श्री इकोभिजनरी प्रालिले नेपालमै सस्तो विद्युतीय गाडी भित्र्याएको छ।
कम्पनीले चिनियाँ ब्राण्ड ‘सिटी स्प्रिट’का विद्युतीय ब्राण्ड कम्पनीले नेपाल भित्र्याएको हो।
कम्पनीले २ सिटे र ४ सिटे चारवटा भेरियन्टमा नेपाल भित्र्याएको छ।
लिथियम आयन र एसिड लिड दुवै ब्याट्रीमा उपलब्ध ब्राण्ड कारको गति ८० किमि प्रतिघण्टा छ।
लिथियम आयन ब्याट्रीमा ३ वर्षको वारेन्टी हुने बताइएको छ।
मोटर, कन्ट्रोलरमा २ वर्ष वारेन्टी हुनेछ। ग्रेडिबिलिटी २० प्रतिशत रहेको गाडीमा १५ किलोवाट अधिकतम पावर रहेको छ।
इको भिजनरीले विभिन्न मोडलका कार आयात गरी बिक्री गर्दै आएको छ।
कम्पनीका रविन्द्र श्रेष्ठले सिटी स्प्रिट ब्रान्डका विद्युतीय गाडी बिक्री सुरु गरेको बताए।
‘पहिला नै ल्याउन खोजेका थियौँ, सरकारले विद्युतीय गाडीमा कर बढाएपछि गाडी भित्र्याएनौँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘सरकारले विद्युतीय गाडीमा बढाएको कर घटाएसँगै विद्युतीय गाडी भित्र्याएका हौँ।’
उनले सिटी स्प्रिट गाडी बाइक तथा स्कुटरको विकल्पको रुपमा बजारमा ल्याएको जानकारी दिए।
‘हेलमेट छाडौँ सिटबेल्ट लगाऔँ भन्ने नारासहित बजारमा गाडी ल्याएका छौँ’, उनले भने, ‘सुरुवाती मूल्य १३ लाख ८५ हजार रुपैयाँ रहेको छ। बाफलमा शोरुम पनि रहेको छ। त्यहाँ पार्ट्स र चार्जिङ स्टेसन पनि निर्माण गर्दै छौँ।’
कति पर्छ मूल्य?
२ स्ट्यान्डर्ड कन्फिगरेसन लिड एसिड गाडीको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। लिथियम आयन ब्याट्री भएको स्ट्यान्डर्ड कन्फिगरेसन गाडीको १७ लाख ८५ हजार रुपैयाँ मूल्य तोकिएको छ।
त्यस्तै फुल कन्फिग्रेसन लिड एसिड ब्याट्री भएको ४ सिटयुक्त गाडीको मूल्य १४ लाख ८५ हजार तोकिएको छ। यता फुल कन्फिगरेसन लिथियम आयनको मूल्य १८ लाख ८५ हजार रुपैयाँ तोकिएको छ।
एकपटक चार्ज गर्दा १२० किमि गुड्ने
एकपटकको चार्जमा लिथियम ब्याट्रीयुक्त गाडी १५० किमि र लिड ब्याट्रीयुक्त गाडी १२० किमिसम्म गुड्नसक्ने कम्पनीको दाबी छ।
चारसिटे गाडीको लम्बाइ २५ सय ४५ एमएम, चौडाइ १२ सय ९० एमएम र उचाइ १५ सय ७० एमएम छ।
कम्पनीले हाल १० वटा गाडी नेपाल आयात गरिसकेको छ। सिटी स्प्रिटका थप १२ वटा गाडी बाटोमा रहेका छन्।
४ सिटेमा पावर स्टेरिङ र २ सिटेमा नर्मल स्टेरिङ रहेको कारमा अटो गेयर छ। फुल चार्ज हुन ४ देखि ६ घण्टा लाग्ने गाडीमा रिमोर्ट सेन्ट्रल लक सिस्टम छ।
सिटी स्प्रिटका गाडीले प्रतिकिलोमिटर ५० पैसामा यात्रा गराउन सक्छ।
सिटी स्प्रिटका गाडी नेपाल आउनुअघि नै अमेरिका, युरोप, एसियाको जापान, दुबईलगायतका ५० भन्दा बढी देशमा सञ्चालनमा छन्।
प्रतिक्रिया