बागमती


एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः महासचिव पोखरेल

एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः महासचिव पोखरेल

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार २०:५८, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको स्वाधीनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएका बेला निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताएका छन्।

बिहीबार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको अगुवाइमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको भन्दै एमालेका पक्षमा मतदान गरेर कीर्तिपुर देशको पक्षमा रहेको सन्देश दिनुपर्ने तर्क गरे।

देशमा आन्दोलन हुँदा, देशका सीमाहरू मिचिँदा देशको स्वाधीनता र स्वाभिमानमाथि हमला हमला हुँदा कीर्तिपुर सधैँ अगाडि आउने गरेको उनको भनाइ थियो। नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको बताउँदै उनले बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा देश बनाउन युवाहरू राजनीतिमा आउन आवश्यक रहेको मत पनि राखे। 

उनले भने, ‘कीर्तिपुर सधैँ देशभक्तिपूर्ण आन्दोलनको केन्द्रका रूपमा रह्यो। जतिबेला देशमा आन्दोलन हुने गर्दछ, देशका सीमाहरू मिचिने गर्दछन्, नेपालको स्वाधीनता र स्वाभिमानमाथि हमला हुने गर्दछ, त्यतिबेला कीर्तिपुर जरुक्क उठ्ने गर्दछ। देश, राष्ट्रियता र स्वाधीनताका पक्षमा उभिने कीर्तिपुरको परम्परा रहेको छ। यो देशको स्वाधीनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा नेकपा एमाले उभिएका बेला जुन प्रकारको हमला भइरहेको छ, त्यो हमलाको जवाफ अब कीर्तिपुरका जनताले दिनुपर्दछ। कीर्तिपुर देशभक्तहरूको कीर्तिपुर हो। देशका पक्षमा कीर्तिपुर उभिन्छ भन्ने कुराको सन्देश यो उपचुनावको माध्यमबाट कीर्तिपुरले दिनुपर्दछ। नेपाली सांस्कृतिक जागरणको नेतृत्व समेत भएको थलो कीर्तिपुर हो। सांस्कृतिक जागरणको अभियानमा एमाले सधैँ साथमा रह्यो।’

नेवारी संस्कृति, नेवारी भाषालाई राष्ट्रियस्तरमा स्थापित गर्नको लागि एमालेले गरेको अगुवाइ कीर्तिपुरको महत्त्वपूर्ण भूमिका र साथ रहेको रहेको उनको भनाइ थियो। कीर्तिपुरमा मेयर पदका एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad