अटो


शिक्षणदेखि जगदम्बा मोटर्सको उपाध्यक्षसम्मः यस्तो छ दिपक अग्रवालको व्यावसायिक यात्रा

शिक्षणदेखि जगदम्बा मोटर्सको उपाध्यक्षसम्मः यस्तो छ दिपक अग्रवालको व्यावसायिक यात्रा

नेपालखबर
मंसिर २३, २०७६ सोमबार १०:२१,

दिपक अग्रवाल वीरगञ्जमा जन्मे हुर्केका व्यक्ति हुन्। चार्टर्ड एकाउन्टेन्ट पढ्न कलकत्ता गएका उनले कोर्ष पूरा गर्न पाएनन्।

त्यसयता विगत १५ वर्षदेखि नै उनले विभिन्न काम गर्दै आएका छन्। उनले पहिलो जागिरका रुपमा आफैँले पढेको विद्यालयलमा शिक्षक पेसा अंगाले।

त्यसको केही समयपछि आफ्नै केही गर्नुपर्छ भन्ने सोचले कम्प्युटर इन्स्टिच्युट खोले। त्यो बेला कम्प्युटर पढ्ने र सिक्ने कुरालाई मानिसहरुले अलिक बढी नै जोड दिन्थे।

त्यसमा पनि धेरै टिक्न सकेनन् र फेरि कम्प्युटर अपरेटरको जागिर सुरु गरे। वीरगञ्जको एक उद्योगमा सुरु गरेको कम्प्युटर अपरेटर शानको पेशा थियो।

deepak agrawal 2जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल । तस्बिरः स्नेहा केसी

धेरैलाई कम्प्युटरसम्बन्धी ज्ञान नहुँदा कम्पुटर अपरेटरलाई सबैले राम्रै मान्थे।

करिब १२ वर्ष वीरगञ्जका विभिन्न उद्योगमा काम गरे। उनी २५ वर्षकै उमेरमा वीरगञ्जको प्लास्टिक बोरा उद्योगमा प्रबन्धनिर्देशक भएका थिए। उनी प्रबन्धनिर्देशक त भए तर द्वन्द्वकालको समयमा उद्योगमा काम गर्न गाह्रो थियो। ‘वीरगञ्ज, पथलैया करिडोरमा माओवादीको दबदबा थियो।

उद्योगमा श्रमिकहरुको युनियन बाजी त छँदै थियो, चन्दा आतंक र भारतीय गुण्डाहरुको पनि दबदबा थियो’, त्यो बेलाको समयबारे अग्रवाल भन्छन्, ‘त्यो बेला भारतीय गुण्डाले उद्योगी तथा व्यापारीलाई अपहरण गर्ने र फिरौती माग्ने गर्थे। त्यसकारण सन् २००७ पछि काठमाडौंमा आएँ।’

deepak agrawal 4

द्वन्द्वकाल सकिँदै गर्दा नयाँ अवसर खोज्दै उनी काठमाडौं आए। सुरुमा अडिट फर्ममा काम गर्न थाले। उनले त्यही सिलसिलामा नर्भिक हस्पिटल र युनाइटेड फाइनान्स अडिटिङको काम गरे।

युनाइटेड फाइनान्स अडिट गर्ने क्रममा त्यहाँको व्यवस्थापकसँग राम्रो सम्बन्ध भएपछि सन् २००८ मा एसिस्टेन्ट म्यानेजरको रुपमा युनाइटेड फाइनान्समै जागिर गर्न थाले।

उनले त्यहाँ काम सुरु गर्दा युनाइटेड फाइनान्सको पोर्टफोलियो करिब ५२ करोडको थियो। तीन वर्ष काम गर्दा तीन अर्बको पोर्टफोलियो बनाएको बताउँछन् उनी।

तीन वर्ष काम गरेपछि युनाइटेड फाइनान्सको जागिर पनि छाडे। युनाइटेड फाइनान्सका म्यानेजिङ डाइरेक्टर विष्णु अग्रवालले स्कोडाका गाडीको आयात गर्न थालेपछि उनी त्यहाँको बिजनेस हेड भएर काम सुरु गरे।

उनलाई सानैदेखि अटो सेक्टरमा चासो भए पनि स्कोडा नै उनको पहिलो अनुभव हो।

deepak agrawal 5

उनले काम सुरु गर्दा स्कोडाका गाडी नेपालमा भर्खर मात्र आएको थियो। त्यो बेला नेपालमा जापानी उत्पादनको विश्वसनीयता धेरै थियो। युरोपियन ब्राण्ड नेपाली बजारमा टिकाउन गाह्रो थियो। विभिन्न मार्केटिङ रणनीति प्रयोग गर्दै नेपालमा स्कोडा ब्राण्ड स्थापित बनाउन सकेको उनी बताउँछन्। सन् २०१४ सम्म उनले स्कोडामा काम गरे।

स्कोडा कम्पनी छाडेर आफैँ चीन र दुवईबाट इम्पोर्ट–एक्स्पोर्टको काम गर्नथाले। स्कोडा छोडेको डेढ वर्षपछि जगदम्बा मोटर्समा आबद्ध भए। हाल उनी जगदम्बा मोटर्सका उपाध्यक्ष हुन्।

उनले जगदम्बा सुरु गर्दा जगदम्बाले महिन्द्रा गाडीको काम गरिरहेको थियो। तर महिन्द्रामा धेरै काम गर्न पाएनन्। उनी आबद्ध भएको छोटो समयमा नै जगदम्बा मोटर्स टीभीएस दुईपांग्रेको आधिकारिक बिक्रेता बन्यो।

अहिले करिब १८ प्रतिशत हिस्सा टीभीएसले ओगटेको उनको दाबी छ। टीभीएसको टिम र प्रोडक्टले हरेक वर्ष मार्केट ग्रोथ गर्न सहयोग पुर्याएको उनी बताउँछन्।

deepak agrawal 3

टीभीएस मोटर्सले ग्राहकको आत्मसन्तुष्टिलाई ध्यान दिने गरेको उनको दाबी छ। सर्भिसदेखि स्पेयरपार्टस्मा पनि कम्पनीको उपयुक्त मूल्य रहेको उनले बताए।

त्यसो त पछिल्ले समय टीभीएस मोटर्सले नेपालमै एसेम्बलिङ प्लान्ट निर्माण गर्ने योजना अघि सारेको छ। अग्रवालले एक महिनाभित्र सिमराबाटै उत्पादन गर्ने लक्ष्य रहेको अग्रवाल बताउँछन्।

पछिल्लो समय अटो व्यवसायी बनेका अग्रवाल दुई वर्षदेखि नाडामा समेत आबद्ध छन्। नाडाले मुख्यतः अटो शो गर्ने र यस क्षेत्रका व्यवसायीका समस्याबारे सरकारसँग समाधानको पहल गर्ने गरेको छ। यसबाहेक प्रदेश–प्रदेशमा गएर व्यवसायीसँग छलफल गर्ने गरेको उनी बताउँछन्।

हाल उनी नाडा अटो एसोसिएसनका कार्यकारी सदस्य हुन्। आगामी चुनावका लागि आफ्नो नाडाको अनुभव अझै कम भएको उनको भनाइ छ। सोही कारण उनले आगामी निर्वाचनमा कार्यकारी सदस्यभन्दा माथिको पदमा नजाने योजना बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad