World Cup 2026


विश्वकपमा जापानलाई ब्राजिलविरुद्ध २० वर्षअघिको हारको बदला लिने अवसर

राति नै जर्मनी र पाराग्वे भिड्दा भोलि बिहान खेल्दै छन् मोरक्को र नेदरल्यान्ड्स
विश्वकपमा जापानलाई ब्राजिलविरुद्ध २० वर्षअघिको हारको बदला लिने अवसर

लक्ष्मी जि.सी
असार १५, २०८३ सोमबार १६:१५, काठमाडौँ

राति १०:४५ बजे पाँचपटकको विश्वविजेता ब्राजिलले एसियाली ‘पावरहाउस’ जापानको सामना गर्दै छ।

विश्वकपमा यी दुई टोलीको यो दोस्रो भेट हो। दोस्रो भेटमा जापानसामु ब्राजिललाई हराएर २० वर्षअघिको बदला लिने अवसर छ।

यसअघि यी दुवै देशले सन् २००६ मा जर्मनीमा भएको विश्वकपको समूह चरणमा खेलेका थिए। यो नै विश्वकपमा उनीहरुको पहिलो भेट थियो। 

डर्टमन्डमा भएको ग्रुप ‘एफ’को त्यो खेलमा जापानले केजी तामादाको ३४औँ मिनेटको गोलमा अग्रता लिएर झस्काइदिएको थियो। तर रोनाल्डोले पहिलो हाफमा गोल गर्दै बराबरीमा ल्याएका थिए। 

दोस्रो हाफमा ब्राजिलले जुनिन्हो र जिल्बर्टोको गोल र रोनाल्डोकै व्यक्तिगत दोस्रो गोलमा जापानलाई ४–१ ले पराजित गरेको थियो।

रोनाल्डोको दोस्रो गोल उनको करिअरकै १४औँ विश्वकप गोल थियो। जुन गर्ड मुलरको विश्वकपको सबैभन्दा बढी गोलको कीर्तिमानसँग बराबरी पनि थियो।

विश्वकपमा दोस्रोपटक आमनेसामने हुँदै गर्दा जापानलाई ब्राजिललाई नकआउट चरणबाटै विदा गर्ने र बदला लिने मौका छ। किन कि २० वर्षअघिको ब्राजिलसँगको हारसँगै जापान विश्वकपको समूह चरणबाटै विदा हुनुपरेको थियो।

त्यसैले आज राति ब्राजिलसँग खेलिरहँदा जापान ब्राजिललाई रोक्ने दाउमा हुनेछ। यता ब्राजिल पनि जापानलाई हराउँदै अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ।

ब्राजिलका भिनिसियस जुनियर उच्च लयमा छन्। उनले समूह चरणका तीन खेलमा ४ गोल गरेका छन्। सर्वाधिक गोलकर्ताको दौडमा रहेका भिनिसियसलाई रोक्न जापानले विशेष रणनीति प्रयोग गर्ने देखिन्छ।

ब्राजिलका लागि राफिन्हाले आजको खेल गुमाउनेछन्। समूह चरणको अन्तिम खेलमा पनि चोटका कारण बेन्चमा रहेका राफिन्हा आजको खेलमा पनि बाहिरै हुनेछन्।

स्कटल्यान्डसँग ३–० को जित निकालेको खेलमा नेयमार ७५औँ मिनेटमा मैदान प्रवेश गरेका थिए। आजको खेलमा सम्भावित ११ को कुरा गर्दा ब्राजिलबाट एलिसन, डानिलो, मार्किन्हो, ग्याब्रियल मागालहेइस, एलेक्स सान्द्रो, ब्रुनो गुइमाराइस, क्यासेमिरो, लुकास पकिता, रायन, म्याथ्युस कुन्हा र भिनिसियस जुनियरले खेल्न सक्नेछन्।

उता, जापानका लागि मुख्य खेलाडी ताकेफुसा कुबो आजको खेलमा बेन्चमा हुनेछन्। सन्तुलित टोलीको रुपमा रहेको जापानको लक्ष्य अन्तिम १६ मा पुग्नु हो। 

जापानले ब्राजिलविरुद्ध जेट. सुजुकी, एस इटो, तानिगुची, तोमियासु, डोन, तानाका, सानो, नाकामुरा, माइदा, कामादा, उइदालाई खेलाउन सक्नेछ।

हालसम्म दुवै देशबीच १४ पटक भेट भएको छ। जसमध्ये ब्राजिलले ११ वटामा जापानविरुद्ध जित निकाल्दा २ पटक बराबरी र एउटा हार व्यहोरेको छ।

फिफा कन्फिडरेसन्स कपको सन् २००१ संस्करण र २००५ संस्करणमा क्रमशः दुवै देशले ०–० र २–२ को बराबरी खेलेका थिए। तर जापानसँगको एउटा हार ब्राजिलसामु ताजै छ।

सन् २०२५ अक्टोबर १४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले ब्राजिलविरुद्ध पहिलो जित निकालेको थियो।

त्यो खेलमा जापानले २–० ले पछि परेको अवस्थाबाट ३–२ को ‘कमब्याक विन’ निकालेको थियो। त्यसैले पनि ब्राजिलले विश्वकपको नकआउट चरणमा जापानलाई कमजोर आँक्नेछैन।

किन कि जापानले पछि परेको अवस्थाबाट फर्किन सक्ने छवि बनाएको छ। 

अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपको अन्तिम–३२ मा ब्राजिल ग्रुप ‘सी’को विजेताका रुपमा र जापान ग्रुप ‘एफ’ दोस्रो स्थानमा रहँदै आइपुगेका हुन्। 

ब्राजिलले आफ्नो समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी, हाइटी र स्कटल्यान्डसँग ३–० को सहज जित निकालेको थियो।

यता जापानले नेदरल्यान्डसँग २–० को अवस्थाबाट २–२ को बराबरीसहित विश्वकपमा खाता खोलेको थियो। त्यसपछि ट्युनिसियाविरुद्ध ४–० को प्रभावशाली जित र अन्तिम खेलमा स्विडेनसँग १–१ को बराबरी हात पार्दै समूह एफको दोस्रो स्थानमा रहन सफल भएको थियो। 

आजको खेलको विजेता अन्तिम–१६ मा पुग्नेछ जसको भेट जुलाई ५ मा न्युयोर्क न्युजर्सी स्टेडियममा आईभरी कोस्ट वा नर्वेसँग हुनेछ।

जर्मनी र पाराग्वे तथा मोरक्को र नेदरल्यान्ड्स पनि खेल्दै 
आजै राति सवा २ बजे जर्मनी र पाराग्वे खेल्नेछन्। जर्मनी समूह ‘ई’को विजेता र पाराग्वे समूह ‘डी’बाट तेस्रो स्थानमा रहँदै नकआउट पुगेको हो। 

भोलि बिहान पौने ७ बजे नेदरल्यान्ड्स र मोरक्को खेल्नेछन्। मोरक्को समूह ‘सी’को उपविजेता र नेदरल्यान्ड्स समूह ‘एफ’को विजेताको रुपमा नकआउट चरणमा पुगेको हो।

नेदरल्यान्ड्सले २ खेलमा जित र एक खेलमा बराबरी गरेको थियो। मोरक्कोले पनि समूह ‘सी’को उपविजेताको रुपमा नकआउट पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad