राजनीति


नेपालीसँगै सबै मातृभाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिबद्ध बनौँ: भीष्मराज आङदेम्बे

नेपालीसँगै सबै मातृभाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिबद्ध बनौँ: भीष्मराज आङदेम्बे

नेपालखबर
असार २९, २०८३ सोमबार १३:१०, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालको भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। 

उनले नेपालका सबै भाषा, साहित्य र संस्कृतिको सम्मान, संरक्षण तथा प्रवर्द्धनका लागि प्रभावकारी नीति, पर्याप्त लगानी र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको बताएका छन्।

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा सोमबार जारी शुभकामनामा आङदेम्बेले भानु जयन्ती आदिकवि भानुभक्तको योगदानलाई स्मरण गर्ने दिन मात्र नभई नेपाली भाषासँगै सबै मातृभाषा, ती मातृभाषामा सिर्जना हुने साहित्य, संस्कृति र भाषिक सम्पदाको संरक्षण, संवर्द्धन तथा विकासप्रति साझा प्रतिबद्धता नवीकरण गर्ने अवसर पनि भएको उल्लेख गरे।

‘नेपालका सबै भाषा, साहित्य र संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धनका लागि राज्यले प्रभावकारी नीति, पर्याप्त लगानी र दीर्घकालीन कार्यक्रम अघि बढाउन आवश्यक छ,’ उनले भनेका छन्।

आङ्देम्बेले नेपालको भाषिक विविधता नै मुलुकको सांस्कृतिक पहिचान र सभ्यताको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणमा राज्यले दीर्घकालीन सोचका साथ काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। भाषिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउनुका साथै पुस्तान्तरण हुँदै आएको मौलिक पहिचानलाई जोगाउन मद्दत पुग्ने उनको भनाइ छ।

आङदेम्बेले भाषा र संस्कृतिको संरक्षण राज्यको मात्रै जिम्मेवारी नभएको पनि उल्लेख गरेका छन्। सम्बन्धित मातृभाषी समुदाय स्वयं पनि आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना, अध्ययन, अनुसन्धान तथा पुस्तान्तरणमा सक्रिय हुनुपर्नेमा उनले जोड दिएका छन्।

‘आफ्ना भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने दायित्वसम्बन्धित मातृभाषी समुदायले पनि उत्तिकै जिम्मेवारी, समर्पण र सक्रियताका साथ निर्वाह गर्नुपर्छ,’ आङ्देम्बेको भनाइ छ।

आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको वाल्मिकी रामायणलाई सरल, शिष्ट र रोचक नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा-साहित्यको सुदृढ आधार निर्माण गरेको स्मरण गरेका छन्। घाँसीबाट प्रेरणा लिएर समाजका लागि केही गरेर जाने संकल्प गरेका भानुभक्तले नेपाली भाषालाई जनजनको साझा अभिव्यक्तिको माध्यम बनाउँदै राष्ट्रिय एकता र सामाजिक चेतनाको विकासमा ऐतिहासिक योगदान पुर्‍याएको आङदेम्बेले बताए।

उनले आदिकवि भानुभक्तको आदर्श, सिर्जनशीलता र समाजसेवाको भावनाबाट प्रेरणा लिएर भाषिक विविधताको सम्मान, साहित्यिक समृद्धि, सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सबै पक्षले साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad