ad ad

बागमती


मौसमविद्लाई प्रश्नः आज काठमाडौँमा पानी पर्छ भन्नुभएको थियो, अनुमान मिलेन नि?

मौसमविद्लाई प्रश्नः आज काठमाडौँमा पानी पर्छ भन्नुभएको थियो, अनुमान मिलेन नि?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत १६, २०८० शुक्रबार १९:१३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हरेक दिन देशभरको मौसम कस्तो हुन्छ भनेर प्रक्षेपण गर्छ।

महाशाखाले सामान्य अवस्थामा नियमित रूपमा हरेक दिन बिहान ६ बजे र साँझ ६ बजे मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्छ।

जसमा तीन दिनसम्मको मौसम अनुमान गर्दै पानी तथा हिउँ पर्छ कि पर्दैन, पर्‍यो भने कहाँ, कति मात्रामा पर्छजस्ता कुराको सम्भावना उल्लेख गरिन्छ। 

यसै क्रममा आज महाशाखाका मौसमविद्ले काठमाडौँ उपत्यकामा दिउँसो मौसम बदली हुने र पानीसमेत पर्ने सम्भावना औँल्याएका थिए।

त्यही आधारमा आज घाम त्यति लाग्न नपाउने भएकाले अधिकतम तापक्रम पनि २० देखि २२ डिग्रीसम्म मात्र रहने अनुमान मौसमविद्ले बिहान गरेका थिए। 

तर आज काठमाडौँ उपत्यकामा दिउँसो पानी परेन, बरु एकछिन गर्मी नै महसुस हुनेगरी घाम लाग्यो। जसका कारण मौसमविद्ले अनुमान गरेभन्दा उपत्यकाको अधिकतम तापक्रम निकै बढी भएको महाशाखाकै विवरणले देखाएको छ।

अर्थात् आज उपत्यकाको अधिकतम तापक्रम २७.८ डिग्री सेल्सियस पुगेको छ। जुन महाशाखाका मौसमविद्ले अनुमान गरेभन्दा झन्डै ६ डिग्री सेल्सियस बढी हो। 

आजको मौसम अनुमान नमिलेको हो त? 

नेपालखबरको जिज्ञासामा महाशाखाका मौसमविद् रोजन लामिछानेले आजको अनुमान केही फरक परेको स्वीकार गरे। 

‘आज काठमाडौँमा पानी परेन, मौसमचाहिँ आंशिक बदली भयो, आंशिक बदलीमा पनि घाम त लाग्छ’, उनले भने, ‘अधिकतम तापक्रम हामीले अनुमान गरेभन्दा बढी नै देखियो, आज काठमाडौँका लागि चाहिँ अलि अनुमान नमिलेकै हो भन्नुपर्छ।’

यस्तो किन हुन्छ? 

मौसमविद् लामिछानेले भने, ‘यो प्रिमनसुनका बेला कस्तो हुन्छ भने बादल ट्याक्कै यहीँ बादल बनेर पानी परिहाल्छ भन्ने हुँदैन, कहिले चेन्जेज हुन्छ, सिफ्टिङ हुन्छ। त्यही कारणले गर्दा पनि हो। उच्च पहाडी तथा हिमाली भेगमा बादल बदली भएको, एक दुई स्थानमा पानी परेको अवस्थाचाहिँ थियो, आज त्यति धेरै पानी परेको अवस्था आजलाई छैन। केही समयपछि कुनै कुनै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहन्छ रातिका लागि।’

मौसमको जानकारी दिँदा नै सम्भावना भनिने भएकाले त्यसलाई ठोकुवा ठान्न नहुने तर्क पनि मौसमविद् लामिछानेले गरे।  

‘सबै मिल्छ, ट्याक्कै मिल्छ, एभ्रिडे मिल्छ भन्ने हुँदैन। कहिलेकाहीँ नमिल्न पनि सक्छ। त्यसमा पनि यो प्रिमनसुनका बेला ट्याक्कै मिलाउन अलि गाह्रो हुन्छ’, उनले भने, ‘कहिले पानी नपर्ने भनिएको ठाउँमा पनि बादल बनेर मेघगर्जनसहित पानी पर्ने पनि हुन्छ भने कहिले पानी पर्छ भनेको ठाउँमा बादल हटेर आजको जस्तो मौसम चेन्ज पनि हुनसक्छ, यो समय नै त्यस्तो भएर हो।’

अन्य सिजनमा भन्दा यो प्रिमनसुन सिजनमा मौसम एकैछिनमा फेरबदलको सम्भावना रहने उनको भनाइ छ। 

‘बाहिरबाट बलियै खालको सिस्टम आएको छ भने पानी पर्ने सम्भावना अलि बढी हुन्छ, स्थानीय वायुको मात्र प्रभाव छ भने चाहिँ कहिलेकाहीँ बनेको बादल हट्दै हट्दै जान पनि सक्छ, बन्दाबन्दै हटेर पानी नपर्ने पनि हुन्छ’, मौसमविद् लामिछानेले भने, ‘कहिलेकाहीँ त्यही बादल बन्दैबन्दै मेघगर्जनसहित असिनापानी पर्ने सम्भावना पनि हुन्छ।’

तपाईंहरूले गरेको अनुमान कति मिल्छ भनेर विश्वास गर्ने? 

उनले भने, ‘वर्षौं दिनमा एकचोटि मिलेन भनेर मिल्दै, मिल्दैन भन्ने ठान्न पनि हुँदैन, किनभनेर अरु बेला त मिलेको थियो, किन आज मिलेन भन्नुभयो नि तपाईंले। तर तपाईंहरूको यो फिडब्याक एकदमै काम लाग्ने हुन्छ। मौसम पूर्वानुमान अझ राम्रो गर्नलाई प्रेरित गर्छ। किन मिलेन त? कारण के हो त भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न मद्दत पुग्छ।’ 

तर मौसमविद् लामिछानेले आफ्नो अनुभवमा मौसम पूर्वानुमान नमिलेको कमै रहेको बताए। 

‘ठ्याक्कै यति मिल्छ, यति मिल्दैन भनेर म ठोकुवा गर्न त सक्दिनँ’, उनले भने, ‘मेरो अनुभवमा औसतमा ७० प्रतिशतभन्दा बढी मिल्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .