सुदूरपश्चिम


रेशमको उम्मेदवारी खारेजपछि नाउपाको आधार इलाका कैलाली-१ मा अब कसले जित्ला चुनाव?

नाउपा पृष्ठभूमिकै चार नेता अलग-अलग पार्टीबाट छन् उम्मेदवार
रेशमको उम्मेदवारी खारेजपछि नाउपाको आधार इलाका कैलाली-१ मा अब कसले जित्ला चुनाव?

गोकुल जोशी
माघ १३, २०८२ मंगलबार १०:८, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर १ रेशमलाल चौधरीको तत्कालीन नागरिक उन्मुक्ति पार्टीको आधार इलाका हो। 

२०७४ को चुनावमा उनी टीकापुर हत्याकाण्डका कारण भूमिगत रहेकै बेला भारी मतका साथ विजयी भए।

त्यतिबेला प्रहरीको फरार सूचीमा रहेका उनले वारेसमार्फत राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए।

यसपछि चौधरीले जेल जीवन बिताइरहेकै बेला पत्नी रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गराए। 

उक्त पार्टीले पनि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ मा विजय हासिल गर्‍यो र रञ्जिता सांसद हुँदै केन्द्रीय सरकारमा मन्त्रीसमेत बनिन्।

उक्त चुनावमा नाउपा कैलाली-१ मात्र होइन, जिल्लाका अन्य २ क्षेत्रमा समेत जित दर्ता गर्दै राजनीतिक शक्तिका रूपमा उदायो।

उसले कैलालीमा स्थानीय तह र प्रदेश सभा निर्वाचनमा समेत ठुला दललाई ‘साइड’ लगाइदियो। 

त्यही पार्टीको बलमा रेशम जेलमुक्तसमेत भए। 

राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेपछि कारागार बाहिर आएका चौधरी फेरि राजनीतिमा सक्रिय भए।

तर २०७९ को चुनावपछि पत्नी रञ्जितासँग खटपटका कारण नाउपा सग्लो रहन सकेन।

अध्यक्ष श्रेष्ठले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित गराइन् भने रेशमले अर्कै पार्टी नागरिक उन्मुक्ति पार्टी, नेपाल गठन गरे।

चौधरीले त्यही पार्टीबाट आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली-१ मा उम्मेदवारी दर्ता गराए। 

तर उनीविरुद्ध परेको उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको छ।

कुनै बेला कैलालीमा सशक्त नाउपा अहिले २ भागमा विभाजन भएको छ। जसले गर्दा कार्यकर्ता तितरबितर भएका छन्। 

रेशमले पकड जमाएको कैलाली-१ मा अब कसले चुनाव जित्ला? चासोका साथ हेरिएको छ। 

कैलाली-१ मा अहिले नाउपाबाट नेकपामा सामेल रामलाल डगौँरा थारु उम्मेदवार छन्।

टीकापुर नगरपालिकाका मेयर उनी राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा होमिएका हुन्।

तत्कालीन पार्टी अध्यक्ष रञ्जितानिकट उनलाई २०७९ को जितलाई निरन्तरता दिँदै विरासत कायम राख्नुपर्ने चुनौती छ।

२०५६ मा माओवादीको भूमिगत राजनीति सुरु गरेका डगौँरा २०७४ मा नाउपाबाट टीकापुर नगरपालिका-७ को वडाध्यक्ष हुँदै २०७९ को चुनावमा टीकापुरको मेयरमा विजयी भएका थिए। 

‘नगरपालिकामा हुँदा कामको मूल्यांकन गरेर गर्ने जिम्मा जनतालाई दिँदै छु। जनताका पक्षमा गरेको काम नै जित्ने आधार हो,’ डगौँरा भन्छन्, ‘पहिचानको मुद्दालाई मूलधारको राजनीतिबाट सम्बोधन गर्न नेकपासँग एकीकरण गरेर निर्वाचनमा होमिएका छौँ।’

नाउपामा सँगै रहेका ४ नेता अहिले अलगअलग पार्टीबाट उम्मेदवार छन्। 

नाउपामा वैकल्पिक केन्द्रीय सदस्य रहेका प्रदीपकुमार चौधरी अहिले उज्यालो नेपाल पार्टीबाट चुनाव लड्दै छन्। 

यस्तै नाउपाका संस्थापक केन्द्रीय सदस्य कोमल ज्ञवाली रास्वपा र नाउपा पृष्ठभूमिकै विमलकुमार डगौँरा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका छन्। 

कैलाली १ मा १८ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन्।

नेपाली कांग्रेसबाट जनकराज चौधरी, नेकपा एमालेबाट द्वारिकाप्रसाद न्यौपाने र राप्रपाबाट लोकेन्द्र कुँवर उम्मेदवार छन्। 

यस्तै जनमत पार्टीका भगतराम डगौँरा, नेमकिपाकी सुनिता भण्डारा, प्रलोपाका जनकराज शाह, माओवादीका रामबहादुर विश्वकर्मा, आजपाकी रूपाकुमारी चौधरी, स्वतन्त्र उम्मेदवारहरू अरुण ठकुल्ला, तपेन्द्र शाह, नरेश रावल, फागुराम चौधरी, राजेन्द्र बहादुर शाही र सत्यनारायण भट्टराई पनि यस क्षेत्रमा चुनाव लड्दै छन्। 

तर यसपटक कैलाली-१ मा प्रमुख रूपमा नेकपा, नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ।

कांग्रेस उम्मेदवार चौधरी २६ वर्षपछि पार्टीको साख फर्काउँदै दोस्रोपटक सांसद बन्ने दाउमा छन्।

२०४६ मा नेविसंघबाट राजनीति सुरु गरेका उनी २०४९ मा संघको जिल्ला सदस्य बने।

विज्ञान विषयमा स्नातकोत्तर चौधरी २०६० देखि २०७० सम्म शिक्षण पेसामा थिए। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कैलाली-१ मा नेपाल लोकतान्त्रिक फोरमबाट उनी निर्वाचित भएका थिए।

चौधरी कांग्रेसको सुदूरपश्चिम प्रदेश उपसभापति हुन्। आफूले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनी बताउँछन्। 

समुन्नत कृषि प्रणाली विकासका साथै संस्कृतिलाई रोजगारीसँग जोड्न संस्कृति एकेडेमी स्थापना गर्ने उनको योजना छ। 

एमालेका उम्मेदवार न्यौपाने टीकापुरका स्थानीय बासिन्दा हुन्। स्नातकोत्तर अध्ययन गरेका ४७ वर्षीय उनीसँग विभिन्न संघसंस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ। 

यस्तो छ कैलाली-१ को विगत
प्रत्येक चुनावमा कैलाली-१ मा फरक-फरक पार्टीका उम्मदेवारले जितेको इतिहास छ।

२०४८ मा कांग्रेसका गंगाबहादुर कुँवर, ०५१ मा एमालेका हिमाञ्चल भट्टराई, ०५६ मा कांग्रेसकी सुशीला स्वाँर र ०६४ को चुनावमा माओवादीकी रूपा चौधरी विजयी भएकी थिइन्।

यहाँ २६ वर्षदेखि जितविहीन कांग्रेस र ३१ वर्षदेखि पराजित एमाले यसपटक जित्ने प्रयासमा छन्। 

२०७९ को चुनावमा प्राप्त समानुपातिक मत हेर्दा यहाँ नाउपा नै बलियो देखिन्छ।

उक्त निर्वाचनमा नाउपाले २७ हजार ४०६ समानुपातिक मत ल्याउँदा कांग्रेसले ११ हजार ३९५, माओवादीले ७ हजार ९९२, एमाले ५ हजार २१५ र राप्रपाले ४ हजार १०३ मत पाएका थिए। यस्तै रास्वपाले २ हजार ५१७ र नेकपा एकीकृत समाजवादीले ७३३ मत ल्याएका थिए। 

रेशमको साथ पाउने आश
हाल नाउपा नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएपछि तत्कालीन नाउपाको त्यही मत आफ्ना पक्षमा पारे जितिन्छ भन्ने रणनीतिमा छन् कैलाली-१ का उम्मेदवारहरू।

यसैले नेकपा, कांग्रेस र एमाले तीनै दलका उम्मेदवार यतिबेला रेशमको साथ पाउने आशमा छन्।

तर आफ्नो उम्मेदवारी रद्द भएपछि रेशमको समर्थन कसलाई रहन्छ? अझै उनले मुख खोलिसकेका छैनन्। 

कांग्रेसका उम्मेदवार चौधरी रेशम र आफ्नो जनाधार एउटै भएकाले आफूले समर्थन पाउने दाबी गर्छन्।

‘यसपटक संवेगात्मक नभएर एजेन्डामा आधारित राजनीति हुन्छ। उहाँ (रेशम) भतिज साथीजस्तो हो। कुराकानी भइरहन्छ,’ चौधरी भन्छन्, ‘जनताले साथ दिनेमा ढुक्क छु।’

उता नेकपाका रामलाल डगौँरा पनि रेशमसँग आफ्नो कुनै मनमुटाव नरहेकाले उनको समर्थन आफूले पाउने अपेक्षमा छन्।

‘दाइभाइको सम्बन्ध छ। उहाँसँग कुनै कटुता छैन। उहाँ हाम्रो अभिभावक हो,’ डगौँरा भन्छन्, ‘सहयोग गर्नुहुन्छ भन्ने आशा छ।’

अंकगणित
कैलाली क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कुल २३ वटा पर्छन्। 

ती पालिकामध्ये २०७९ को स्थानीय तहको चुनावमा टीकापुरको उपमेयरबाहेक बाँकी सबैका प्रमुख र उपप्रमुख पद नागरिक उन्मुक्ति पार्टीले नै जितेको थियो।

नागरिक उन्मुक्तिले कैलाली १ मा पर्ने २३ वटा वडामध्ये ११ वटामा जित हासिल गरेको थियो। माओवादी ५, कांग्रेस र एमाले ३/३ तथा जसपाले एउटा वडामा विजयी भएका थिए। 

त्यतिबेला कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ११ हजार ६७८ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ९३० मत र एकीकृत समाजवादीका उम्मेदवारले २ हजार २३२ मत पाएका थिए। 

१ नम्बर क्षेत्रमा पर्ने २३ वटा वडामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जम्मा १७ हजार १९३ मत पाएका थिए।

यस्तै एमालेका वडाध्यक्ष उम्मेदवारले १० हजार ३२२ मत, जसपा उम्मेदवारले २ हजार ३०२ र राप्रपा उम्मेदवारले ३ हजार ५६१ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad