मुस्ताङ र मनाङलाई दसैंले छुँदैन। यार्तुङ मनाएर बेंसी झर्न ठिक्क छन्, यहाँका बासिन्दा। चिसो सिरेटोले गाला र ओंठ फुटाउने यो मौसममा पर्यटकहरू भने रुस्याक बोकेर यो रहस्यमयी माटोको सहरतिर लाग्दैछन्।
दसैंको छेकोमा मुस्ताङ उक्लिनेमध्ये मुस्किलले मार्फासम्म टीकाटाला गरेको देख्न पाउँछन। तर खानु ,खेल्नु र आफन्त भेट्नु मात्रै पनि हैन नि दसैं! आफन्त गुमाएकाहरू, दसैंको टीको छेकिएकाहरूलाई मन भुलाउन रहस्मयी मुस्ताङ र मनाङ उपयुक्त गन्तव्य हो। दसैंको टीका नै थापेर पनि मुस्ताङ उक्लन सकिन्छ।
लोमान्थाङको छोसेर क्षेत्रमा पुगेपछि हिमालभन्दा मान्छे अग्ला हुन्छन्। उत्तरतिर आफू बसेर दक्षिणतिर होचा हिमाल र हिमाली भू–दृश्य हेर्न पाउनु यहाँको विशेषता हो। अझ, गुफाको बास अनि हिमाली दृश्यावलोकनको अवसर पनि। रहर छ भने लोमान्थाङको उपल्लो छोसेरमा रहेको सेल्कर गुफा गेस्टहाउस आकर्षक गन्तव्य बन्न सक्छ।
लोमान्थाङ-१, सेल्कर क्षेत्रम गुफा नै गुफा छन्। ती गुफामा कुनै बेला मान्छे नै बस्थे। प्रख्यात झोङ गुफा क्षेत्रमा रहेका ३८ वर्षीय पेमा ग्युर्मेले बाजेहरूले घाँसपात राख्ने गुफालाई होटल बनाउने विचार गरे। अनि, छोसेरको त्यही गुफामा जन्म्यो, रुम नम्बर ३०० देखि ३०३ सम्म।
‘पहिलाका मान्छे गुफामै जन्मे, गुफामै खाए र गुफामै मरे, अहिले आएर गुफाको अनुभव मात्रै गर्ने हो ’, पेमाले नेपालखबरसँग भने, ‘पर्यटकलाई गुफाको अनुभव दिलाउन मैले यही वर्षबाट गुफा होटल सञ्चालन गरेको हो।’
पर्यटकलाई नयाँ स्वाद चखाउन उनले गेस्ट हाउस मात्रै नहुने रहेछ भन्ने बुझे। ‘यो गुफा मेरो बाउबाजेले घाँस राख्ने ठाउँ हो, मैले यहाँको घाँस फालेर यसलाई होटल नै बनाएँ ’, उनले भने, ‘गुफामा बस्दा कस्तो अनुभव हुँदोरहेछ भनेर पनि नेपाली र विदेशी पर्यटक आउँछन् , नेपाली आउँदा सुरुमा गुफामा सुत्न डर लाग्छ भने तर एक दिनपछि उनीहरुले नै मेरो होटलको प्रचार गरिदिए। अनि त म पनि सुत्न पाऊँ भनेर हुल नै भयो।’
गुफामा ३ वटा कोठामा ८ जना अट्छन्। गुफामा उनले डाइनिङ हल पनि बनाएका छन्। बाउबाजेले चर्चेको ती गुफालाई होटल बनाउन नै ती वर्ष लाग्यो रे। पहिला दुईतले थियो अनि पर्यटकलाई सजिलो बनाउँदा लगभग ४०-५० लाख रुपैयाँ खर्च भएको उनले सुनाए।
गुफा होटलकाम तीनवटा कोठाको फरक फरक मूल्य छ। बढीमा दिनको ५ हजार रुपैयाँ लाग्छ। नेपालीलाई छुट दिइएको छ। सबैभन्दा माथिल्लो ३०३ को अलि महँगो छ। यहाँ सुतेपछि पर्यटकहरू अरू होटलमा जानै मान्दैनन् रे। किन त? ‘यहाँबाट हिमाल र बादल कसरी आउँछ, कसरी जान्छ र बादलले अनेकौं आकृति बनाउँछ। त्यो नै यहाँको विशेषता हो’, उनले थपे, ‘गुफामा हिउँदमा तातो र गर्मीमा चिसो हुन्छ, मूलको पानीजस्तै हो, गुफा। त्यसैले पनि यहाँ बस्न रमाइलो हुन्छ।’
१२ कक्षासम्म पढेका पेमाले होटलमा पहिला बाजेहरूले नै प्रयोग गरेका सामान राखेका छन्। भेंडा व्यापार गर्ने पिताका छोरा पेमाले होटल व्यवसायमा हात हालेपछि पछाडि फर्कनु परेको छैन। उनको परिवारका ६ जनै होटल व्यवसायमा आबद्ध छन्।
प्रतिक्रिया