नेपालको चारदिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शुक्रबारका दुई कार्यक्रम रद्द गरेका छन्।
राष्ट्रपति हमिदले चन्द्रागिरी र पाटन दरबार क्षेत्रको भ्रमण रद्द गरेर होटलमै भेटघाटमा व्यस्त भएका हुन्। उच्चसरकारी स्रोतका अनुसार उनीसँगै आएका भ्रमणदलका सदस्य भने चन्द्रागिरी गएका छन्।
मंगलबार नेपाल आइपुगेको राष्ट्रपति हमिद सहितको प्रतिनिधी मण्डल शुक्रबार ४ बजेर ५५ मिनेटमा विमान बंगलादेशको नियमित उडानबाट स्वदेश फर्कदै छन्।
प्रहरी स्रोतका अनुसार उनी बसेको होटल मेरियटबाट ३ बजेर ५० मिनेटमा मुख्य बाटो हुँदै विमानस्थलसम्मको सवारी चलाउने तयारी भइरहेको छ।
प्रहरीले सवारीका बेला ट्राफिक व्यवस्थापनका लागि साढे ३ बजेदेखि होटल मेरियट हुँदै पुतलीसडक, नयाँबानेश्वर, सिनामंगल र विमानस्थलसम्मको मुख्य बाटोको सट्टा बैकल्पिक मार्गहरू प्रयोग गर्न सर्वसाधारणलाई सूचना दिएको छ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिनको ४ बजेर १० मिनेटदेखि उनी चढेको विमान नउडेसम्म अन्य विमान उड्ने छैनन्।
नेपालको चारदिने भ्रमणमा श्रीमती र दुई छोरासहित आएका राष्ट्रपति हमिदले मंगलबार र बुधबार उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए। उनी सहितको प्रतिनिधीमण्डल बिहीबार पोखरा भ्रमणमा गएको थियो। पोखरामा राष्ट्रपति हमिदले फेवातालमा नौकाबिहार र रुपाकोटबाट हिमाल अवलोकन गरेका थिए।
Shares

प्रतिक्रिया