अटो


‘बजाजले ५० प्रतिशत रकम नहुने ग्राहकलाई २० प्रतिशत डाउनपेमेन्टमै बाइक किन्नसक्ने स्किम ल्याएको छ’

‘बजाजले ५० प्रतिशत रकम नहुने ग्राहकलाई २० प्रतिशत डाउनपेमेन्टमै बाइक किन्नसक्ने स्किम ल्याएको छ’

नेपालखबर
साउन १, २०७७ बिहिबार ८:५३,

लकडाउन खुकुलो भएको एक महिनासम्म अटो बजारमा अझै अन्योल कायम रहेको व्यवसायीले बताएका छन्। असार १ देखि खुलेको अटो बजारमा चासो राख्ने ग्राहक बढी भए पनि खरिद गर्न अझै तयार नभएको व्यवसायीहरुको भनाइ छ।

अटो व्यवसायीले सार्वजनिक यातायात नचलेको र सार्वजनिक यातायातमा सुरक्षित महशुस नगरेको अवस्थामा विशेषगरी दुईपांग्रे सवारीको बजार बढ्ने धेरै व्यवसायीले आँकलन गरेका थिए।

बजाजको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी (एचएच)का असिस्टेन्ट जनरल मेनेजर (सहायक महाप्रबन्धक) पुनम सिंह सोचेअनुसार बजार अघि नबढेको बताउँछिन्। उनका अनुसार लकडाउनपछि पूरै निराश हुने अवस्था नभए पनि व्यवसायीको आँकलनअनुसार अटो बजार अघि बढ्नसकेको छैन।

‘मार्केट अझै पनि सुस्त नै छ। कोभिड १९ पछि अटो बजार ‘बुम’ हुने आँकलन गरिएको थियो तर त्यो भएको छैन’, सिंहले नेपालखबरसँग भनिन्, ‘अझै कोरोनाको अवस्था कस्तो हुने हो भन्ने एकीन छैन। धेरै मानिसहरु अझै दशैँसम्मको अवस्था हेरौँ भन्नेमै देखिन्छन्।’

punam singh bajaj 2

ग्राहकमा अहिले पैसा खर्च गर्दा पछि कोरोना संक्रमण अझै बढ्दै गयो भने के गर्ने भन्ने अन्यौल अवस्था रहेको उनको बुझाइ छ।

‘अब कोभिड नियन्त्रण अवस्थामा आयो भनेर योजना बनाउने अवस्था निर्माण भइसकेको छैन। त्यसले गर्दा अटो बजारमा अन्योल कायमै रहेको छ’, उनले भनिन्।

अटो बजार सामान्य अवस्थामा नआए पनि प्रायः कम्पनीले स्किम ल्याउँदा चलायमान बनाउन सहयोग पुगेको बताउँछिन् सिंह। यसले मानिसमा चासो बढेको उनको ठम्याइ छ।

‘प्राय दुईपांग्रे सवारीले नयाँ वर्षमा पनि स्किम ल्याउने गर्थे। त्यसको लागि ग्राहक नयाँ वर्ष कुरेर बस्ने पनि थिए’, उनले भनिन्, ‘त्यो बेलाको ग्राहक अहिले आउनुभएको छ।’

यस्ता छन् बजाज बाइकका स्किम
बजाजले पनि लकडाउनपछि मानिसलाई आर्थिक चाप परेको अवस्था, सार्वजनिक यातायात नचलेको तथा सुरक्षित अनुभूति गर्न नसकेको अवस्थामा स्किम ल्याएको बताएको छ।

बजाजले ग्राहकको लागि स्किममा पनि अप्सनसहित ल्याएको छ। नगदमा बजारका बाइक खरिद गर्नेलाई १२ हजार नगद छुट दिएको छ। नगद नहुने ग्राहकको लागि ५० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा बाइक खरिद गर्न सक्नेछन्।

त्यसैगरी ५० प्रतिशत पनि रकम नभएका ग्राहकको लागि २० प्रतिशत डाउनपेमेन्टमा समेत बाइक खरिद गर्न सक्छन्। त्यसको लागि डाउनपेमेन्टको ब्याज तिर्नुपर्ने हुन्छ।

बजाजले त्यसको अलावा कोभिड १९ को फ्रन्टलाइनमा काम गरिरहेकालाई विशेष नगद छुटको व्यवस्था गरेको छ।

Bajaj NS 200 Abs

बजाजले यो स्किम अझै कम्तीमा पनि १० दिनसम्म रहने बताएको छ। बजार कस्तो अवस्थामा अघि बढ्छ त्योअनुसार स्किम पनि विस्तार हुने सिंहको भनाइ छ।

उनले बजाजले स्किम ल्याएर मात्रै बाइक बिक्री हुनेमा भने विश्वास नगर्ने उनले बताइन्।

‘बजाजका बाइक किन्ने मानिस स्किम हेरेर मात्रै होइन, ब्राण्ड नै मन पराएर आउनुहुन्छ। ग्राहकले पहिले नै सोचेर बसेको हुन्छ वा त्यो सवारीको बारेमा बुझेको हुन्छ। स्किम आउँदा ग्राहको लागि बढी सुविधा हुने मात्रै हो’, उनले भनिन्।

त्यसो त स्किम हेरेर सवारी किन्नु उपयुक्त नभएको सिंहको सुझाव छ। उनले भनिन्, ‘अहिले आर्थिक अभाव भइरहेको अवस्थामा स्किम सहयोगी हुनसक्छ। तर स्किम मात्रै हेरेर हुँदैन ब्राण्ड, आफ्टर सेल्स सर्भिस, नेटवर्क लगायतका कुराहरु हेर्नुपर्छ।’

बजाजका ग्राहकको लागि अनलाइन सुविधा
बजाजले ग्राहकलाई शोरुममै पुग्नुपर्ने अवस्था अन्त्य गरेको छ। बजाजले छुट्टै अनलाइन पोर्टलको विकास गरेको छ। त्यसमार्फत बुकिङ गर्दा नजिकैको शोरुमले सम्पर्क गरी अनलाइनमार्फत डेलिभरी व्यवस्था समेत गरेको छ।

Pulsar 125 Neon Blue

‘शोरुममै आउने ग्राहकको लागि पनि शोरुम सुरक्षित तरिकाले नै सञ्चालन गरिरहेका छौँ। सेनिटाइज गर्ने, मास्क लगाउने, पञ्जा लगाउने लगायत सुरक्षा विधि अपनाई व्यवसाय सञ्चालन भइरहेको छ’, उनले भनिन्।

लामो समय बाइक थन्क्याएर राखेपछि बाहिर निकाल्दा सर्भिस गर्न आउने ग्राहक पनि छन्। त्यसको लागि बजाजले भीडभाड नहुने गरी व्यवस्था मिलाएको उनको भनाइ छ। धेरैले पहिल्यै बुकिङ गरेर आउने हुँदा धेरै समस्या नरहेको सिंह बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad