असोज १० र ११ गते भएको अविरल वर्षापछिको बाढीपहिरोले अवरुद्ध बनेको काठमाडौँबाट हेटौँडाका आउजाउ गर्ने छोटो दूरीको हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक सुचारु भएको छ।
बाढीले सडक बगाएपछि डाइर्भन बनाएर उक्त सडक आइतबार साँझबाट सुचारु गरिएको हो।
अविरल वर्षाका कारण अवरुद्ध रहेको हेटौँडा काठमाडौँ छोटो दूरीको हेटौँडा–फाखेल–काठमाडौँ र हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए। यो सडक सुचारु भएपछि चाडपर्वको बेला यात्रुलाई हेटौँडा–काठमाडौँ आउजाउका लागि सहज बनेको पोखरेलले बताए।
सडक बगाएको केहीदिनपछि मर्मतको काम सुरु गरिएकोमा एक हप्ताभित्रै डाइभर्सन बनाएर सवारी सुचारु गर्न सफल भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारसँग रहेको सिमित स्रोत र साधनको उपयोग गरेर रातदिन खटिएर दसैँ अघि नै हेटौँडा–काठमाडौँ आवतजावत गर्ने छोटो दूरीको सडक सञ्चालनमा ल्याउन सकिएको भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले बताए।
उनका अनुसार हेटौँडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ पुग्ने दुवै सडक आइतबारबाट नै सञ्चालनमा आएका हुन्।
सिस्नेरी तर्फको बाटोको लागि खोलाको बगरबाटै अस्थायी ट्रयाक निर्माण गरेको छ।
३ किलोमिटर दूरीमा रहेको सिस्नेरी बजारसम्म नै खोलाको बगरबाट ट्रयाक बनाइएको हो। सिस्नेरीको टेकर बजार प्रवेश नै नगराई बगरबाटै सवारी साधनहरू सिस्नेरी पुग्नेगरी बाटो बनाइएको निर्देशनालयले जनाएको छ। सिस्नेरीबाट काठमाडौँ तर्फको खण्डमा रहेका ४० वटा पहिरो पन्छाएर निर्देशनालयले सडकमा यातायात सञ्चालन गरेको हो।
यता, दसैँको मुखमा यो सडक भएर आउजाउ गर्नपर्ने यात्रुहरु सडक बगाएपछि कसरी घर जाने भन्ने चिन्तामा थिए। यति मात्रै होइन, यहाँका स्थानीयलाई समेत यो सडक अवरुद्ध हुँदा दसैँ मनाउन सास्ती हुने चिन्ता उत्तिकै थियो।
सडकमै खोला हिडेँपछि यो सडक स्थानीयले हिउँद लागेपछि मात्रै बन्ला भन्ने सोचेका थिए। तर सडक भत्किएको हप्तादिनमै गाडी गुड्न थालेपछि स्थानीयसमेत दंग छन्।
‘हेटौँडा काठमाडौँ भएर गुड्ने गाडीको त के कुरा, हामीले हिँड्डुलसम्म गर्न नसक्नेगरी सडक बगाएको थियो,’ स्थानीय धनविर स्याङ्तानले नेपालखबरसँग भने, ‘खोला कता, सडक कता खोज्नपर्ने भएको थियो। यति छिट्टो बाटो बनेर सुमो चल्ला भन्ने सोचेका पनि थिएनौँ। दसैँको बेला किलमेल गर्न बजार झर्न पाइने भयो। यो नै हाम्रो लागि खुसीको कुरा हो।’
दसैँअघि सडक बन्ला भन्ने सोच्दै नसोचेकोमा सडक बनेकोले स्याङ्तान लगायत अन्य स्थानीयहरु समेत खुसी देखिएका छन्।
त्यतिमात्रै होइन, धेरैदिनसम्म यो सडक अवरुद्ध हुँदा मारमा परेका चालकहरू समेत छोटो दूरीको सडक सञ्चालनमा आउँदा खुसी छन्।
Shares

प्रतिक्रिया