सुदूरपश्चिम


सुदूरपश्चिममा कस्तो छ गगन–विश्वको शक्ति?

नौ जनामध्ये ६ जिल्ला सभापति विशेष महाधिवेशनको विरोधमा
सुदूरपश्चिममा कस्तो छ गगन–विश्वको शक्ति?

गोकुल जोशी
पुस २५, २०८२ शुक्रबार २०:१६, कञ्चनपुर

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन घोषणा गरेपछि नेपाली कांग्रेस संकट फसेकोे छ। 

विशेष र नियमित महाधिवेशनको पक्ष र विपक्षमा कांग्रेसभित्र तल्लो तहसम्मै नेता कार्यकर्ता विभाजित भएका छन्।

संस्थापन पक्ष महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनमा प्रतिनिधिलाई सहभागी हुनबाट रोक्न बल गरिरहेका छन् भने विशेष महाधिवेशन पक्षधर जतिसक्दो बढी प्रतिनिधि सहभागी गराउन गृहकार्यमा छन्।

फुटको डिलबाट गुज्रिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका ६ जिल्ला सभापतिहरू विशेष महाधिवेशनका विपक्षमा उभिएका छन्।

प्रदेशका कुल ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधानविपरीत’ भन्दै त्यसमा सहभागी नहुन पार्टी–पंक्तिलाई अपिल गरेका छन्। 

कांग्रेसका बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेल्धुरा सभापति भीम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विरोध गरेका हुन्। 

उनीहरूले नियमित महाधिवेशन नै गरिनुपर्नेमा जोड दिएका छन्। विधानबमोजिम निर्धारित समयमै १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढिरहेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य नहुने जिकिर ती ६ जिल्ला सभापतिले गरेका छन्। 

पार्टीको विधानमा कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभएको र केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले हाल आह्वान गरिएको विशेष महाधिवेशन विधानविपरीत रहेको तर्क गरेका छन्। 

उता विशेष महाधिवेशन पक्षधरले भने यो विधानसम्मत नै भएको जिकिर गर्दै तोकिएको मितिमा विशेष महाधिवेशन भएरै छाड्ने दाबी गरेका छन्। 

प्रदेशका ९ जिल्लामध्ये विशेष महाधिवेशनको विपक्षमा सार्वजनिक विज्ञप्तिमा दार्चुलाका सभापति ललितसिंह बोहरा, बाजुरा सभापति रामसिंह रावल र बैतडी सभापति चतुरबहादुर चन्द छन्। 

यी तीनै जना कोइराला पक्षका नेता हुन्। यीमध्ये केही अहिले तटस्थ छन् भने केही विशेषको पक्षमा खुलेका छन्। 

‘अहिले कुनै पक्षको सपोर्टमा छैन। पार्टी फुटबाट जोगाउनुपर्छ भन्ने मात्रै हो,’ कांग्रेस बाजुरा सभापति रामसिंह रावलले भने। 

सुदूरपश्चिम प्रदेशमा विशेष महाधिवेशन पक्षधर गगन–विश्व पक्ष कमजोर देखिएको छ। 

कुल ४ सय २४ महाधिवेशन प्रतिनिधिमध्ये एक सयको हाराहारीमा विशेष महाधिवेशनमा सहभागी हुने आकलन गरिएको छ।

कांग्रेस नेताहरूका अनुसार अझै यकिन नभएकाले गगन–विश्वले बोलाएको विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या थपघट हुनसक्ने देखिन्छ। 

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कतिपयले नियमित महाधिवेशन भनेर झुक्काएर हस्ताक्षर लिएको भन्दै फिर्ता समेत लिएका थिए। 

सुदूरपश्चिम प्रदेशबाट २५ प्रतिशत महाधिवेशन प्रतिनिधि मात्रै महामन्त्रीले आह्वान गरेको विशेष महाधिवेशन सहभागी हुने कांग्रेस संस्थापनको दाबी छ। 

३० प्रतिशतले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले भने काठमाडौंमा आइतबार र सोमबार ४० प्रतिशत प्रतिनिधि आउने दाबी गरिरहेका छन्। 

५ निर्वाचन क्षेत्र रहेको कैलालीमा २३ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ४ जना खुलेका छन्। कञ्चनपुरमा ७८ जना महाधिवेशन प्रतिनिधि छन्।

२ निर्वाचन क्षेत्र रहेको अछाममा १६ जना र डडेल्धुरामा २ जना विशेष महाधिवेशनको पक्षमा देखिएका छन्। अछाममा कुल ५२ प्रतिनिधि छन्।

२५ जना महाधिवेशन प्रतिनिधि रहेको डोटीमा विशेष महाधिवेशनको पक्षमा ९ जना खुलेका छन्। उनीहरू सहभागी हुन काठमाडौं गइसकेका छन्। 

सभापतिसहित २५ जना महाधिशेन प्रतिनिधि रहेको बझाङमा ११ जना गगन–विश्वले बोलाएको विशेष महाधिवेशनको पक्षमा रहेका छन्। उनीहरू अधिकांश त्यसमा सहभागी हुँदैछन्। 

बाजुरामा २५ प्रतिनिधिमध्ये १८ विशेषतिर खुलेपनि कति सहभागी हुन्छन् यकिन छैन। १२ महाधिवेशन प्रतिनिधि रहेको दार्चुलाका आधा बढी प्रतिनिधि काठमाडौंतिर गएका छन्।

‘आधाभन्दा बढी काठमाडौंमै हुनुहुन्छ। विशेष महाधिवेशनमा को को जान्छन् अझै यकिन भएको छैन,’ कांग्रेस दार्चुलाका एक नेताले भने।

बैतडीमा २५ महाधिवेशन प्रतिनिधिमध्ये ५ जना अझै कतै खुलेका छैनन्। केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाधिवेशन बोलाए त्यसको पक्षमा आफू रहने नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए। 

‘केन्द्रले गरेको निर्णयमा सहमत हुने २० जना साथीहरु थियौं। अहिले एकलौटी रुपमा विशेष महाधिवेशन बोलाएकोले हामीहरू त्यसको पक्षमा छैनौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad