको शव घर आइपुग्दा भक्कानिएकी छन्।

हिजो इजरायलबाट पठाइएको विपिन जोशीको पार्थिव शरीर आज काठमाडौंमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल हुँदै कञ्चनपुर ल्याइएको हो। 

विपिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री सुशीला कार्कीले उनी नेपालीको बहादुर छोरा भएको र उनी हाम्राबीच नरहे पनि नेपालीको मनबाट कहिल्ये नहराउने बताएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad