बागमती


ह्वात्तै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

ह्वात्तै घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन ११, २०८० शुक्रबार ६:३४, काठमाडौँ

बिहीबारको वर्षा र बदलीका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियसमा झरेको हो। बिहीबार (हिजो) उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो। 

बिहीबारको तुलनामा शुक्रबार (आज) उपत्यकाको न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटेको हो। जसका कारण आज बिहान कठ्यांग्रिँदाे चिसो महसुस भइरहेको छ। 

‘बिहीबार बदली र वर्षा भयो, साथै आज बिहानैदेखि आकाश खुला पनि भयो’, मौसमविद् नगरकोटीले भनिन्, ‘त्यसले गर्दा आज उपत्यकाको न्यूनतम तापक्रम घटेको हो।’

बिहीबार देशभर मौसम बदली (आकाशमा बादल) तथा धेरै स्थानमा वर्षा र हिमपात भएकाले मुलुकभर नै चिसो बढेको अनुमान छ। ‘तर अन्य स्थानको न्यूनतम तापक्रम अहिले ८:४५ बजे मात्र आउँछ’, मौसमविद् नगरकोटीले भनिन्। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ।

मौसमविद्का अनुसार दिनभर बदली भयो र घाम लाग्न पाएन भने अधिकतम तापक्रम घट्छ भने मौसम सफा भयो भने बढ्छ। बिहीबार काठमाडौँ उपत्यकामा पनि दिनभर घाम लाग्न नपाएका कारण अधिकतम तापक्रम २१.८ डिग्रीमा झरेको छ। तर आजबाट मौसम सफा भई घाम लाग्ने सम्भावना भएकाले अधिकतम तापक्रम बढ्ने अनुमान गरिएको हो।  

‘बिहीबार बेलुका मौसम बदली र वर्षा भएकाले आज उपत्यकामा अहिले बिहानैदेखि त घाम नलाग्न सक्छ’, मौसमविद नगरकोटीले भनिन्, ‘बिहान केही बेर हुस्सु पनि लाग्छ सक्छ, तर दिउँसो काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना छ।’  

तर अपराह्नपछि मौसम बदली (आकाशमा बादल) हुने सम्भावना पनि छ। ‘आजलाई उपत्यकामा पानी पर्ने सम्भावना भने देखिएको छैन’, उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .