काठमाडौं महानगरपालिकाले न्युरोड र दरबारमार्ग क्षेत्रमा सवारीसाधनहरुको पार्किङलाई व्यवस्थित गर्न सञ्चालनमा ल्याएको उच्च प्रविधिसहितको स्मार्ट पार्किङ अस्तव्यस्त हुँदै गएको छ।
प्रचारप्रसार राम्रै गरे पनि उचित व्यवस्थापन मिलाउन नसक्दा असार १ देखि सुरु गरेको स्मार्ट पार्किङ शुल्क उठाउन मात्रै ‘स्मार्ट’ देखिएको छ।
महानगरपालिकाले ‘ह्विल्स ट्रली’ र ‘एड गुरु’लाई पाँच वर्षको लागि दरबारमार्ग, खिचापोखरी, पाको, प्युखा, विशालबजार र धर्मपथमा स्मार्ट पार्किङको जिम्मा दिएको छ।

पार्किङ शुल्कबापत उठेको २० प्रतिशत आफूले पाउने गरी ह्विल्स ट्रली र एड गुरुलाई महानगरले स्थान उपलब्ध गराएको हो।
स्मार्ट पार्किङ निर्माण गर्दा उच्च प्रविधिको प्रयोग गरी सीसीटीभी, सवारी पार्किङको अवस्था स्मार्ट बोर्डमा हेर्न सकिने, सवारीसाधन तोकिएको संख्यामा मात्र पार्किङ गर्न सकिने सम्झौता गरेको थियो।
स्मार्ट पार्किङ सुरु भएको चार महिना बितिसकेको छ। तर क्युआर कोडको माध्यमबाट बिलिङ गर्ने सिस्टमबाहेक अरु व्यवस्था पुरानै अवस्थामा फर्किएको छ।

ह्विल्स ट्रली र एड गुरुले ठाउँ–ठाउँमा राखेको जानकारी दिने डिजिटल बोर्डले काम गर्न छाडेका छन्। एपमार्फत पार्किङ गर्नसक्ने भनिए पनि सञ्चालनमा नै आएको छैन। पार्किङ स्थलमा कार्यरत ह्विल्स ट्रलीका कर्मचारीले अनलाइन सेवा सञ्चालनमा नरहेको स्वीकार गरे।

कम्पनीले ‘केटीएम पार्किङ’ नामको एप नै बनाएको छ। गुगल प्लेस्टोरमा उक्त एप पनि भेटिन्छ तर एपबाट १५ मिनेटअगाडि स्थान बुकिङ गर्न सकिने बताइए पनि कहाँ कति ठाउँ खालि छ भन्ने सेन्सर प्रविधि नजोडेकोले थाहा हुँदैन।
पार्किङका लागि गुगल प्ले स्टाेरमा उपलब्ध हुने एप।
बाइकहरु छिनछिनमा राख्ने र निकाल्ने गरे पनि मोबाइल एपमा डाउनलोड गरी एप हेर्दा जतिबेला पनि खिचापोखरीमा ३९, पाकोमा ५२, शुक्रपथमा २३ स्थान खालि रहेको देखाउने गरेको छ। तर एपमा खालि देखाए पनि बाइक पार्किङ गर्न जाँदा ठाउँ भने पार्किङ ‘फुल’ भएको हुन्छ।
कुन स्थानमा कति पार्किङ गर्ने संख्या तोकिने भनी सम्झौता भए पनि ह्विल्स ट्रली र एड गुरुका कर्मचारीले जति सवारी आए पनि पार्किङ गर्ने गरेका छन्। यसले सेवा ग्रहीलाई बाइक पार्किङ गरेको स्थानबाट निकाल्न गाह्रो हुने गरेको छ।

महानगरपलिकासँगको सम्झौताको बुँदा नं ४ मा पार्किङलाई व्यवस्थित गर्नको लागि पार्किङ एरियामा प्रष्ट देखिने गरी पहेँलो रेखाले तोकिएको स्थानमा मार्किङ गर्नुपर्ने उल्लेख गरेको छ।

सुरुमा कुन ठाउँमा कति पार्किङ गर्ने भनी रेखा कोरे पनि अहिले रेखा कोरेको हो कि हैन छुट्याउन सकिने अवस्था नै छैन। सवारीसाधनको अव्यवस्थित र कोरिने समस्या समाधान गर्न सुरुमा मार्किङ गरिए पनि त्यो सबै मेटिएको छ।

अनुगमन गर्ने प्रहरीलाई सम्झौता नै थाहा छैन !
ह्विल्स ट्रली र एड गुरुले महानगरसँगको सम्झौताअनुसार काम गरे/नगरेको अनुगमन गर्ने काम नगर प्रहरीको हो। तर नगर प्रहरी प्रमुख धनपति सापकोटाले आफूलाई कुनै निर्देशन नआएको नेपालखबरलाई जानकारी दिए।
उनले भने, ‘सम्झौता भएको भन्ने छ । तर नगर प्रहरीलाई सम्झौतामा के–के भएको भन्ने थाहा छैन। हामीले कसरी अनुगमन गर्ने ? हामीलाई सम्झौताको कागजपत्र नआएसम्म हामीले केही गर्न मिल्दैन।’

ह्विल्स ट्रली र एड गुरुले २०७५ माघमा महानगरपालिकासँगको सम्झौतामा प्रत्येक कर्मचारीहरुको साथमा स्मार्ट क्यामेरा व्यवस्था गर्नुपर्ने बुँदा नं. ७ मा उल्लेख छ। अहिले कुनै कर्मचारीले स्मार्ट क्यामेरा प्रयोग गर्दैनन्। केवल बिल काट्ने र बाइक मिलाउने काम मात्रै उनीहरुले गर्ने गरेका छन्।
बाइक पार्किङ गर्ने ठाउँमा कार पार्किङ गर्न नपाइने भए पनि प्युखामा भने कार पनि पार्किङ गरिएको देखिन्छ।

महानगरपालिकाको सम्झौतामा प्युखा, खिचापोखरी, पाको, विशाल बजार, दरबारमार्गमा गरी जम्मा सात सय ८१ वटा सवारी पार्किङ गर्नसक्ने व्यवस्था छ। त्यस्तै दरबारमार्गमा ३३ वटा र धर्मपथमा ५० वटा चारपाङ्ग्रे गरी ८३ वटा पार्किङ गर्नसक्ने सम्झौता छ।

सहरी क्षेत्रका सेवाग्राहीलाई सवारी पार्किङ सुविधा उपलब्ध भई व्यापारिक तथा व्यावसायिक क्रियाकलाप वृद्धि गर्न स्मार्ट पार्किङ सुरु गरे पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा नाम मात्रैको स्मार्ट पार्किङ भइरहेको छ।
स्मार्ट पार्किङकाे दृश्य। तस्बिरहरू : स्नेहा केसी/नेपालखबर
काठमाडौं महानगरपलिकाले सुरुमा एक घण्टा पार्किङ गर्दा दुईपांग्रे सवारीको लागि २५ र चार पांग्रेको लागि ८० रुपैयाँ तोकेको थियो।
एकैछिन पार्किङ गर्दा पनि धेरै शुल्क लिएको भन्दै सेवाग्राहीले आलोचना गरेपछि ३० मिनेट पार्किङको दुईपांग्रेको १५ रुपैयाँ र ४ पांग्रेको ५० रुपैयाँ प्रतिघण्टा उठाउने गरेको छ।
Shares

प्रतिक्रिया