सुदूरपश्चिम


फाप्लाको अवलोकनपछि मन्त्री पोखरेलले क्रिकेट खेले, भन्छन्– प्राथमिकतामा राखेर काम गर्नेछौँ

फाप्लाको अवलोकनपछि मन्त्री पोखरेलले क्रिकेट खेले, भन्छन्– प्राथमिकतामा राखेर काम गर्नेछौँ

नेपालखबर
चैत २४, २०८२ मंगलबार १८:४, कञ्चनपुर

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलाली धनगढीमा निर्माणाधीन फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम र कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षण गरेका छन्। 

फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षणमा पुगेका मन्त्री पोखरेलले सरकारले आयोजनालाई विशेष प्राथमिकतामा राखेर बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘फाप्ला आयोजनाको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याकंक (इआइए) जस्ता प्राविधिक प्रक्रियाहरू सम्पन्न भइसकेका छन्,’ उनले भने, ‘यो आयोजना राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेकाले अब सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयनको पाटोलाई अगाडि बढाउनेछ।’

निरीक्षणका क्रममा उक्त क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण समितिका अध्यक्ष सुवास शाहीले परियोजना निर्माणबारे जानकारी गराएका थिए। 

उनले निर्माण भएपछि समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ परियोजना हुने भन्दै सरकारले प्राथमिकतामा राखेर काम गर्ने विश्वास व्यक्त गरेका छन्।

धनगढी उपमहानगरपालिका–३ मा निर्माण भइरहेको परियोजनाको जग्गा प्राप्ति, डीपीआर, इआइए जस्ता प्राविधिक प्रक्रियाहरू गत असार महिनामा पूरा भई राष्ट्रिय आयोजना बैंकमा समावेश भइसकेको छ। निरीक्षण टोलीमा प्रतिनिधिसभाका सदस्य आनन्दबहादुर चन्द र केपी खनाललगायत सहभागी थिए। 

निरीक्षणपछि मन्त्री पोखरेल र सांसद खनाल लगायतले केही समय क्रिकेट खेलेर रमाइलो पनि गरेका थिए। त्यसपछि महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको मन्त्री पोखरेलले निरीक्षण गरे। 

त्यस अवसरमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुधारका कामहरु गरिरहेको बताए। 

सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर लगानी अभिवृद्धि गरिने उनले बताए। 

सीमित स्रोत साधनका बाबजुत पनि शिक्षा, स्वास्थ्यसँगै सबै क्षेत्रमा क्रमिक सुधारका कार्यक्रमहरु सरकारले ल्याइरहेको उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad