अटो


एक दशकअघि नै उपभोक्ताले ‘बहिष्कार’ गरेको मलेसियाली ब्राण्ड ‘प्रोटोन’ फेरि कसरी नेपाल आयो?

एक दशकअघि नै उपभोक्ताले ‘बहिष्कार’ गरेको मलेसियाली ब्राण्ड ‘प्रोटोन’ फेरि कसरी नेपाल आयो?

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ६:२,

उपभोक्ताले नरुचाएपछि नेपालमा एक दशकअघि नै फेल भैसकेको मलेसियाली ब्राण्डको प्रोटोन गाडी पुनः भित्र्याइएको छ।

अरु गाडीभन्दा बढी खर्च आउने र पार्टपुर्जा नपाउने समस्याका कारण नेपाली उपभोक्ता र व्यवसायीले नरुचाएको मलेसियाली प्रोटोन ब्राण्डका गाडी अहिले शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले भित्र्याएको हो।

११ वर्षअघि कन्स्ट्यान्ट ग्रुपले नेपालमा प्रोटोन ब्रान्डका गाडीको कारोबार सुरु गरेको थियो। तर बारम्बार समस्या आइरहने, समयमै पार्टपुर्जा उपलब्ध नहुने र खर्च पनि बढी देखिन थालेपछि उपभोक्ताले यो गाडी त्यसबेला रुचाएनन्।

उपभोक्ताले नरुचाएपछि प्रोटोन नेपालमा एक दशकअघि नै फेल भैसकेको ब्राण्ड हो, जसलाई अहिले फेरि जगदम्बा मोटर्स कम्पनीले नेपाल भित्र्याएर बिक्री गर्ने तयारी गरेको छ। काठमाडौंको गैह्रीधारामा शोरुम स्थापना गरी बिक्री गर्न लागिएको उक्त गाडीको अहिले पनि पार्टपुर्जाको उपलब्धता सुनिश्चित गरिएको छैन।

२०६६ सालमा मसेलियाली कम्पनीसँग एजेन्सी सम्झौता गरी कन्स्ट्यान्ट ग्रुपले प्रोटोनका गाडी बिक्री सुरु गरेको थियो। कन्स्ट्यान्ट ग्रुपका लगानीकर्ताहरु थिए– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, व्यवसायीद्वय लोकमान्य गोल्छा र दीपककाजी तुलाधर।

कन्स्ट्यान्ट ग्रुपका एक व्यवसायीका अनुसार प्रोटोनका पेर्सोना र स्याभ्भी मोडलका दुई गाडी नेपालमा बिक्रीको लागि राखिएको थियो। केही गाडी त्यतिखेर बिक्री भएको थियो।

यो ब्राण्ड आफैँमा केही महंगो छ। साथै यसको विश्वव्यापी रुपमा सबैभन्दा ठूलो समस्या नै पार्टपुर्जा सहज उपलब्ध नहुनु हो। त्यो समस्या अहिले पनि उस्तै छ।

‘त्यतिखेर गाडी किनेर चलाउने क्रममा कुनै समस्या आउँदा एक/दुई महिनासम्म गाडी ग्यारेजमै थन्क्याउनु पर्ने अवस्था थियो’, कन्स्ट्यान्ट ग्रुपका ती व्यवसायी भन्छन्, ‘बिक्री भइसकेका गाडी फिर्ता लिन उपभोक्ताहरुले चर्को दबाब दिएका थिए।’

गाडीमा बारम्बार देखिने समस्या र पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध नभएपछि नेपालमा एक दशकअघि प्रोटोन ब्राण्डका गाडीको बिक्री नै बन्द भएको थियो।

२०६६ सालमा प्रोटोन गाडीका बिक्रेता राजेशकाजी श्रेष्ठ पनि उपभोक्ताहरुलाई राम्रो सेवा दिन नसकेको कारण तत्कालीन समयमा बिक्री बन्द गरिएको स्वीकार गर्छन्।

‘हामीले १०/११ वर्षअघि नै नेपालमा प्रोटोन गाडीको बिक्री सुरु गरेको हो। पहिलो कुरा त्यो गाडीको कस्ट (खर्च) नै बढी देखियो। त्यसको पार्टपुर्जादेखि खर्च पनि अरु गाडीको तुलनामा बढी पर्न थाल्यो’, श्रेष्ठले नेपालखबरसँग भने, ‘समयमा नै पार्टपुर्जाहरू उपलब्ध गराउन सकिएन। सर्वसाधारणको रुचि पनि कम भयो। त्यसकारण हामीले त्यो कारोबार छोड्यौँ।’

शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्सले अहिले प्रोटोन ब्राण्डको सेडान सागा गाडी नेपाल भित्र्याइसकेको छ। स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) सिरिज भनिएको पहिलो गाडी एक्स७० र एक्स५० ल्याइएको जगदम्बा मोटर्सका एक कर्मचारीले बताए।

एक्स७० को इन्ट्री लेभल स्ट्याण्डर्ड (टु डब्लुडी) मिड रेन्ज एक्जेक्युटिभ (टु डब्लुडी एण्ड ए डब्लुडी) र प्रिमियम (टु डब्लुडी) लगायत चार भेरियन्ट रहेको मलेसियाली कम्पनीको वेबसाइटमा उल्लेख छ। एक्स७० एडब्लुडी (अटोमेटिक ह्विल ड्राइभ) र प्रिमियम भेरियन्टका गाडीमा १८ इन्चको चक्का रहेको र २२५.६० सिरिजका टायर जडान गरिएको छ। १.८ लिटर टर्बोचाज्र्ड ग्यासोलाइन डाइरेक्ट इन्जेक्सन (टीजीडीआई) इन्जिनयुक्त गाडीमा इको र स्पोर्ट ड्राइभिङ मोड रहेको छ।

गाडीमा एक सय ८१ हर्सपावर र दुई सय ८५ न्युटन मिटरको टर्क रहेको छ भने छ वटा अटोमेटिक गियर स्पिड रहेको उल्लेख छ।

होण्डाको सिटी र सुजुकीको बलेनोकै हाराहारीमा फिचरहरु रहेको र यहीसँग तुलना गर्न सकिने कम्पनीले दाबी गरे पनि खर्च बढी हुने र पार्टपुर्जाको पुरानै समस्यामा उपभोक्ता फस्न सक्ने देखिएको छ।

हाल गैह्रीधारामा मात्रै एउटा शोरुमको व्यवस्था गरिएको यो प्रोटोन गाडीको कुनै पनि पार्टपुर्जा नेपाली बजारमा अहिलेसम्म उपलब्ध छैनन्। यसबारे नेपालस्थित बिक्रेताले पनि ग्राहकलाई स्पष्ट पारेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad