ad ad

कारोबार


विदेशको कमाइले स्वदेशमा उद्यमी

विदेशको कमाइले स्वदेशमा उद्यमी

विवेक बोगटीको च्याउ खेती


नेपालखबर
फागुन ७, २०७९ आइतबार १८:५६, बेलबारी (मोरङ)

मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त हुन्छन्। विदेशमा मजदुरी छाडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले ५ वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन्। 

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै झन्डै रु ५० लाख आम्दानीको लक्ष्य लिएका छन्। तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रु एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका हुन्। हाल कम्पनीमा रु एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ। 

तीन कठ्ठा क्षेत्रफलमा तीनवटा प्लास्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चारवटा पक्की घर बनिसकेका छन् भने थप तीनवटा बन्ने क्रममा छन्। च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाइ र २२ फिट चौडाइका छन्। एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी  छ। गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए। 

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ। हाल थोकमा रु एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए। उत्पादन गरिएको च्याउ हरेक बिहान ४ बजेसम्म इटहरी पुर्‍याइसक्नुपर्ने र ७ बजे सम्ममा विराटनगर र धरानसम्म पुर्‍याइसक्नुपर्ने हुन्छ। 

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्‍याउन समस्या हुन थालेपछि अब आफैँ पिकअप भ्यान खरिद गर्ने योजना उनले बनाएका छन्। उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारीमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन्। 

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ। सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए तर दुई वर्षअघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो। हाल उनले काठमाडौँस्थित च्याउको बीउ उत्पादन गर्ने ल्याब सञ्चालन गरिरहेका छन्। 

विवेक बोगटीले पनि सोही ल्याबबाट कन्ये जातको च्याउको बीउ लिइरहेका छन्। दुई  वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए। डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन्। 

‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर विराटचोकस्थित कृषि विकास बैंकमा पटक–पटक जाँदा पनि कुनै वास्ता गरेन, त्यसपछि जानै छाडेँ’, उनले गुनासो गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .