सुदूरपश्चिम


‘ह्याट्रिक’पछि प्रेम आलेले छाडेको डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा: पाका पूर्व मुख्यमन्त्री र प्रदेश सांसदविरुद्ध ३२ वर्षे युवा

‘ह्याट्रिक’पछि प्रेम आलेले छाडेको डोटीमा त्रिपक्षीय प्रतिस्पर्धा: पाका पूर्व मुख्यमन्त्री र प्रदेश सांसदविरुद्ध ३२ वर्षे युवा

गोकुल जोशी
माघ १४, २०८२ बुधबार १६:१५, कञ्चनपुर

डोटीबाट लगातार तीन चुनाव जितेका हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर आले आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भने यस क्षेत्रमा उम्मेदवार छैनन्। 

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा डोटी-२ मा एमालेबाट विजयी उनी २०७४ मा वाम गठबन्धन र २०७९ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा प्रतिनिधि सभा चुनाव जित्दै सांसद बनेका थिए।

दोस्रो संविधान सभा चुनाव (२०७०) सम्म दुई निर्वाचन क्षेत्र रहेको डोटीमा संघीय व्यवस्था लागु भएपछि २०७४ देखि दुवै मिलाएर एउटै क्षेत्र कायम गरिएको छ।

तर यसपटक पूर्वमन्त्री आले आफूले ‘ह्याट्रिक’ गरेको डोटी छाडेर कैलाली-५ मा उम्मेदवार बनेका छन्। 

उनले छाडेको डोटीमा फागुन २१ गते नेपाली कांग्रेस, नेकपा र नेकपा एमालेको त्रिपक्षीय भिडन्त हुँदै छ।

कांग्रेस र नेकपाका पुराना एवं पाका उम्मेदवारसँग एमालेका ३२ वर्षीय युवा दीपकबहादुर धामी टक्कर दिन कस्सिएका छन्।

एमालेले त्यहाँको चुनावी मैदानमा अनेरास्ववियुका अध्यक्ष धामीलाई उतारेको हो।

जेनजी आन्दोलनपछि सिर्जित परिस्थितिको प्रतिनिधित्व गर्दै आफू चुनावमा होमिएको बताउँछन् धामी। 

‘पञ्चायतदेखि गणतन्त्रसम्म व्यवस्था फेरियो। तर उम्मेदवार अहिलेसम्म परिवर्तन भएका छैनन्। पुरानै उम्मेदवारको नेतृत्व असफल भइसक्यो, अब जिल्लाले विकासमा फड्को मार्न सक्दैन,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले युवा पंक्तिले देखेको परिवर्तनको सपना साकार पार्न यहाँका आवाज केन्द्रसम्म पुर्‍याउन अघि बढेको छु।’

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटीमा उनीसमेत ९ जना प्रतिस्पर्धामा छन्। 

नेपाली कांग्रेसबाट भरतबहादुर खड्का, नेकपाबाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रबहादुर खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खडकबहादुर अग्रवाल डोटीको चुनावी मैदानमा छन्।

यस्तै नेमकिपाका खगेन्द्रबहादुर शाही, राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल र माअ‍ोवादीका प्रकाश कठायत पनि डोटीमा उम्मेदवार बनेका छन्। 

यस्तो छ अनेरास्ववियु अध्यक्ष धामीको राजनीतिक यात्रा

धामी स्थानीय सीताराम उच्च माध्यमिक विद्यालय (शिखर नगरपालिका-९, उच्चाकोट) मा अध्ययन गर्दा अनेरास्ववियुमा संगठित भए।

२०६३ सालमा दुई कार्यकाल क्याम्पस कमिटी अध्यक्ष बनेका उनी स्तुपा कलेजको स्ववियु सभापति निर्वाचित भए। 

अनेरास्ववियुको २२औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका धामी त्यसपछि पार्टी सम्पर्क सदस्य, दुई कार्यकाल सचिव हुँदै संगठनको अध्यक्ष बन्न सफल भएका हुन्। 

अनेरास्ववियुको २३औँ महाधिवेशनबाट सचिव, २४औँबाट महासचिव बन्दै धामी गत भदौमा भएको जेनजी आन्दोलनपछि यसको अध्यक्ष चुनिएका हुन्। 

माओवादी केन्द्र र एमाले एकीकरण भएर नेकपा बनेका बेला अनेरास्ववियुको सचिवालय सदस्य उनी पार्टीको १०औँ महाधिवेशनमा कान्छो प्रतिनिधिका रूपमा छानिएका थिए। 

प्रदेशपछि केन्द्र ताक्दै कांग्रेस उम्मेदवार खड्का
कांग्रेसका उम्मेदवार खड्काले २०३२ सालमा कलेज पढ्दा राजनीति सुरु गरे। ०४४ र ०५५ मा दुई कार्यकाल जिल्ला विकास समितिको सभापति भए। 

२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा समानुपातिक सांसद बनेका उनले ०७४ मा डोटी प्रदेशसभा १ (१) मा प्रतिस्पर्धा गरे। एमालेका चक्रबहादुर मल्ललाई ६१४ मतान्तरले उछिन्दै खड्का प्रदेश सांसद बने।

यसपछि उनी अहिले पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा भिड्दै छन्। 

डोटी, कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिसमेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायरको गृहजिल्ला हो। 

तर त्यहाँ २०७० पछि कांग्रेसले चुनाव जित्न सकेको छैन। 

तर खड्का डोटेली जनतासँग घुलमिल आफू भुइँमान्छे भएकाले यसपटक चुनावी नतिजा आफ्ना पक्षमा आउने दाबी गर्छन्।

‘बच्चादेखि नै डोटेली जनताको माझमा रहेर विकास-निर्माणका काममा अहोरात्र खटिएको छु। डोटीमा प्रदेश राजधानी ल्याउनुपर्छ भनेर एक्लै लडेँ तर सकिनँ,’ उनी भन्छन्, ‘भुइँमान्छे भएर काम गर्ने परिपक्व नेता कोही छैनन्। जित्नेमा पूर्ण विश्वस्त छु।’

जिविस सभापति र प्रदेश सांसद हुँदा डोटीका बस्तीबस्तीमा सडक, बिजुली, खानेपानीलगायत योजना पुर्‍याएको उनको दाबी छ।

प्रतिनिधि सभामा ‘डेब्यु’ गर्ने प्रयासमा पूर्वमुख्यमन्त्री 
सुदूरपश्चिम प्रदेश सरकारको पूरा कार्यकाल (५ वर्ष) बिताउने एक्ला नेता हुन्- त्रिलोचन भट्ट। उनी २०७४ मा डोटी १ (२) बाट प्रदेश सांसद निर्वाचित हुँदै मुख्यमन्त्री बनेका थिए।

यतिबेला उनी मुख्यमन्त्री भएका बेला गरेका काम देखाउँदै स्थानीयसँग मत मागिरहेका छन्।

मुख्यमन्त्री हुँदा अधुरा रहेका काम पूरा गर्नकै लागि यसपटक प्रतिनिधि सभा चुनाव लड्न लागेको उनको तर्क छ। 

‘प्रदेश सरकारको नेतृत्व गर्दा बजेट नपुगेको डोटीका कुनै बस्ती छैनन्। अपूरा आयोजनाको पूर्णता र संघ सरकारबाट आउने ठुला विकासका योजना (चुनाव जितेमा) कार्यान्वयनमा ल्याउने छु,’ उनी भन्छन्।

मुख्यमन्त्रीको ५ वर्षे कार्यकाल इमानदारीका साथ पूरा गरेको र अब आउने जिम्मेवारी पनि त्यसै गरी पूरा गर्ने विश्वासका साथ जनताले आफूलाई जिताउने उनको दाबी छ।

‘जितेर गएपछि नेताहरू आफ्नो मात्रै व्यवस्थापन र स्वार्थमा लाग्छन्। इमानदार ढंगले जिम्मेवारी पूरा गर्ने हुनाले जनतामा विश्वास छ। मलाई एकपटक फेरि जिताउँछन्,’ उनले भने। 

डोटीमा संविधान सभाका दुवै चुनाव हारेका भट्ट प्रतिनिधि सभामा ‘डेब्यु’ गर्ने प्रयासमा छन्। 

भारतमा १७ वर्षसम्म चौकीदारका रूपमा काम गरेका भट्टले २०४७ सालमा अखिल भारत-नेपाल एकता समाजको सदस्यता लिएर राजनीति सुरु गरेका थिए।

त्यसपछि २०५६ सालदेखि उनी माओवादीमार्फत पूर्णकालीन राजनीतिमा होमिएका थिए। प्रवासबाटै उनी पार्टीको जिल्ला तथा क्षेत्रीय ब्युरो सदस्य बनेका थिए। 

२०६२ सालमा माओवादीको डोटी जिल्ला सचिव बनेका उनी २०६३ मा जिल्ला सहइन्चार्ज भए। 

०६४ मा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका थिए। माओवादीमा हुँदा उनले जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य रहेका थिए। 

यस्तो छ गत चुनावको अंकगणित
२०७९ को चुनावमा प्राप्त समानुपातिक मतमा कांग्रेस र एमालेबिच झिनो मतान्तर मात्र छ। कांग्रेसले २२ हजार ५१६ पाउँदा एमालेले २२ हजार ४५६ मत ल्याएको थियो। 

यस्तै नेकपा माओवादी केन्द्रले ६ हजार ९२४, नेकपा एकीकृत समाजवादीले २ हजार ३७३, रास्वपा १ हजार २३८ र राप्रपाले ९१० मत पाएका थिए। 

यस्तै २०७९ मा स्थानीय तह चुनावमा कांग्रेसका प्रमुख/अध्यक्ष पदका उम्मेदवारहरूले पाएको मत ३५ हजार ८०१ छ। यस्तै माओवादी केन्द्रका उम्मेदवारहरूले ६ हजार ११८ र एकीकृत समाजवादीका उम्मेदवारहरूले ३ हजार ३६२ मत पाएका थिए। 

यसैगरी एमालेका प्रमुख/अध्यक्षका उम्मेदवारहरूले २४ हजार ३५ मत ल्याएका थिए। 

वडाध्यक्षका उम्मेदवारतर्फ कांग्रेसले ३४ हजार ४७, माओवादी केन्द्रले ७ हजार ७८९ र एकीकृत समाजवादीले ३ हजार २०५ मत पाएका छन्। 

एमालेका वडाध्यक्षका उम्मेदवारले २४ हजार ९१६ मत पाएका थिए। 

कुल ६५ वडामध्ये कांग्रेसले ३९ वडामा जितेको थियो। उसले ९ पालिकामध्ये ७ वटामा प्रमुख पद हात पारेको थियो। 

यस्तै एमालेले एक पालिकामा प्रमुख र १८ वडामा अध्यक्ष पद जितेको थियो। यस क्रममा एमालेले जोरायल गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद आफ्नो पोल्टामा पारेको थियो।

अनि माओवादी केन्द्रले एक पालिका प्रमुख र ५ वटा वडामा अध्यक्ष पद जितेको थियो। 

एकीकृत समाजवादीले एउटा वडामा मात्रै जितेको थियो।

यस्तै राप्रपा र स्वतन्त्र उम्मेदवार भने डोटीका एक/एक वडामा विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad