ad ad

सुदूरपश्चिम


भारतमा बिग्रिँदै नेपालीको छवि, पञ्जावमा मालिकलाई बेहोस बनाएर लाखौँ चोरी

भारतमा बिग्रिँदै नेपालीको छवि, पञ्जावमा मालिकलाई बेहोस बनाएर लाखौँ चोरी

भारतमा चोरी अभियोगमा पक्राउ परेका नेपाली। तस्बिर : नेपालखबर


गोकुल जोशी
फागुन ७, २०७९ आइतबार १८:५६, कञ्चनपुर

शुक्रबार बेलुका कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडामा भारतबाट फर्किरहेका तीनजना नेपाली पक्राउ परे। 

कार्गिलडाँडास्थित सशस्त्र प्रहरीको अग्रपोष्टले उनीहरुको साथबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित गहना बरामद गरेको थियो। उनीहरु भारतमा चोरी गरेर पुनर्वासको खुला नाकाबाट नेपाल भित्रिन खोजिरहेका थिए।

शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अमर भूल, २९ वर्षीय खड्ग भूल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्कीको साथमा चोरीको पैसाा र गरगहना भेटिएको थियो।

सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार भारतस्थित  पञ्चावको फत्तेगढमा आफू काम गर्ने ठाउँमा ती नेपाली नागरिकले चोरी गरेका थिए। 

आलितालका २४ वर्षीय वीरेन्द्रको योजनामा चोरी भएको खुलेको उनले बताए। उनी एक वर्षअघि काम गर्न भारतको पञ्जाव गएका थिए। उनका मालिकको स्कुल पनि थियो। पञ्चावमा वीरेन्द्र चौकीदारीको काम गर्थे।

एक सातापहिले उनले पञ्चावमा योजनावद्ध मालिकलाई बेहोस गरेर चोरी गरेका हुन्। चोरीमा सघाउन वीरेन्द्रले केही महिनाअघि मात्रै कामका लागि गोदावरीका अमर र खड्गलाई पनि बोलाएको खुलेको छ।

‘अन्य दुई जनालाई वीरेन्द्रले केही महिनाअघि बोलाएका रहेछन्, मालिकलाई बेहोस बनाएर चोरी गरेको भनेर पञ्जाव प्रहरीमा पीडितले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक गिरीले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ।’

वीरेन्द्र लामो समयदेखि भारतमै काम गर्दै आएका थिए। उनीसँग भारतीय आधार कार्ड पनि छ। उनी लामो समयदेखि चोरीको घटनामा संलग्न रहँदै आएको खुलेको छ। मालिकले काम गरेको तलब नदिएकोले पैसा चोरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्। 

उनीहरुको साथबाट नगद पैसासहित सुनको सिक्री, पाउजु, औँठी, मुन्द्रा लगायत गरगहना बरामद गरिएको थियो। भारतीय प्रहरीसँग समन्वय गरेर प्रमाणसहित आएमा चोरीको पैसा र गरगहना फिर्ता गरिने प्रहरीले जनाएको छ।

२०७८ चैत्र ६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरका मीनबहादुर शाह पनि चोरी आरोपमा समातिएका थिए। 

शाह र उनकी श्रीमती भारतको हरियाणामा चोरीमा संलग्न थिए। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो। 

तिनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पुर्‍याएका थिए।

पछिल्लो समय भारतमा हुने चोरीको घटनामा नेपाली नागरिकको संलग्नता बढ्दै गएको छ। भारतमा हुने चोरीमा नेपालीको संलग्नता बढ्दै गएपछि त्यहाँ रहेका अन्य सोझा मजदुरलाई भने काम गर्नै मुस्किल हुन थालेको छ। 

चोरीमा नेपालीको संलग्नता बढेपछि भारतमा नेपालीप्रति विश्वास घट्दै गएको नेपाल–भारत आप्रवासमा विद्यावारिधी गरेका सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक डा. दीपकचन्द्र भट्टले बताए। 

‘भारतमा नेपालीलाई विश्वास गरेर होटल र घरेलु कामदार राखेका हुन्छन्, पछिल्लो समय चोरीमा नेपालीको संलग्नता बढेपछि विश्वास घटेको छ,’ उनी भन्छन्, ‘होटल र चौकीदारीको काम गर्नेहरुले त्यहीँ ठाउँमा चोरी गरेर हिँड्ने प्रवृत्ति हाबी भएको छ।’

यस्ता घटनाले भारतमा नेपालीलाई सहजै काम पाउनै मुस्किल पर्ने स्थिति हुन सक्ने उनले बताए। चोरी गर्नेहरूले सुरुमा भारतीय व्यापारीकहाँ घरेलु मजदुरको सुरु गर्छन्। केही महिना काम गरिसकेपछि त्यही घरमा चोरी गरेर खुला नाकाको दुरुपयोग गर्दै यता छिर्ने गरेका छन्। 

चोरी गर्नेहरू नेपाल पुगिसकेका हुन्छन्। उता भारतमा अरु नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेर सास्ती दिने गरेको गुनासो छ। 

भारतमा पेशेवर चोरीमा लागेका समूह र व्यक्तिको संख्या दिनहुँ बढिरहँदा भारतमा नेपालीले प्राप्त गरेको विश्वासको छवि धुमिलिँदै गएको छ। 

‘विगतमा भारतमा नेपालीलाई इमानदार र सोझा हुन्छन् भनेर सम्मान र इज्जत गरिन्थ्यो’, दिल्लीमा काम गर्ने केशव जोशीले भने, ‘तर अहिले चोरीमा नेपालीको संलग्नताले काम पाउनै मुस्किल छ, पाए पनि पहिले जस्तो विश्वास गर्दैनन्। 

भारतमा हुने चोरीका घटनामा नेपालीको गिरोह योजनाबद्ध सक्रिय हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। तर घटनास्थल भारत हुँदा चोरीमा संलग्नहरु सजिलै उम्किने गरेका छन्।

भारतमा नेपालीको संलग्नतामा हुने चोरीका घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम चलाउनुपर्ने डा. भट्टको सुझाव छ।
‘भारत जानेको तथ्याङ्क राख्नु पर्छ, अहिले त्यसो गरिएको छैन,’ उनले भने, ‘भारत जानेहरुलाई चोरी र अन्य अपराधबाट पर राख्न चेतना फैलाउनु आवश्यक छ, जसले नेपाली छवि बचाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .