सुदूरपश्चिम


सडकबाट उठाएर सन्तान झैँ हुर्काएको ‘सिम्बा’ जब अनिताबाट ११ दिन बिछोडियो...

माइकिङ गर्दै गाउँ-सहर डुलिन्, फेला पार्नेलाई १ लाखभन्दा बढी पुरस्कार राखिन्
सडकबाट उठाएर सन्तान झैँ हुर्काएको ‘सिम्बा’ जब अनिताबाट ११ दिन बिछोडियो...

गोकुल जोशी
पुस २३, २०८२ बुधबार २१:५, कञ्चनपुर

त्यो दिन अनिताका लागि निकै पीडादायी थियो। घरमा पुग्दा उनलाई सिम्बाले पुच्छर हल्लाएर स्वागत गर्थ्यो। तर ११ पुस शुक्रबारको बेलुकीतिर अनितालाई स्वागत गर्न सिम्बा आएन। महेन्द्रनगर बजारतिर घुमफिर गरेर घर पुगेकी उनले घरमा समेत कुकुर (सिम्बा)लाई देखिनन्।

‘सिम्बा सिम्बा....’ भनेर बोलाए पनि आएन। उनको मन अत्तालियो। घर छोडेर कहिल्यै नहिँड्ने सिम्बा कहाँ गयो होला भन्ने चिन्ताले उनलाई सतायो।

पुसको कठ्याङ्ग्रिदो चिसो, त्यसमै रात पनि विस्तारै छिपिँदै थियो। अनिताले वरपर सिम्बाको खोजी गरिन्। तर कतै भेटाइनन्। 

त्यो राति उनी राम्ररी निदाउनै सकिनन्। काठमाडौंकी २६ वर्षीया अनिता कार्की ४ पुसमा सिम्बालाई साथ लिएर घुमफिर गर्न महेन्द्रनगर आएकी थिइन्। 

‘घरको ढोका खुल्लै रहेछ। खेल्दा खेल्दै सिम्बा कता गयो गयो?,’ अनिता भन्छिन्, ‘साथीकहाँ बसिरहेकी थिएँ, घरमा पुग्दा थिएन। मन साह्रै रोयो।’

अघिल्लो दिन घरबाट निस्किँदा उनले सिम्बालाई छिमेकी कहाँ राखेकी थिइन्। तर सिम्बा त्यहाँबाट अनिता बस्ने घरमा आफैं फर्किएको थियो। 

सिम्बा हराएपछि अर्को दिन सबेरैदेखि अनिताले खोजी थालिन्। त्यो दिन पनि नभेटिएपछि उनले काठमाडौंबाट भाइलाई बोलाइन्। दुवैजना स्कुटरमा घुम्दै खोजीमा जुटे।

‘स्कुटरको हर्न चिनेर आउँछ। हर्न बजाउँदै खोजीमा धेरै ठाउँ डुल्यौं। के खायो, कहाँ गयो होला साह्रै चिन्ता लागिरहेको थियो,’ अनिताले भनिन्। 

त्यसपछि उनीहरूले अटो नै बुक गरे। ‘कुकुर हराएको सूचना’ लेखेर ब्यानर छापेर अटोमा टाँसे। अनिता आफैं माइकिङ गर्दै गाउँ शहर चहार्न थालिन्। ‘सिम्बा तिमी कहाँ छौ, आउ’ भन्दै दिनभर माइकमा चिच्याउँथिन्, उनी।

उनले सुरुमा सिम्बा भेटाउनेलाई १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिन्। पछि पुरस्कार राशी बढाएर एक लाख १० हजार पुर्‍याइन्। यसले नै ‘एक कान दुई कान मैदान’ भयो।

‘सिम्बा परिवारको सदस्यजस्तै हो। लोभ गरिन। ऋणै खोजेर भएपनि मेरो बच्चालाई खोज्छु। नपाउँदासम्म थाक्दिन भनेर लागेँ’ उनले भनिन्, ‘ऊबिना म बाँच्न सक्दिन।’

सिम्बा हराएको खबर यत्रतत्र फैलिएर छ्यापछ्याप्ती भयो। अनिता कहिले माइकिङ गर्दै गाउँबस्ती चाहार्थिन्। कहिले कतैबाट कुकुर भेटिएको खबर आउँदा त्यहाँ पुग्थिन्। महेन्द्रनगरमा उनले मरेको कुकुर पुरेको खाल्डा नै उदिन्नसम्म भ्याइन्। तर सिम्बा नभेटिँदा उनको मन खिन्न हुन्थ्यो। तर पनि उनले हरेश मानिनन्। 

‘गाउँबाट एउटा कुकुर अटो चढेर महेन्द्रनगरको मिनी मार्केटसम्म आएको खबर पाएँ। गाडी चढ्नसक्ने सिम्बा नै हो भन्ने लागेर सीसीटीभी हेरेँ,’ अनिताले भनिन्, ‘त्यतिनै बेला गोबरियाबाट एकजना दिदीले फोन गरेर कुकुर देखाइन्। धेरै खुसी भएँ। ऊ सिम्बा नै थियो।’

गोबरियाकी रितिकाले सिम्बा भनेर बोलाउँदा आउँछ भनेर कुकुर हराएको सूचनाबाट थाहा पाएकी थिइन्। त्यस्तै हुलियाको कुकुर सडकमा देखेपछि उनले बोलाइन्। र, कुकुर नजिकै आयो। नजिकै माइकिङ गरिरहेकी अनितालाई फोन सम्पर्क गरेर उनले बोलाएकी थिइन्। अनिता सिम्बालाई देखेर रोइन्। सिम्बाले पनि उनलाई झम्टिएर अंगालो हाल्यो। अनि सिम्बा पनि रुन थाल्यो।

हराएको ११ दिनपछि सिम्बा फेला परेको हो। सामाजिक सञ्जालमा कुकुर हराएको खबर यत्रतत्र भएपछि ११ दिनपछि सकुशल भेट्टाउन सफल भएकी हुन्, अनिता।

‘भगवानलाई धेरै धेरै धन्यवाद। सिम्बा भेटिएपछि सम्हालिनै सकिन,’ उनले भनिन्, ‘यहाँको मान्छेले धेरै साथ सहयोग गर्नुभयो। यो सहयोग कहिल्यै बिर्सिन्नँ।’ 

सिम्बा भेट्टाउनेलाई पुरस्कार दिने उनले बताइन्।

‘अहिले स्कुटर छोडेर आएको छु। पैसा भएर यति ठूलो पुरस्कार राखेकी होइन। बच्चा (कुकुर)प्रतिको मायाले हो,’ उनले भनिन्, ‘पैसा संकलन भइरहेको छ।’

उनका अनुसार खाना नपाएर कुकुर केही दुब्लाएको छ। खैरो रंगको सिम्बालाई अनिताले ५ वर्षअघि सडकमा भेट्टाएर पालेकी थिइन्। काठमाडौंमा किराना पसल चलाउने उनले ५ वर्षअघि कार्टुनमा राखेको अवस्थामा उक्त कुकुर फेला पारेकी थिइन्। 

उनले कुकुरलाई सिम्बा नाम दिएर परिवारको सदस्यझैँ पालेको बताइन्। सिम्बा स–साना सामान बोक्नदेखि स्कुटर चढ्न लगायतमा सिपालु छ। 

‘उसले राम्रो बानी सिक्यो। झोला लगायत सामान आफैं ल्याउँथ्यो। राम्रो व्यवहारले गर्दा बच्चाजस्तै माया गरेर राखेका छौँ’ उनले भनिन्।

यस घटनाले मानवको पशुप्रतिको प्रेम र मोहलाई झल्काएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad